
बागलुङ, ३० असोज–संघीय सरकारले उपलव्ध गराउने समपुरक अनुदान बागलुङका स्थानीय तहले तिर्थस्थल जाने सडकहरुमा केन्द्रित गरेका छन् । बागलुङ र जैमिनी नगरपालिकाले समपुरक अनुदानबापत उपलव्ध हुने बजेट धार्मिक मठमन्दिरमा पुग्ने सडकमा खर्च गर्न लागेका हुन् ।
सडकको स्तारोन्नती र कालोपत्रे गर्ने काम ठेक्का प्रक्रियाबाट अघि बढेका छन् । बागलुङ बजारबाट भैरवस्थान मन्दिरमा जाने सडकमा झण्डै ८ करोड ७२ रुपैयाँ खर्च हुँदैछ । गतवर्ष समपुरक अनुदानकै बजेटले स्तरोन्नती भएको सडक चालु वर्षको अन्त्यसम्ममा ३.१ किलोमिटर कालोपत्रे गर्ने काम सुरु भएको नगरपालिकाले जनाएको छ ।
जैमिनीको कुश्मीशेरा बजारबाट जैमिनीधाम जाने सडकको ग्राभेलका लागि समपुरक अनुदाननै लगानी गरिने छ । झण्डै दुई किलोमिटर सडक ग्राभेलका लागि ६८ लाख रुपैयाँ नगरले खर्चिने छ । गत वर्ष पनि तारजाली र सडक फराकिलो बनाउन समपुरक अनुदान उपयोग गरेर काम भएको थियो ।
दुवै योजनामा लागि संघीय सरकारको ६०÷४० सहभागितात्मक कार्यक्रम लागु हुनेछ । बागलुङ नगरपालिकाले भने समपुरक अनुदानमा गर्नुपर्ने साझेदारीलाई ५०/५० प्रतिशत बनाएर यो सडक कालोपत्रे गर्न लागेको हो ।
जिल्लाको बरेङ गाउँपालिकाले भने अन्तरवडा जोड्ने सडक सञ्जालमा प्रदेश सरकारको समपुरक अनुदान खर्च गर्दैछ । बाटाकाचौर–सल्यान–सुखौरा सडक र बरेङ–पेरिबाङ सडकमा उक्त अनुदान खर्च हुने गाउँपालिकाले जनाएको छ । दुबै सडकको स्तरोन्नतीका लागि प्रदेश सरकार र गाउँपालिकाको गरी २ करोड रुपैयाँ खर्च हुनेछ ।
बरेङले प्रदेश सरकारकै सशर्त अनुदान धार्मिकस्थल जाने सडकमा खर्च गर्नेछ । नयाँ बजारहुँदै साग्दी सत्यावती मन्दिर जाने सडकको स्तरोन्नतीको लागि ४० लाख रुपैयाँ खर्च हुने गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।
धार्मिकस्थललाई पर्यटनसँग जोड्ने भन्दै स्थानीय तहले सडकमा लगानी बढाएका हुन् । ‘धार्मिक पर्यटकका लागि सहज हुने र हाम्रा गाउँहरु जोडिने गरी सडक निर्माण हुँदैछन्’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने ‘समुदायको माग अनुसारकै संरचना नजिकको सरकारले बनाउनुपर्ने हुन्छ ।’
जैमिनी नगरपालिकाले पनि जैमिनीधाम जाने सडकको स्तरोन्नती गर्दा नगरका अधिकांश वडालाई सहज हुने दाबी गरेको छ । ‘जैमिनीधाममा धेरैका घाट छन्, मलामी जानेदेखि कालीगण्डकी करिडोरलाई पालिका मुकामसँग जोड्ने सडक यहि हो’ नगरप्रमुख इन्द्रराज पौडेलले भने ‘पर्यटन, व्यापार र उद्यम सबैका लागि सडक उपयोगी हुन्छ ।’
मठमन्दिर, चैत्य र गुम्बाहरुको निर्माणमा यहाँका स्थानीय सरकारले बर्षेनी ठुलो रकम खर्च गर्ने गरेका छन् । ढोरपाटन नगरपालिकाले ढोरबराह जोड्ने सडकमा लगानी गरेको छ । गलकोट नगरपालिकाले सिद्धभैरव पुग्ने सडकमा लगानी गरेको छ ।





