हरेक मान्छेको आफ्नै इच्छा, आकांक्षा अनि अभिलाषाहरु हुन्छन् । अनि फरक हुन्छन् जीवनमा तय गरेका गन्तव्यहरु । कोही महत्वकांक्षी सपनाहरु देख्छन् अनि खन्छन् वास्तवमै फरक पृथक गोरेटो । एक्लै हिँड्दैनन् त्यसमा, सँगै हिडाउँछन् आफूजस्तै युवाहरुलाई । अनि सकुशल ल्यान्डिङ गराउँछन् गन्तव्यमा । सँगै देख्छन् एउटा जिम्मेवार नागरिक, सभ्य समाज अनि समृद्ध राष्ट्रको सपना । वर्तमान समयमा व्यक्तिगत स्वार्थका लागि नभई सिंगो समाज अनि राष्ट्रको भलो कल्पने जमात कमै छ । फरक लक्ष्य, अदम्य साहस अनि उर्जाशिल पाइलाहरु चाल्दै लम्किरहेका एक युवा हुन्, खिम बहादुर क्षेत्री ।
विश्वभर फैलिएको कोरोना भाइरस विस्तारै नेपालमा फैलिन थालेको थियो । भाइरसको फैलावट र संक्रमण दर कम गराउने हेतुले नेपाल सरकारले चैत १० गतेबाट देशभर लकडाउन लागू ग¥यो । ठप्प बन्यो हरेक क्षेत्र । लकडाउन अगावै उनी आफ्नो गृह जिल्ला बागलुङ फर्किसकेका थिए, राजधानीबाट । कोरोना कहर उनको लागि अवसर साबित बन्यो । अझ भनौं उनले यसलाई प्रोडक्टिब बनाउन सफल भए । आफ्नै जिल्लाका कुना कन्दराहरु चहारे । हरेक दिन तय गरिन्थ्यो फरक गन्तव्य । प्रायः गुमनाम ठाउँहरु । ओझेलमा परेका तर छुट्टै महत्व बोकेका ठाउँहरु प्राथमिकतामा पर्थे । प्रायः पैदलमै पुग्थे, उनी अनि उनको टोली । फरक सिकाई अनि बुझाई हुन्थ्यो घुमघामको उदेश्य । हरेक ठाउँको प्राकृतिक, सांस्कृतिक अनि ऐतिहासिक महत्वबारे जानकारी बटुल्थे । त्यसैलाई सम्प्रेषण गरेर सबैलाई जानकारी दिलाउने उनको लक्ष्य । अनि यसैमा उनी निरन्तर लागिपरेका छन् ।
पढाइकै सिलसिलामा उच्च शिक्षाका लागि उनी राजधानी पुगेका थिए । प्लस टु पश्चात काठमाडौं विश्वविद्यालयमा कम्प्युटर साइन्समा ब्याचलर उत्तीर्ण गरे । अहिले भने उनी आफ्नै आइटी कम्पनी ‘आइटी चौतारी नेपाल’ मा आबद्व छन् । नेपालकै नामी ‘घुमन्ते’ नामक टोलीका सक्रिय सदस्यसमेत रहेका उनले आफूमा जागेको घुम्ने भोकको विगत यसरी सम्झन्छन्, ‘के.यु. आफैंमा एउटा डाइभर्स प्लाटफर्म थियो । त्यहाँ पढाइसँगै घुम्ने अनि सिक्ने फरक कल्चर हुन्थ्यो । विस्तारै समय मिलाएर साथीहरुसँग उपत्यका वरपरका गन्तव्यहरु पुग्थ्यौं । घुमेका ठाउँहरुको यात्रा संस्मरण लेख्ने छुट्टै हुटहटी पलाएको थियो त्यस ताका । ‘घुमन्ते’ टिम भर्खरै उदाउँदै थियो । अनि मैले एउटा यात्रा संस्मरण घुमन्ते वेभसाइटमा लेखेको थिएँ । विस्तारै टिमसँग निकटता बढ्दै गयो अनि सँगै घुम्ने भोक मेटाउँदै गएँ ।’
घुमन्ते टोलीसँगको भेट नै उनको लागि अर्को माइलस्टोन साबित भयो । टोलीसँगै नेपालका कुनाकन्दरा चहारिरहे उनले । विशेषगरी हाइलाइटमा नआएका गुमनाम गन्तव्यहरु टिमको टार्गेट डेस्टिनेसन हुन्थ्यो । समयसँगै यस टिमको नेपालमै छुट्टै पहिचान बन्न पुग्यो । ओझेलमा रहेका गन्तव्यहरुको खोज, सही सूचनाको सम्प्रेषण अनि यात्राको लोभलाग्दो फोटोग्राफी विथ डकुमेन्ट्री मुख्य आर्कषक खजना हुन् टिमको । नेपाल पर्यटन बोर्डले आयोजना गरेको भिटिज नेपाल २०२० को थिम भिडियो प्रतियोगितामा उत्कृष्ट भएर एक लाख पुरस्कारसमेत पाएको टोली झनै हौसिएका छन् । अनि निरन्तर उनी पनि टोलीसँगै लागिपरेका छन् ।
टोलीसँगै रहेर नेपालकै कुनाकन्दरा चारिरहँदा उनलाई आफ्नै गृह जिल्ला घुम्ने मनमा तिर्खा जाग्यो तर यसका लागि उचित समय मिलिरहेको थियो । चाडपर्व वा काम विशेषले गृह जिल्ला त आइरहन्थे उनी तर पर्याप्त समयको मेसो कहिल्यै मिलेको थिएन घुम्न । कोरोना महामारी अनि लकडाउनले उनलाई त्यो अवसर जुराइदियो । केही हदसम्म उनले घुम्ने प्यास मेट्न पाए । अनि आफ्नै जिल्ला एक्सप्लोर गरे । ‘पहिले गृह जिल्ला, अनि मात्र देशको चार किल्ला’ भन्ने उनको अभियानले एउटा छुट्टै उचाइ लिइसकेको छ अहिले । ‘हरेक जिल्लाको आ–आफ्नै विशेषताहरु हुन्छन्, फरक महत्व भएका गन्तव्यहरु धेरै हुन्छन् । केवल तिनीहरुलाई एक्सप्लोर गरेर ब्रान्डिङ गराउन जरुरत छ । यसका लागि मैले बागलुङको नेतृत्व गरेजस्तै हरेक जिल्लाबाट एक न एक जनाले नेतृत्व समाल्ने हो भने पनि मात्र सतहत्तर जानको जरुरत न हो,’ उनी हौसिँदै आफ्ना कुरा सुनाउँछन् ।
उनको जस्तै इच्छा, चाहना अनि रहर मिल्ने पच्चिस तीस जनाको जमात छ बागलुङमा । सँगै टिम बनाएर नयाँ–नयाँ गन्तव्यहरु पुग्छन् । भर्खरै टोलीले पत्ता लागेको नयाँ पर्यटकीय गन्तव्य हो, बुद्ध हिल । बागलुङ बजारबाट छोटो समयमै पैदल यात्रामा पुगिने यस डाँडामा बुद्धको आकृति भएको ठूलो ढुंगाको चट्टान देखिन्छ । सँगै त्यहाँबाट देखिने मनोरम दृश्यपान गर्दाको आनन्द वर्णन जति गरे पनि कमी नै हुन्छ । उनकै संयोजकत्वमा बनेको टोलीले यसको खोज अनि प्रचारप्रसार मात्र गरेन, सँगै त्यहाँका स्थानीय निकाय अनि सरोकारवालासँग समन्यन गरेर ठाउँठाउँमा सुचनाका बोर्डहरु अनि डस्टबिनहरुको व्यवस्थासमेत गरिएको छ । अहिले आएर घुम्नेहरुको लागि यो नयाँ गन्तव्य बनेको छ । हरेक दिन तीसदेखि सय जनाको संख्यामा त्यहाँ पर्यटकहरु पुग्दाको खुशी शब्दमा व्यक्त गर्न सक्दैनन् उनी ।
‘हरेक ठाउँको आफ्नै महत्व हुन्छ । त्यसको महत्व बुझेर अरुलाई बुझाउन सकिए मात्र त्यसको सान्दर्भिकता झल्किन्छ,’ उनी थप्छन्, ‘बागलुङ बजार नजिकै रहेको बतासे डाँडा केवल डाँडा न हो । एउटा सामान्य गोठालाको लागि त्यहाँ जति धेरै घाँस पलायो, त्यति नै धेरै उसको खुशी पलाउँछ । नत्र उसको लागि त्यो डाँडा अनि भिर मात्र हो । तर एउटा बुझेको मान्छेको नजरमा फरक देखिन सक्छ अनि त्यो डाँडाको फरक महत्व झल्किन्छ । स्वर्ग साबित हुन सक्छ । अझ भनौं, म जस्ताका लागि । त्यहाँबाट देखिने बागलुङ बजारको मनोरम दृश्य, आँखै अगाडिको लोभलाग्दा हिमश्रृंखलाहरु अनि अबिरल बगिरहेको कालीगण्डकीको धुनमा मोहित हुँदाको सुखानुभूति अन्त कहाँ मिल्छ र ?’ त्यसैले समयमै हरेक ठाउँको महत्वको पहिचान, त्यसको प्रर्वद्वन अनि प्रचारप्रसार हुन नितान्त जरुरत उनी ठान्छन् ।
आइटीमा पोख्त छन् उनी । उनले सिकेका अनि हासिल गरेका आइटी ज्ञानलाई भरपुर प्रयोग गर्दै इन्टरनेटमार्फत विभिन्न ठाउँहरुको बारेमा मुलधारका यथार्थ जानकारीहरु बटुल्छन् । अनि पस्कन्छन् । युवा पर्यटनकर्मी, युवा अभियान्ता एवमं पर्यटन प्रर्वद्धकका उपनामले चिनिने उनी सही सूचना सम्प्रेषण गर्ने जो कोही वास्तवमा अघोषित पत्रकार ठान्छन् । बागलुङ जिल्लाकै हकमा पर्यटन क्षेत्रमा बिगुल फुक्दै हिड्ने उनै युवा हर प्रयास आइटी ज्ञान जनसमुदायमा पु¥याउनमा जोड दिदैँ भन्छन्, ‘अहिलेको युग भनेको इन्टरनेटको जमान हो । वास्तवमै टुरिजम प्रोडक्ट प्रमोसनको लागि त उपयुक्त माध्यम नै हो । कुनै होमस्टे सञ्चालकले अब रजिस्टरमा पाहुनाको दर्ता गर्ने हैन । फेसबुक वा होमस्टेकै वेभसाइट बनाएर त्यही पाहुनाहरुलाई सम्पूर्ण जानकारी दिने, बुकिङको व्यवस्था सँगसँगै पाहुनाहरुको प्रतिक्रिया वा रेस्पोन्स लिने व्यवस्था प्रयोगमा ल्याइनु पर्छ । नयाँ–नयाँ प्रविधिसँग जो मान्छे अप टु डेट हुन सक्दैन, त्यो कदापि अगाडि बढ्न सक्दैन । यो एकै दिनमा आउने परिवर्तन कदापि हैन, तर उनीहरुलाई सशक्तिकरण गर्दै अघि लान सकिए परिवर्तन धेरै टाढा भने अवश्य छ्र्रैन । त्यसैले हरेक होटल, होमस्टे वा जुनसुकै सेवा प्रदायकहरुले समयसँगै परिवर्तनको बाटो अगाल्दै गति लिन सक्नुपर्छ ।’ सँगै उनी यसैसँग सम्बन्धित एप्सहरु र म्यापहरु बनाउनु पर्नेमा जोड दिन्छन् । यसले यात्रा गर्नेहरुलाई सहजता त बनाउँछ नै, सँगै पर्यटनले छलाङ मार्न सक्नेमा उनी विश्वस्त देखिन्छन् । समय समयमा यसै विषयमा केन्द्रित रहेर सेवा प्रदायकहरुसँग अन्तरक्रिया कार्यक्रम एवमं सरसल्लाह सुझाव लिने दिने कार्यक्रमहरु आयोजना गरिन्छ ।
आन्तरिक पर्यटन प्रर्वद्धन नभएसम्म अन्तराष्ट्रिय पर्यटन प्रर्वद्धन गर्न नसकिने उनको बुझाइ छ । कुनैपनि ठाउँको जति ज्ञान स्थानीय मानिसमा हुन्छ, त्यति अरुसँग कदापि हुन सक्दैन । आन्तरिक पर्यटकहरुले त्यहाँको ठाउँको जानकारीहरु फोटो, भिडियो वा ब्लगमार्फत पस्किए मात्र बाहिरी पर्यटकहरुले जानकारी पाउँछन् अनि मात्र त्यहाँसम्म उनीहरुलाई दो¥याउँछन् ।
अहिले यात्रासँगै उनी फरक अभियानमा जोडिएका छन् । लोक भाका अनि संस्कृतिको संरक्षण अभियान । फेसबुकमै उनले यसैसँग सम्बन्धित गु्रप बनाएका छन् । छोटोे समयको अन्तरालमै हजारौंको संख्यामा अहिले यसमा जोडिएका छन् । भिन्न–भिन्न ठाउँ विशेषका लोपोन्मुख लोक भाकाहरु विभिन्न मानिसहरु पस्कन्छन् । कोही कोही पश्चिमी देउडा भाका पस्कन्छन्, त कोही सालैजो भाका । हरेक ठाउँको लोक संगीत अनि भाकाको महत्वबारे चर्चा, विमर्श अनि छलफल गु्रपमा हुन्छ । ‘जब हाम्रो लोक भाका र संस्कृति हराउँछ, तब हाम्रो पहिचान पनि सँगै बिलिन भएर जान्छ । अनि मेट्छ हाम्रो अस्तित्व । कुनै समय दुःख, पीडा, हर्ष अनि बेदना पोख्ने माध्यम थियो लोकगीत । हरेक लोक गीतले आफ्नै छुट्टै महत्व अनि अर्थ बोकेको हुन्छ । हरेक युवाले लोक गीत सुनेर गुन्गुनाउनै पर्छ भन्ने मेरो मनासय पटक्कै हेन । केवल यसको महत्व बुझेर यसलाई संरक्षणमा एकजुट भएर लाग्नुपर्छ,’ उनी भन्छन् । हरेक ठाउँको फरक लोक भाका अनि संस्कृतिको संरक्षणले पक्कै प्रत्यक्ष÷अप्रत्यक्ष त्यस ठाउँको पर्यटनमा पनि टेवा पु¥याउँछ नै । बागलुङकै कालिका मन्दिर, पञ्चकोट वा धौलागिरी हिमालकै गुणगाणले भरिएको लोक गीतले निःसन्देह बाग्लुङकै पहिचान बढाउँछ । बागलुङकै पर्यटनमा केही टेवा पु¥याउँछ । उनी बागलुङको मात्र नभई नेपालकै लोपोन्मुख लोका भाका अनि संस्कृतिको संरक्षणमा लाग्ने संकल्प गरेका छन् ।
कोरोना साम्य भएपछि उनी कर्मथलो राजधानी फर्कने सोचमा छन् । तर उनले चालेका पाइलाहरु कदापि बे्रक लाग्ने छैनन् । तर यसले अझ गति लिनेमा उनी विश्वस्त छन् । डिजिटल अस्त्रहरुको भरपुर प्रयोग मार्फत टुरिजम प्रोडक्टहरुको ब्रान्डिङमा सरोकारवालासँग सहकार्य गर्ने सपना बुन्दै छन् । उपलब्ध सीप, स्रोत र साधनको कम्बिनेसन अनि सरोकारवालाहरुको सकरात्मक सहयोगमा पक्कै केही परिवर्तन आउने नै छ । क्याटलिस्टको भुमिका निभाउन उनी हरदम तत्पर छन् । सजिलो ट्रिप नामक संस्थाको सह–संस्थापन समेत हुन् उनी । जुन संस्थाले घुम्नेहरुको यात्रालाई सहज बनाउन मद्दत गर्दै आएको छ । हरेक नयाँ गन्तव्यलाई ब्रान्डिङ गराउन पहिला राम्रै गृहकार्य गर्न जरुरत रहन्छ । सुचनामुलक फोटो, भिडियो अनि जानकारीहरु पर्याप्त हुन जरुरत उनी ठान्छन् । यसै विषयमा केन्द्रित रहेर बाँकी उच्च शिक्षा हासिल गर्ने सपना उनमा छ ।
घुम्ने परिपाटीले नै अहिले विश्व यो स्थानमा आइपुगेकोमा कुनै शंका छैन । नयाँ कुरा पत्ता लगाउने इच्छा र भोकले नै क्रिस्टोफर कोलम्बसले अमेरिका, जेम्स कुकले न्युजिल्याण्ड अनि (बुद्ध हिल विश्वयात्री तथा गायक राम्जी नेपाली र मानव अधिकारकर्मी तथा पत्रकार दिपक शर्माद्वारा हालसालै मात्र पत्ता लगाईएको हो।) पत्ता लगाएका थिए । वास्तवमै जीवन बुझ्न घुम्नु अपरिहार्य छ । सँगै हरेक घुम्ने मानिसहरु उत्तरदायी अनि स्मार्ट हुनुपर्छ भन्ने उनको जोड छ । अझ भनौं ‘इको फ्रेन्डली सस्टेनेबल ट्राभल’ । अर्थात् वातावरणमैत्री दिगो यात्रा । कुनै पनि गन्तव्य पुग्दा त्यहाँको वातावरण, संस्कृति अनि जनजीवनमा नकरात्मक असर कदापि पु¥याउनु हुँदैन । सकिन्छ बरु केही सकरात्मक सन्देश यात्राले देओस् ।
आज कहाँ घुम्ने योजनामा हुनुहुन्छ ? कहाँ पुगेर आउनुभो ? हरेक दिन कहीकतै घुमिरहने उनलाई कतै कसैले भेट्दा तेर्सिने यिनै प्रश्नहरु हुन् । यसले अझ जिम्मेवारबोध भएको महसुस गर्छन् उनी । उनले देखेको सपनाहरु साकार होऊन् । पक्कै भविष्यमा बागलुङले मात्र नभई सिंगो नेपालले उनीप्रति गर्व गर्नेछ । उनीजस्तै धेरै युवाहरु जन्मिनु छ नेपालमा । अनगिन्ती शुभकामना उनलाई ।





