चिसो बिहानी । तानसेन बजार भर्खर सलबलाउन थालेको हँुदो हो । मान्छेको चहलपलह विस्तारै बाक्लिन थालेको थियो । चिया पसलमा चियासँगै गफिनेहरु थपिन थाले, ताजा पत्रिकाको स्वादसँगै । यता मर्निङवाक गर्नेको लर्को देखिन्थ्यो । गन्तव्य चाहिँ श्रीनगर डाँडा । शिरानैमा छ डाँडा । कोही उक्लदै, कोही फर्कदै । उकालो बाटो, लो गियरमा मलाई डाँडासम्मै ल्याइपु¥यायो साइकलले । पाल्पा यात्राको दोस्रो दिनको बिहानीको सम्झना थियो यो ।
कार्तिक महिना । साल चाँहि २०७६ । ठ्याक्कै पोहोर सालल । फ्याट्ट पाल्पा पुग्ने मनसाय बन्यो, साइकलमा । यात्राको समय अवधि तीन दिन । यात्राभर साथका लागि मसँगै हुने भयो, मेरो साइकल । तानसेन बजार करिब १२० कि.मी. पोखराबाट । बिहानै नतात्तिए तानसेन पुग्न हम्मेहम्मे नै पथ्र्यो ।
राजमार्गको बाटो साइकलमा बढी नै चुनौती । झन् सिदार्थ राजमार्गको के कुरा ? घुमाउरो अनि साँघुरो बाटो, उस्तै जोखिमयुक्त । स्याङ्जा पुतलीबजार पुग्दा एघार बज्दो हो । खाना खाएर साइकलिङ गर्न अफ्ठ्यारो हुने सोचले खाजा खाएर उकालो बाटो पछ्याउँदै वालिङ बजार पुगें । चिटिक्क परेको बजार हो, वालिङ बजार । ‘कल्चर, एडभेन्चर एण्ड नेचर’ थिम लिएर ओन्डरफुल वालिङ पर्यटन प्रर्वद्धनमा लागिरहेको छ । प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ, ¥याफ्टिङजस्ता एडभेन्चर प्रोडक्टको फरक स्वाद चाख्न वालिङ एक पटक पुग्न जरुरत छ । अर्को पटक वालिङको डाँडाकाँडा घुम्ने बाचा मनमनै गरें अनि गल्याङ कटेसँगै ओरालो बाटो पछ्याउदै राम्दी पुगें ।
स्याङजा र पाल्पाको सिमाना हो, राम्दी पुल । त्यहाँबाट तानसेन जम्मा १८ कि.मी., तर पुरै उकालो बाटो । थाकेको ज्यान, कहिले साइकल ठेल्दै त कहिले दो¥याउँदै अघि बढ्नुको विकल्प थिएन । जाडो याम, पाँच बजे नै झमक्कै अध्यारो । म भने टर्च बाल्दै अघि बढें । पाल्पाबाट विज्ञान दाई बाटोसम्म मलाई लिन आउनु भएपछि भने यात्रा अलि सहज भयो । अबेर आठ बजे तानसेन पुग्दा पनि तानसेन झिलिमिली नै थियो । अझै निदाएको थिएन सिंगो तानसेन । खाना र बस्ने प्रबन्ध विज्ञान दाईकहाँ थियो । खाना खाइवरी थाकेको ज्यान कति बेला भुसुक्कै निदाइएछ पत्तै भएन ।
बतासे डाँडा । बिहानै त्यहाँबाट देखिने हिमश्रृंखला दृश्यपान गर्दाको आनन्द बेग्लै रह्यो । मज्जाले धीतमरुन्जेल हेरें, धौलागिरीदेखि लम्जुङ हिमालसम्मको प्यानारोमिक भ्यु । यता तान्सेन बजार अनि धानका फाँट उस्तै लोभलाग्दा । जति हेरे पनि धितै नमर्ने । आजको यात्रामा जोडिनुभो पाल्पाबाट विज्ञान दाई ।
नेपालको ताजमहल । अर्थात् रानीमहल । बतासे डाँडाबाट तेह्र कि.मी. पुरै ओरालो बाटो । दुई वर्ष पहिला लुम्बिनी मेडिकलका साथीहरुसँग कच्ची बाटो पछ्याउदैँ पैदल रानी महल पुगेको सम्झना ताजै बनेर आयो । अहिले त करिब छ कि.मी बाटो पिच र बाँकी ग्राभेलिङ भइसकेछ । ओरालो बाटोमा साइकल कुदाउँनुको मज्जा बेग्लै । करिब एक घण्टामा रानीमहल पुग्दा त्यहाँ छुट्टै रौनकता छाएको थियो । घुम्न आउनेहरुको उस्तै भिड । कोही बाल्कोनीमा सेल्फीमा मस्त थिए त कोही सामूहिक तस्वीरमा । हामी भने साइकललाई महलसम्म उचालेर दुई चार फोटो खिच्यौं ।
छेवैको आफ्नै मन्द गतिमा कालीगण्डकी बगिरहेको थियो । चट्टानै चट्टानको पहाडको काखमा अवस्थित दरबार हो यो । यसले करिब एक सय छब्बिस वर्षको इतिहास मात्र बोकेको छैन, सँगै सदियौं पहिला चल्तीमा रहेको युयानी शैली र कलाकृतिलाई पनि आजको दिनसम्म जीवन्त बनाएर राखेको छ ।
सच्चा प्रेमको प्रतीक मानिन्छ रानीमहल । निर्माण गरिएको मिति वि.सं. १९५० । पाल्पा गौडाका प्रधान सेनापति थिइ खड्ग शमशेर । आफ्नो दिवंगत रानी तेजकुमारीको सम्झनामा उनले बेलायती इन्जिनियर झिकाएर महल बनाएका रहेछन् । दरबार क्षेत्रभित्र पानीपोखरी, कलश, बगैँचा, पार्क अनि शिवलिंग रहेका छन् । १९६० ताका खड्ग शमशेरले श्री ३ पद कब्जा गर्ने षडयन्त्र गर्यो भन्ने थाहा पाएपछि श्री ३ चन्द्रशमशेरले पाल्पामा उनलाई सिध्याउन सेना पठाएका थिए । उनी त्यहाँबाट भागेर भारत पुगेपछि रानी महलको अवस्था जीर्ण अवस्थामा पुगेको थियो । पछि नेपाल सरकारले यसको रङरोगन गर्नुका साथै संरक्षणको कदम चालेको थियो । तर दरबार बाहिरी रुपमा जति आर्कषित देखिन्छ, त्यति नै भित्री आवरण शुन्य र खल्लो लाग्न सक्छ । रानीमहलको भित्री आवरण सजिसझावटमा पनि जोड दिने हो भने यो सायद प्रेमील जोडीहरुको लागि मात्र नभई इतिहास बुझ्न चाहनेहरुका लागि एक उपयुक्त पाठशाला बन्न सक्छ ।
खड्ग शमशेर र यस महल पछिको इतिहासबारे पर्याप्त फोटोसहितको जानकारी, सम्भव भए भिडियो प्रर्दशनी र प्राचीन महत्वका वस्तुहरुलाई संरक्षण गरी संग्रहालयका रुपमा पर्यटक माझ पस्कन जरुरत देखिन्छ । साथै घुम्न आउनेहरुका लागि खाना बस्नका लागि सुविधा सम्पन्न होटलको व्यवस्था र नियमित पाल्पादेखि महलसम्मको यातायात व्यवस्था गर्न सकिए पाल्पाको मात्र नभई नेपालकै एक प्रसिद्ध पर्यटकीय बन्न सकिन्छ ।
कालीगण्डकी माथिको झोलुंगे पुलबाट देखिएको रानीमहलको दृश्य अझ आकर्षक अनि लोभलाग्दो देखिन्थ्यो । योजना बन्यो स्याङ्जाको आलमदेवी मन्दिर पुग्ने । पहिरोले ठाउँ ठाउँमा बाटो अवरोध पारेको थियो । विकल्प बन्यो साइकल बोकेरै गोरेटो बाटो अघि बढ्ने ।
सुन्दर गाउँ अनि पहेलैँ झुलेका धानका गराहरु कुनै क्यानभासको पेन्टिङजस्तो लाग्थ्यो । मनै हर्ने । बाटामा भेटिनेहरुसँग गफगाफ गर्दै अघि बढ्नुको मज्जा बेग्लै । उकालो बाटो, थकान मार्दै करिब बाह्र कि.मी. बाटो तय गरियो । डाँडामा रहेछ, आलमदेवी मन्दिर । गन्तव्य पुग्दा चैनको सास फेरें ।
बादलभित्र लुकामारी खेल्दै गरेका हिमश्रृंखलाहरु अनि वरपरका सुन्दर गाउँहरु नियाल्दा थकान बिर्सेको अनुभुति भयो । त्यस दिन पन्चौली पुजा भएकाले बाक्लै घुइँचो थियो । धार्मिक र पर्यटकीय महत्व बोकेको यस मन्दिरलाई नेपाल एकीकरण पश्चात शाहंवशीय तत्कालीन राजपरिवारले कूलदेवीका रुपमा पूजा गर्दै आएको कुरा त्यहाँका स्थानीयले बताए । आलमदेवीको दर्शन गरे मनोकांक्षा पुरा हुने विश्वास अझै रहेछ जनमानसमा । ‘पछिल्लो समय पूर्व राजकुमारी हिमानी शाहले आलमदेवीको दर्शन गरेकी थिइन्,’ मन्दिर व्यवस्थापन समितिका सचिव चमनसिहं थापाले बताए । मन्दिरबारे जानकारी लिदैँ गर्दा हाम्रो खाजा तयार भइसकेछ । भोकाएको पेट तातो पा¥यौं । अनि ओरालो बाटोहुँदै हामी गुल्मीको रिडी बजार लाग्यौं ।
कालीगण्डकीतिरमा अवस्थित सुन्दर बजार हो, रिडी बजार । रिडी बजार अर्घाखाँची, तम्घास (गुल्मी सदरमुकाम), बुर्तिबाङ (बागलुङ) र पाल्पा जाने चौराहा हो । बस्न, खानाको लागि सानादेखि ठुला होटलहरु छन् यहाँ । बजार मास्तिर गलफुले ओडार रहेछ । रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले देवदत्त पार्क बनाएको रहेछ त्यहाँ । ऋषि देवदत्त, रुरु कन्या र मृगहरुको प्रतिमा बनाइएका त्यस क्षेत्र जति शान्त र शालिन थियो, त्यति नै सफा । ओडार पनि आकर्षक रहेछ त्यहाँको । झम्के साँझ परिसकेको थियो । त्यसैले नेपालकै प्रसिद्ध धाम रुरु क्षेत्र घुम्ने योजनालाई भोलि थाती राख्दै हामी नजिकैको होटलमा बास बस्यौं ।
यात्राको तेस्रो दिन । बिहानै पुग्यौं रुरु क्षेत्र । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थलमा अवस्थित प्रसिद्ध धाम हो रुरु क्षेत्र । युनेस्कोले यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न प्रस्ताव गरिसकेको छ । नेपालबाट मात्र नभई भारतबाट समेत यस क्षेत्रमा पूजापाठ गर्न दर्शानार्थीहरु आउँदा रहेछन् । यस क्षेत्रको धार्मिक र ऐतिहासिक महत्व बारेमा त्यहाँका पीठाधिशसँग जानकारी पनि लिने अवसर मिल्यो ।
त्यसपछिको पुरै उकालो बाटो । उस्तै थकान अनि भोकले आक्रान्त परेको ज्यान । करिब बीस कि.मी. उकालो बाटो करिब दुई घण्टामा हामीले छिचोल्यौ । अनि आइपुग्यौं भैरव मन्दिर । काल भैरवको दर्शन मात्र गरेनौं, त्यहाँ अवस्थित संसारकै ठूलो त्रिशुल अवलोकन ग¥यांै ।
त्यसपछि हामी लाग्यौं श्री नगर डाँडातिर । गर्मीयाममा त झन गर्मी छल्न यहाँ मानिसहरुको भीड नै हँुदो रहेछ । सल्लाघारीको सुसेलीमा मन्त्रमुग्ध मात्र होइदैन, आकाश खुल्दा लमतन्न हिमश्रृंखलासँगै सुर्योदय अवलोकन गर्न बिहानै आउँदा रहेछन् यहाँ । पोहोर सालमात्र यहाँ डाउनहिल साइकलिङ च्यामपियन आयोजना भएको थियो । छेवैमा अग्लो बुद्धको मुत्ति पनि रहेको छ । भ्यु टावरबाट प्रष्ट देखिने तानसेन बजार, कुहिरोले तालजस्तै देखिने माडी फाँट अनि वरपरको गाउँहरु पर्यटकहरु धीतमरुन्जेल नियाल्छन् । कोही क्यामरामा फोटो कैद गर्नमा व्यस्त थिए त कोही हृदयको अन्तरकुनामा ।
पाल्पा जिल्ला । नेपाल एकीकरण हुनुपूर्व पाल्पा जिल्ला बाइसे–चौबीसे राज्यमध्ये एक शक्तिशाली राज्य थियो । सेनवंशी र मगराँती पृष्ठभूमि बोकेको यस जिल्ला नेपालको एकीकरणपछि पनि प्रशासनिक, शैक्षिक र पर्यटन क्षेत्रमा अग्रगामी स्थानमै रहेको छ । हो, यसै जिल्लाको सदरमुकाम हो तानसेन बजार । ढाका लुगाको उपमा पाएको जिल्ला पाल्पा । करुवाको लागि प्रसिद्ध जिल्ला पाल्पा । नगरपालिकाको प्राङ्गणमा रहेको बडेमानको करुवा देख्दा जो कोही आश्चर्यमा पर्छन् । दुई चार सेल्फीसँगै खिच्छन् ।
प्रसिद्ध पाल्पा दरबार घुम्न छुटाउने कुरै भएन । वि.सं. १९८४ सालमा प्रताप शमशेरले निमार्ण गरेको रहेछ यस दरबार । तर २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भयो । त्यसपश्चात २०७१ सालमा पुनःनिर्माण गरिएको थियो । ऐतिहासिक र पुरातात्विक महत्व बोकेको यस दरबारलाई भने २०७३ सालमा संग्राहलय घोषणा गरेर सर्वसाधारणलाई खुला गरिएको रहेछ । रातो र सेतो रङले पोतिएको भवन बडो आकर्षक देखिन्छ । ऐतिहासिक र पुरातात्विक महत्व भएका सामग्रीहरुलाई भने अझै यहाँ संरक्षण गरेर राख्न नसकेको देख्दा चिन्ता लाग्यो ।
दरबार छेवैको ऐतिहासिक महत्व बोकेको रणउजेश्वरी भगवती मन्दिर छ । जसले छुट्टै महत्व बोकेको छ । उजीरसिंह थापाले बनाएको यस मन्दिर वि.सं. १९९० सालको भुकम्पले भत्काए पश्चात पुनःनिर्माण गरिएको थियो । हरेक वर्ष भाद्र कृष्ण नवमीको दिनमा भगवती जात्रा सगैँ विशाल रथयात्रा निकालेर बजार परिक्रमा गरिदो रहेछ ।
अर्को आकर्षणको केन्द्र भनेकै नारायण स्थानमा अवस्थित अमरनारायण मन्दिर । सुन्दर बगैँचा र प्राचीन पानीको मुहान नजिकै रहेको यस मन्दिर वि.सं. १८६३ मा अमरसिंह थापाले निर्माण गरेको कलात्मक विम्व हो । प्यागोडा शैलीमा निर्मित यस मन्दिरमा प्रयोग गरिएका काठहरुमा विभिन्न मुद्रामा कामक्रिडा तस्वीरहरु अंकित गरिएका छन् ।
तानसेन पुगेर छुटाउनै नहुने तानसेनको मुल ढोका । पाल्पा दरबारको उत्तरपट्टि अवस्थित यस ढोका नेपालकै सबैभन्दा ठूलो बग्गी ढोका रहेको मानिन्छ । त्यहाँ पुग्दा जो कोही अचम्ममा पर्छन् बडेमानको ढोका देख्दा । ढोकाको अगाडि उभिदा हामी त कमिलाजस्ता देखिने । दुई चार फोटो खिचेर छेवैमा अवस्थित शितलपाटी (गोलघर) पुग्यौं । अष्ठभुज आकारको मुगल शैलीमा बनाइएको यस पौवालाई जंगबहादुर राणाले करिब एघार वर्ष आफ्नो कार्यालयका रुपमा प्रयोग गरिएको थियो भन्ने बुझिन्छ । अहिले आएर मानिसहरुको जमघट र स्थानिय कार्यक्रम हुने थलोको रुपमा यस ठाउँ प्रसिद्ध छ ।
पाल्पा आएर चुकौनी र बटुक नचाखेँसम्म यात्रा अपुरै रहँला । हामी साइकलमा ओरालो लागेर बर्तुङ पुग्यौं । अमिलो चुकौनी अनि बटुक चाखेर सिद्धाथ राजमार्ग पछ्याउदैँ प्रभास पुग्यौं । प्रभास ताल पौराणिक महत्व भएपनि जीर्ण अवस्थामा देख्दा मन कताकता अमिलो भयो । कमलका फूलहरु फुल्ने हुँदा यसलाई कमलपोखरी पनि भनिदोँ रहेछ ।
पाल्पा धित मरुन्जेल घुम्ने सपना अधुरै रह्यो यसपालि पनि । रम्भादेवी मन्दिर, रामपुरको तालपोखरा, सत्यवती ताल, माण्डब मन्दिर माडी, सिद्धपानी गुफा, सिद्धेश्वर गुफा, भुत खोलाको आर्कषक झरनाजस्ता महत्वपूर्ण गन्तव्यहरु अर्को पल्ट घुम्ने बाचा गरेर म अर्को दिन पोखरा फर्के ।
जय साइकल । जय पर्यटन ।





