बागलुङ, १८ कात्तिक– ‘जो कोहीबाट दुई मिटर भन्दा पर बस्छु र नजिक जानुपरे बढिमा दश मिनेटसम्म मात्र बस्छु’ मंगलबार दिउँसो साढे तीनबजे उल्लेखित वाक्यले जिल्ला प्रशासन कार्यालय बागलुङको सभाहल गुञ्जायमान भयो ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले स्वास्थ्य कार्यालय बागलुङले तयार पारेको सपथ पढ्दै थिए । सोही सपथ प्रशासनको सभाहलमा जम्मा भएका सबै कर्मचारीले दोहोराएर पढे । कोरोना भाईरस (कोभिड–१९) बाट बच्नकालागि उल्लेखित बाहेक थप पाँचवटा बुँदा समेटिएको सपथ तयार भएको छ ।
सबै बुँदा कोभिड–१९ बाट बच्ने उपायहरुको बारेमा तयार पारिएका छन् । ‘कोरोना महामारी, मेरो जिम्मेबारी’ अभियान मंगलवारबाट बागलुङमा सुरु भएको छ । सरोकारवालाका साथै नागरिक तहसम्म कोरोनाबाट बच्न र बचाउँनकालागि साताव्यापी रुपमा सपथ खाएर जिम्मेबारी बोध गराउनकालागि यो अभियान सुरु स्वास्थ्य कार्यालय बागलुङका रोग नियन्त्रण फोकल पर्सन देबप्रकाश घिमिरेले बताए ।
सोही अभियानको सुरुवात मंगलवार जिल्ला प्रशासन कार्यालयबाट भएको थियो । ‘सपथलाई मानिसले जिम्मेबारी सम्झन्छन्’ घिमिरेले भने ‘जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गरेर यो नारा र अभियान तय गरिएको हो ।’ यो सपथ नागरिकलाई जिम्मेबार बनाउने अभियान समेत भएको उनले बताए । जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अभियान सञ्चालन गर्ने र पालिकाहरुमा पालिका प्रमुखकको नेतृत्वमा कोरोना भाईरस सँग जुध्न प्रत्येक व्यक्तिको योगदान पुग्नेगरी यो अभियान थालिएको उनले बताए । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । मंगलवार प्रशासनबाट थालिएको अभियान सबै कार्यालय, संघ, संस्था, समुह हुँदै नागरिकको तहसम्म एक सातामा पु¥याईने प्रजिअ सुरेश न्यौपानेले बताए । सञ्चार माध्यामबाट प्रचार प्रसार गर्नेदेखि घना बस्ती भएको क्षेत्रमा माईकिङ गर्ने सम्मका कार्यक्रम हुनेछन् ।
सपथमा समाबेश केही महत्वपूर्ण सन्देशहरु ‘म कोरोना भाईरस रोगबाट बच्छु’, ‘यदी आँफुलाई संक्रमण भैहालेमा अरुलाई सर्नबाट बचाउँछु’, ‘यसको लागि म जोकोहीसँग भेट्दा मास्क लगाउँछु’, ‘साथै केही नयाँ चिज छुँदासाथ मिचिमिचि साबुनपानीले हात धुन्छु’ र ‘ज्वरो आएमा, खोकी लाएमा, श्वास फेर्न गाह्रो भएमा, बास्ना र स्वाद थाहा नभएमा, झडापखाला, बन्ता हुने, जिउ दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मीलाई खवर गर्छु ।’ तयार भएको सपथलाई पालिका देखि नागरिकको तहसम्म पु¥याउने तयारी प्रशासनले गरेको छ ।





