पछिल्लो समयमा प्रहरीले विभिन्न अपराधमा दोषी देखिएका र फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्ने अभियान चलाएको छ । गण्डकी प्रदेशमा संचालित यो अभियानअन्तर्गत अदालतले दोषी ठहर गरे पनि भाग्दै आएका विभिन्न व्यक्तिहरु पक्राउ परेका छन् । वर्षौंअघि दोषी ठहर भएका व्यक्तिहरु पनि कानूनको पञ्जामा परेका छन् । यो अभियानले कानूनका हातहरु लामा ह्ुन्छन् अपराधीहरुले यो वा त्यो बहानामा उन्मुक्ति पाउँदैनन् भन्ने सन्देश गएको छ । भनिन्छ, पाप धुरीबाट कराउँछ । अपराध गर्न सजिलो हुन्छ तर लुकाउन गाह्रो हुन्छ । अपराध गरेपछि सजायँको भागिदार बन्नैपर्छ । अपराधीले सजायँ नपाउँदा उनीहरुको मनोवल बढ्नु एकातिर छ भने त्यसले दण्डहीनतालाई प्रश्रय पनि दिनेगर्छ । अपराध गरे पनि सजायँ नहुँदा त्यही व्यक्तिबाट अर्को अपराध हुनसक्ने सम्भावना रहन्छ । कानूनले दोषी करार गरेकाहरुलाई दण्ड दिनु राज्य÷ प्रहरीको कर्तव्य नै हो ।
प्रहरीले आफ्नो कर्तव्य निभाएको मात्रै हो । तर, कर्तव्य निभाउँदा त्यसले समाजमा सकारात्मक सन्देश प्रवाह भएको छ । देश विषम परिस्थितिमा छ । कोरोना कहरले गाँजेको बेला हत्या, बलात्कारजस्ता घटनाहरुमा बढोत्तरी भएको छ । महिला हिंसाका घटनाहरु पनि यो समयमा बढेका छन् । यस्तो बेला फरार अपराधीले सजायँ पाउँदा मनोवैज्ञानिक रुपले अपराध घटाउन मद्दत पुगेको छ । गण्डकी प्रदेश सुरक्षाका दृष्टिले संवेदनशील प्रदेश हो । पोखराजस्तो अन्तर्राष्ट्रिय सहर अनि भारत र चीनसँगको नाका जोडिएका कारणले पनि यो प्रदेशलाई सुरक्षाका दृष्टिले संवेदनशील मानिन्छ । देशका मै हुँ भन्ने व्यक्तिहरुको आवागमन भइरहने भएकाले पनि यहाँको सुरक्षा चुस्त हुनुपर्छ/रहनुपर्छ । अपराधीहरु निस्फिक्री घुम्न थाले भने त्यसले सुरक्षा चुनौति झन बढाउँछ । यस्तो अवस्थामा प्रहरीको सक्रियता जरुरी हुन्छ । विषम परिस्थितिलाई सहज बनाउने अनि अपराध नियन्त्रणमा प्रभावकारी कदम चाल्दा नै प्रहरीको इज्जत बढ्ने हो । अहिले फरार अपराधी पक्राउ गरेर प्रहरीले वाहवाही पाएको छ । यी र यस्ता अभियानहरुबाट प्रहरीले जनविश्वास आर्जन गर्छ । प्रहरी मेरो साथी भन्ने नारा व्यवहारिक बन्छ । प्रहरी पनि यही समाजको अंग हो । प्रहरीले समुदायको सहयोग बिना अपराध निन्त्रण गर्न सक्दैन । त्यही मान्यतामा अडेर अहिले प्रहरीले समुदायसँग प्रहरी अवधारणा गरिएको हो । यो अवधारणालाई व्यवहारमा लागु गराउनु प्रहरीकै दायित्व हो भने प्रहरीलाई सघाउनु जनताको कर्तव्य ।
जनता र प्रहरीबीचको सम्बन्धले मात्रै अपराध नियन्त्रणमा बल पुग्छ । सुव्यवस्था कायम हुन्छ । यति हुँदाहुँदै पनि प्रहरीप्रति जति जनविश्वास र भरोसा हुनुपर्ने हो त्यो हुन सकेको छैन । प्रहरीमाथि जनविश्वास आर्जन गर्नुपर्ने चुनौति छ । । प्रहरीको व्यवहारप्रति यदाकदा उठ्ने प्रश्न र प्रहरीमा भएको नैतिकताको ह्रासका कारण यो अवस्था आएको हो भन्ने प्रहरीले बुझ्नुपर्छ । प्रहरीले आफ्नो धमिलिएको छवि उजिल्याउन जनताको मन जित्नेगरि मेहनत गर्नुपर्छ र बर्दीप्रति बफादार बन्नुपर्छ । मुख्य कुरा त, प्रहरीले आफू विशुद्ध व्यावसायिक बन्न धेरै मेहनत गर्नुपर्छ । अपराध कर्म गर्नेहरुलाई कुनै पनि हालतमा उम्कन नदिन आफ्नो अनुसन्धान प्रणालीमा सुधार गर्नृुपर्छ । राजनीतिक हस्तक्षेपबाट मुक्त हुन आफैले पनि प्रयास गर्नुपर्छ । यसो भएमा प्रहरीमाथि लागेका यावत् आरोपहरु आफै निम्छरा सावित हुनेछन् । अहिले प्रहरीले जुन सफलता प्राप्त गरेको छ, त्यसले प्रहरी अनुसन्धानमा लगातार क्रियाशिल रहन्छ र सुशासन कायम गराउन अहोरात्र खट्छ भन्ने सन्देश प्रवाहित भएको छ । प्रहरीले अहिलेका अभियानलाई निरन्तरता दिँदै अझै जनमैत्री हुने प्रयत्न गर्नुपर्छ ।

