केही दिनदेखि बजार क्षेत्रमा अत्याधिक भीडभाड बढेको छ । नेपालीको महान चाड दशै नजिक आएकोले बजारमा किनमेल गर्नेको भीड लाग्नु स्वभाविक पनि हो । लामो समय सम्म बन्द भएको बजार खुल्नु, लकडाउनको कारण ६ महिनादेखि गाउँमा बसेका मानिसले दशैकालागि सामान खरिद गर्नु र लामो समय देखि रोकिएका प्रशासनिक काम फत्ते गर्नुपर्ने कारणले मानिसको भीड लागेको हो ।
नेपालकै कोरोनाको पाँचौ र छैठौ संक्रमित बागलुङमा देखिएपछि चैत ११ गतेदेखिनै बागलुङ सबैभन्दा बढी प्रभावित थियो । लकडाउन मात्र नभइ जोखिमको डरले धेरै मानिस गाउँ हानिएका थिए । लामो समय देखि गाउँपसेकाहरुलाई धेरै समस्याले सताएको थियो । पछिल्लो समय बिद्यालयको पढाइ समेत सुरु भएको छ । दैनिक उपभोग्य बस्तुको खरिद बिक्री गर्नुपर्ने बाध्यताले पनि मानिस बजार झरेका छन् । तर त्यो भन्दाबढी लकडाउन खुकुलो र लामो दुरीको सवारी साधन चल्न थालेपछि भने राजधानी देखि तराईका जिल्लाबाट आउने पनि ह्वात्तै बढेका हुन् । उनीहरुपनि बजारका धेरै छन् । गाउँ गएकाहरुपनि आउजाउ गरिरहेका छन् । भारत वा अन्य देशबाट आएकाहरु भने क्वारेन्टाइन बसेर मात्रै गाउँ गएका छन् ।
सबैखाले बन्धन खुकुलो भएपछि चैत ११ अघिको अबस्थामा देश फर्केझै बनाइएको छ । दुइ जना संक्रमित अस्पतालको आइसोलेसनमा बस्दाको जोखिमको तुलनामा धेरै बढेको छ । अहिले जिल्लामा ५ सय २५ जना संक्रमित पुगेका छन् । अझै धमाधम संक्रमित समुदाय स्तरमा देखिन थालेका छन् । तर यो बेला सुरक्षित उपाया गराउनुको साटो सबै क्षेत्र खुलमखुला गरिएपछि बजार क्षेत्रमा भीड बढेको हो । सवारी साधनले पुरानै समयझै मानिस बोकेका छन् । तर उनीहरुले ५० प्रतिशत देखि शतप्रतिशत बढी भाडा असुलपनि गरिरहेका छन् । सुरक्षित उपायाहरु अपनाएका छैनन् । त्यसैले यो बेला अत्याधिक जोखिम बढेको छ । जिल्लाका सबै आइसोलेसनहरु भरिएको अबस्थामा संक्रमण भयो भने बस्ने स्थानपनि छैन । घरमै सुरक्षित बस्नुपर्ने बेला आइसकेको छ । बागलुङ नगरपालिकाले त अत्यावस्यक सेवा बाहेक अरु बन्द गर्ने निर्णयनै गरिसकेको छ । तरपनि यो भीड बढ्नुमा प्रशासनिक कमजोरी भने छ । जिल्ला भित्रको वातावरण नियन्त्रण गर्न केही अत्यावस्यक सेवा बाहेक अरुलाई रोक्न सक्नुपथ्र्यो । तर खुलमखुला भैरहेको छ । भीड हुने स्थानहरुपनि खुलेका छन् । सार्वजनिक यातायातका साधनको निगरानी छैन । सुरक्षाको उपायाबारे चासो छैन । प्रहरी र सेनामा देखिएको जोखिममा सर्बसाधारण घुलमिल हुने खतरा बढी छ । सेनाको हकमा व्यारेक भित्र भएपनि प्रहरीमा को संक्रमित को सुरक्षित भन्ने निश्चित छैन । नियमित काम गरिरहेको प्रहरीले सुरक्षाका उपायाहरु गरेको देखिंदैन ।
नेपालीको ठूलो चाडमा सबैभन्दा धेरै मानिसको आउजाउ हुन्छ । यो बेला जोखिमको दर उच्च छ । तर सुरक्षा सर्तकता छैन । त्यसैले अब तत्काल प्रशासनको ध्यान सुरक्षामा जानुपर्छ । निर्देशन जारी गरेर टिका थाप्ने काममा जथाभावी नहिड्न लगाउनु पर्नेछ । आफ्नै घरमा सुरक्षित बस्ने र लक्षण देखिएमा तत्काल सुरक्षित बसेर स्वास्थ्य संस्थामा जाने वातावरण बनाउनुपर्छ । आम नेपालीले पनि जोखिमको समयमा सर्तकताकासाथ चाडपर्व मान्ने र सुरक्षित रहने काम नै गर्न आबस्यक छ ।

