सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

दशैं नसकिँदै पाक्यो धान, किसानलाई भित्र्याउने चटारो

दशैं नसकिँदै पाक्यो धान, किसानलाई भित्र्याउने चटारो


  • ढोरपाटन संबाददाता
  • कार्तिक १३ २०७७, बिहिबार

बागलुङ, १३ कात्तिक-  यतिबेला गाउँघरमा किसान बेफुर्सदिला छन् । जेठ–असारमा लगाएको बाली भित्र्याउने चटारो छ । कोही खेतमा धान काटिरहेका देखिन्छन्, कोही बारीमा कोदो टिपिरहेका हुन्छन् । कतिले त धान भित्र्याएर गहुँ छरिसकेका छन् । वर्षाले साथ दिएपछि यो वर्ष चाँडै रोपाइँ भएको थियो ।
अधिकांश किसानले तीनबाली हुने खेतको धान त दशैँअगावै भित्र्याइसकेका थिए । ती खेतमा छिटो पाक्ने धान लगाइन्छ । दुई बालीको खेतमा भने अलि ढिलो गरी धान पाक्छ । धान भित्र्याइ सक्दा(नसक्दै बारीमा कोदो पनि पाकेको गलकोट नगरपालिका–७ मल्मका किसान तुलाराम खड्काले बताए ।
दशैँको भोलिपल्टैबाट खेताला लगाएर कोदो काट्न शुरु गरेको उनको भनाइ छ । यसपालि चाडबाडपछि सरेकाले कामको मेसो पनि सँगसँगै पर्न गएको किसान बताउँछन् । गलकोट नगरपालिका, कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले गलकोटमा झण्डै १५ प्रतिशत मात्र धान काट्न बाँकी रहेको बताए। ‘यहाँ रोपाइँ पनि छिट्टै हुन्छ र कटान पनि’, उनले भने, ‘धान भित्राएका किसान गहुँ र्छनमा व्यस्त छन् ।‘
कालो पोके रोगले धानबालीमा केही असर पुर्‍याए पनि मौसम अनुकूल परेकाले उत्पादनमा ठूलो ह्रास नआएको प्रमुख सुवेदीको भनाइ छ । किसानले स्थानीय जातको सट्टा वर्णशङ्कर धान लगाउन थालेपछि दोब्बर बढी उत्पादन दिन थालेको उनले बताए । गलकोटको मजुवा जिल्लामै धेरै धान फल्ने फाँट हो। गलकोटसहित कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायतका भेगमा चाँडै रोपाइँ हुने भएकाले बाली पनि छिट्टै पाक्छ ।
अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका लगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ, धान पनि पछि पाक्छ । जिल्लाको कुल ६ हजार १ सय २२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यहाँ प्रतिहेक्टर तीन मेट्रिक टन धान उत्पादन हुन्छ । उन्नत र वर्णसङ्कर जातको धान खेती विस्तार हुँदै गएको छ। बढी फल्ने भएपछि किसान स्थानीय रैथाने जात छाडेर वर्णसङ्करतिर आकर्षित हुन थालेका छन् ।

किसानले खेती प्रणालीलाई विस्तारै परिवर्तन गर्दै लगेका छन् । खेतबारी जोत्न ‘मिनिटिलर’ हलो प्रयोग गर्ने बढेका छन् । खेतको धान, पराल बोक्न पनि ट्याक्टरको प्रयोग हुन थालेको छ । किसानले गोरु पाल्न छाडेको प्रमुख सुवेदीले बताए । रोपाइँदेखि, गहुँ, मकै, कोदोलगायतका बाली लगाउँदा पनि ‘मिनिटिलर’ हलोकै प्रयोग हुन थालेको उनको भनाइ छ।
आधुनिक प्रविधिले पम्परागत खेती प्रणालीमा ठूलो परिवर्तन ल्याएको छ । खेती लगाउँदा लागत कम लाग्ने, झण्झट नहुने, श्रम र समयको पनि बचत हुने भएकाले किसान उन्नत प्रविधितर्फ आकर्षित भएका हुन् । गाउँघरमा खेताला, कामदार पनि पाइन छाडेका बेला आधुनिक औजार, उपकरणले किसानलाई राहत मिलेको छ । ‘मिनिटिलर’ हलोको माग बढेपछि केही किसानले आफ्नै लगानीमा हलो किनेर कृषिको यान्त्रीकरणमा टेवा पुर्‍याइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->