शारदीय पर्व दशैं चलिरहेको छ । दशैंमा नारी शक्तिको उपासना गरिन्छ । देवीको उपासना गरिने यो पर्व असत्यमाथि सत्यको जितको रुपमा मनाइन्छ । मुख्य दिन अर्थात् दशमीमा देवीको प्रसाद स्वरुप मान्यजनबाट जमरा र टीका लगाइने यो पर्वले आत्मियता बढाउँछ, स्नेह साँट्ने अवसर दिन्छ । दशैंको शास्त्रीय महत्व एकातिर छ भने सामाजिक र आर्थिक दृष्टिले पनि यो पर्व विशेष मानिन्छ । देश– विदेशमा रहेका आफन्तहरु एकैठाउँमा जम्मा हुनु खुसी साँट्नु तथा मीठो–मसिनो खानु यो पर्वको अर्को विशेषता हो ।
आर्थिक दृष्टिले हेर्दा दशैं वर्षको सबैभन्दा महत्वपूर्ण व्यापारीक पर्व हो । यही पर्वको सेरोफेरोमा सबैभन्दा बढी तरलता बजारमा प्रवाह हुन्छ । सबैभन्दा बढी किनमेल यही बेला गरिन्छ । मीठो–मसिनो खाने पर्वले आर्थिक गतिविधिमा बढावा दिन्छ । आर्थिक गतिविधिलाई बढावा दिने भएकाले दशैंलाई व्यापारीको चाडको रुपमा पनि हेरिन्छ ।
दशैंका परम्परागत मान्यताहरु तोडिएका छन् तर यसको महत्व घटेको छैन । मनाउने तरिकामा आधुनिकता मिसिएको छ तर आस्था गुमेको छैन । बरु, दशैं हिन्दुहरुको मात्रनभएर सबैको पर्व बन्न पुगेको छ । टीका र जमरा लगाउने मौलिक पर्वको रौनकमा सबै नेपाली समाहित हुँदा यसले राष्ट्रिय पर्वको रुप लिएको छ । सधैंको जस्तो दशैं आएको छ तर यो पटक परिस्थिति फरक छ । कोभिड–१९ को बढ्दो संक्रमणका बीच दशैं मनाउनु परेको छ । कोरोनाले अर्थतन्त्र सिथिल बनाएकाले काम गरेर खानेहरुको लागि यो दशैं दशाजस्तो भएको छ । दशैं ऋण बोकाउन आउने पर्व बनेको छ ।
अर्को तिर, दशैंकै मेसोमा कोरोना झन फैलने हो कि भन्ने चिन्ता पनि थपिएको छ । बढी भीडभाड र सामाजिक दूरी कायम नहुँदा कोरोना संक्रमण फैलने सबैलाई थाहा भएको विषय हो । यही कुरालाई ध्यानमा राखेर सरकारले यो पटक जो जहाँ छ, त्यहीँ दशैं मनाउन आग्रह गरेको छ । ज्यान बँचे दशैं अर्को पटक पनि आउँछ । अनिकालमा बीऊजोगाउनु र हुलमुलमा ज्यान जोगाउनु भन्ने नेपाली पुरानो उखान यतिबेला सम्झनै पर्ने भएको छ । दशैंको रमाइलो र भेटघाट कोरोना फैलाउने माध्यम नबनोस् भन्नेमा सबै सचेत बन्नुपपर्ने भएको छ । आफन्तको मायालाग्नु एउटा कुरा हो, भेटघाट गर्न मन लाग्नु अस्वभाविक हैन तर परिस्थितिको गाम्भीर्यता लाई मननन गर्नु भनेको दुर्घटना निम्त्याउनु हो
अतः यो पटकको दशैंमा बढी संयमता अननाउनु पर्ने भएको छ । भीडभाडमा नजाने, सुरक्षाका सबै उपाय अवलम्बन गर्ने अनि सकेसम्म घरभित्रै दशैं मनाउनु अहिलेको लागि सर्वोत्तम निर्णय हो । यो पटक जे भयो, भयो भनेर मन बाँध्नु सबैको लागि हितकर छ । व्यक्तिले आफू कोरोना सार्ने संवाहक बन्ने त हैन ? भन्ने प्रश्न आफैसँग सोध्ने हो भने संक्रमण रोक्न मद्दत पुग्छ । दशैंको यो पावन अवसरमा ढोरपाटन राष्ट्रिय दैनिक र ढोरपाटन न्युज डटकम परिवार हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक तथा आम नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै सुरक्षित तवरले दशैं मनाउन आग्रह गर्दछ ।

