बागलुङ, १६ कात्तिक– बागलुङ बजारका केही व्यवसायी, राजनीतिकर्मी, कर्मचारी, जनप्रतिनिधी र पत्रकारमा कोरोना संक्रमण देखिएपछि उद्योग वाणिज्य संघ बागलुङको अनुरोधमा बागलुङ नगरपालिकाले एक साता बन्दाबन्दी गर्न जिल्ला संकट व्यवस्थापन समितिलाई सिफारिस गरेको छ ।
कोरोना महामारी थप फैलिनका लागि रोक्न भन्दै नगरप्रमुख जनकराज पौडेलले आईतबार समितिलाई एकसाता बन्दाबन्दी गर्नका लागि सिफारिससहितको पत्र पठाएका छन् । यसअघि उद्योग वाणिज्य संघले १४ दिन बन्दाबन्दीका लागि स्थानीय प्रशासन र बागलुङ नगरपालिकालाई अनुरोध गर्दै पत्राचार गरेको थियो ।
आइतबार बिहान बसेको संघको बैठकले बजारभित्र रहेकाहरुबाट समुदायमा थप संक्रमण फैलिन सक्ने अवस्था रहेको भन्दै बन्दाबन्दीको लागि अनुरोध गरेको हो ।
बैंक तथा वित्तिय संस्था, सार्वजनिक यातायात, सरकारी तथा गैरसरकारी संस्था सबै बन्द गर्ने अवस्था आएमा समुदायमा संक्रमण थप फैलिन नदिनका लागि आँफुहरु व्यवसाय बन्द गर्न तयार रहेको संघका महासचिव नरेश कँडेलले बताए ।
बन्दाबन्दीको लागि व्यवसायीले अनुरोध गरेपछि जिल्ला संकट व्यवस्थापन समितिलाई सिफारिस गरी पठाएको नगरप्रमुख जनकराज पौडेलले बताए । आईतबार दिउँसो ढिलागरि समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेको सिफारिस पत्रका विषयमा भने छलफल नै हुन पाएन् । ‘आज ढिला गरी पत्र आयो, भोलिका लागि बैठक डाकेको छु’ संयोजकसमेत रहेका प्रजिअ सुरेश न्यौपानेले भने ‘के गर्ने भन्ने विषयमा समितिमा छलफल भएपछि मात्रै निधो हुन्छ ।’
पछिल्लो समय कोरोना पुष्टि भएर होम आइसोलेसनमा रहेकामध्ये २५ जनाभन्दा बढि बजारभित्रकै व्यवसायी, राजनीतिकर्मी, कर्मचारी, जनप्रतिनिधी र पत्रकार रहेका छन् । उनीहरुका सम्पर्कमा आएकाहरु धेरै ब्यक्तिको पिसिआर परिक्षणका लागि पठाइएको छ ।
जिल्लाका दश स्थानीय तहमध्ये बागलुङ नगरमा सबैभन्दा धेरै सक्रिय संक्रमित छन् । बजारक्षेत्रमा आवतजावत समेत धेरै भएकाले नगरक्षेत्रमा बन्दाबन्दी गर्न व्यवसायीहरुले माग गरेका हुन् । आईतबार मात्रै ३ जना सुरक्षाकर्मी र एक जना धौलागिरी अस्पतालको सरसफाईको काम गर्ने मजदुर महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।





