बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

फेरि पनि सुरक्षित रहनेबारे सोचौं

फेरि पनि सुरक्षित रहनेबारे सोचौं


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०७७, मंगलबार

चाडबाड नजिकिँदो छ । दशैं–तिहारजस्ता चाडबाड नजिकिएसँगै बजारमा भीडभाड र चहलपहल बढेको छ । यद्यपि, कोभिड–१९ को उक्लिँदो ग्राफले बजारको चहलपहल पहिलाजस्तो हुन दिएको छैन । होस् पनि कसरी ? कामविहीन नागरिकहरुलाई चाडबाडले उत्साह हैन, चिन्ता थपेको छ । चाडबाड मनाउने खर्चको जोहो गर्नुपर्ने बाध्यता एकातिर, रोगसँगको डर अर्कोतिर हुँदा यो वर्षको चाड खल्लो हुने अनुमान गर्न थालिएको छ । सरकारले बढ्दो कोरोना संक्रमणसँगै नयाँ लुगा नलगाउन, भीडभाड नगर्न र सकेसम्म जहाँ बसेको छ, त्यहीँ दशैं मनाउन आग्रह गरेको छ । आग्रह एकातिर छ, आस्था र परपम्परा अर्कोतिर । त्यसलै जति आग्रह गरे पनि दशैंमा चहलपहल बढ्ने, चाड मनाउन थातथलो जाने लाम अपेक्षित नै छ । मुख्य कुरा त, त्यो भीड सुरक्षित हुन्छ कि हुँदैन, संक्रमण फैलाउने कारक बन्छ कि बन्दैन भन्नेमा छ । बुझ्नै पर्ने के छ भने, सबैभन्दा नजिकका व्यक्ति संक्रमण फैलाउने कारक बन्नसक्ने देखिएको छ । आफन्त भएकाले केही भएको छैन होला भन्ने विश्वाससँगै संक्रमण फैलियो भने त्यसले निम्त्याउने दुःख डरलाग्दो छ ।
संक्रमणको पारो बढेर जाँदा हाम्रा स्वास्थ्य संस्थाहरुको क्षमता अपुग भएको छ । संघीय राजधानी काठमाडौंमा भेण्टिलेटर र आइसीयूको अभाव देखिन थालेको छ । दिनहुँ मान्छेले ज्यान गुमाएको तथ्य केलाउँदा संक्रमणको त्रासदी विश्वका अन्य देशमा भन्दा नेपालमा बढी देखिएको छ । नेपालीको रोग प्रतिरोधात्मक शक्ति बढी छ, हिमाली हावा, बेसार–पानीले कोरोना निको पार्छ भन्ने भनाईहरु मिथ्या सावित् हुदैछन् । कोरोनासँग संघर्ष गरेर निको भएकाहरुले कोरोना सामान्य रोग नभएको बताइरहेका छन् । यो अवस्थामा गरिने सानो गल्तीको महंगो मूल्य चुकाउनुपर्ने निश्चित छ । यस्तो अवस्थामा चाडबाड नै भनेर हत्ते हालेर, लालाबाला बोकेर, थातथलो जानु आफैमा असुरक्षित बनेको छ ।
अतः नागरिकहरुले यो बेला संयम अपनाउनुपर्ने, आत्मसंयमी बन्नुपर्ने र आफू बच्दै समुदायलाई कोरोनाबाट बचाउनुपर्ने दायित्व थपिएको छ । भाइरसले मान्छे चिन्दैन । यसबाट बँच्ने उपाय सामाजिक दूरी कायम गर्नु नै हो भन्ने प्रमाणित भएको सन्दर्भमा नागरिक स्वयं सचेत बन्नैपर्ने भएको छ । बाँचे चाडबाड फेरि आउँछ, मनाउन पनि पाइन्छ । सूचना प्रविधिले नजिक्याएको विश्वमा आशिर्वाद जसरी पनि थाप्न सकिन्छ । संकटको बेला सबै परम्परा र संस्कारहरु मान्नैपर्छ भन्ने हुँदैन । शास्त्रले त्यो छुट दिएको पनि छ । शास्त्रले दिएको त्यही छुटलाई यो पटक पच्छ्याऔं, सकेसम्म सुरक्षित रहौं । आफ्नो कारणले थातथलोमा भएका परिवारजन र आफन्त प्रताडीत हुने त हैनन् भन्ने पक्षमाथि विशेष ध्यान दिऔं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->