बागलुङ, १ कार्तिक– यो पटकको नवरात्रीमा भक्तजनहरुले मन्दिर पुगेर देवीको स्तुती गर्न नपाउने भएका छन् । कोरोना संक्रमण बढ्दो जोखिमका कारण प्रशासनले दर्शनार्थीहरुलाई मन्दिरहरुमा जान रोक लगाएपछि यो अवस्था आएको हो । नेपाल सरकारको परिपत्र अनुसार सबैजसो जिल्ला प्रशासन कार्यालयलहरुले आफ्नो जिल्लामा रहेका शक्तिपीठहरु नखोल्न तथा भीडभाड नगर्न सूचना जारी गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सूचना जारी गर्दै मन्दिरमा नित्यपूजाबाहेकका गतिविधि निषेध भएको जानकारी दिएका छन् । सूचनाको अवज्ञा गर्नेलाई ंसंक्रामक रोग ऐन अनुसार कारवाही गरिने कास्की प्रशासनले जनाएको छ ।
दशैंको बेला पोखराका शक्तिपीठहरुमा दर्शनार्थीको भीड लाग्थ्यो । यहाँको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले घटस्थापनाको दिन शोभायात्राकै आयोजना गथ्र्यो । यो वर्ष पनि सुरक्षाका सबै प्रबन्धसहित शोभायात्रालाई निरन्तरता दिने पक्षमा समिति भए पनि प्रशासनले अनुमति दिएन । ‘हामीले कोशिस गरेको हो तर प्रशासनले अनुमति दिएन, अब मन्दिरमा नित्यपूजा हुन्छ’, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले भने,‘नवरात्रीमा विधान अनुरुप नै मन्दिरका काम गरिन्छ तर भक्तजनहरुलाई मन्दिर प्रवेशको अनुमति छैन । पोखरामा दशैंको बेला विन्ध्यवासिनी, तालबाराही, सितलादेवी, भद्रकाली, अकलादेवीलगायतका देवी मन्दिरहरुमा भक्तजनको घुँइचो लाग्नेगथ्र्यो ।





