दुइजना संक्रमित देखिंदा अस्पतालको बाटो समेत नहिड्ने बागलुङबासी अहिले घरभित्र संक्रमण लुकाइरहेका छन् । कसले किन र कहाँ लुकायो भन्ने कुरा गौड हो । तर धेरै मानिस लक्षण देखिएर बिरामी पर्दापनि स्वाब परीक्षण गराउन डराएका छन् । बरु उनीहरु घरमै उपचार गरेर बसेका छन् । घरभित्रै बसेर उपचार गर्नु राम्रो पक्ष होला । तर शंकस्पद भएकाहरु खुलेआम यात्रा गर्ने र स्वाब दिएर पनि जथाभावी डुल्ने कामले भने गम्भिर लापरवाही देखिएको छ ।
कोरोना संक्रमणबाट आँफू बाच्ने र समाजलाई बचाउने काम गर्नुपर्ने एउटा चुनौतीको घेरामा सिंगो संसार उभिएको बेला लापरबाही गर्नुं आँफैलाइ जोखिम बनाउनु हो । तर जानेबुझेकाहरुले नै यो जोखिमको काम गरिरहेका छन् । अहिले जिल्लाका सबै आइसोलेसन भरिएका छन् । लक्षण सहितका संक्रमितको संख्या पनि बढेको छ । तर लापरबाहीको दर झन बढेको देखिन्छ । बिशेषगरी व्यवसायीहरुलेनै लापरवाहीलाई जोड दिएको देखिन्छ ।
पैसाको कारोवार गर्नेदेखि बिभिन्न बाहनामा आन्दोलन गर्ने, भीड जम्मा पार्ने र बैंकका कर्मचारीमा संक्रमणको दर बढी छ । उनीहरुले चाहेको खण्डमा भीड कम गर्ने र जथाभावी यात्रा रोक्न सक्थे । तर चाहेका छैनन् वा आँफू संक्रमित भएपछि अरुलाईपनि संक्रमणमा पार्छु भन्ने मान्यता बोकेका छन् ? पालिका तहमा पनि जसले बढी चासो दिएर रोक्ने काम गरे उनीहरुनै सफल जस्ता देखिन्छन् । जैमिनी नगरपालिकाले बिदेशबाट आएका र अन्य सहरबाट आएर पनि शंकास्पद देखिएकालाई अनिवार्य क्वारेन्टाइन बसाल्यो । जसको कारण अहिले सम्म कोरोना नियन्त्रणमा छ । बागलुङ बजारमा झण्डै नियन्त्रण बाहिर गएजस्तो देखिएको छ । छिमेकी दुइ जिल्लाले थोरै संख्याको संक्रमण देखिन नपाउँदै पुनः लकडाउन गराएर नियन्त्रण प्रयास गरेका छन् भने बागलुङ प्रशासन यो बिषयमा मौन जस्तो देखिन्छ ।
त्यसोत संक्रमणलाइ छलेर दैनिक काम गर्नुपर्ने चुनौतीपनि छ । लामो समयको लकडाउनका कारण देशको अर्थतन्त्र धरासायी भएको थियो । असोज १ गतेदेखि उद्योगधन्दा, व्यपार, सार्वजनिक यातयात समेत खुलेपछि अर्थतन्त्र भने चलायमान पनि भएको छ । यसरी चलायमान अर्थतन्त्रका कारण धेरैले रोजगारीपनि पाउन थालेका छन् । तर त्यसपछि संक्रमणको दर ह्वात्तै बढेको छ । दशै अघि गठन भएको टोल अनुगमन समितिहरु कता गए ? ती समितिहरु चलायमान छन् त ? यो पनि खोजीको बिषय भैसकेको छ । सबै आफ्नै धुनमा मात्रै छन् । कोरोना समाजमा भित्रभित्रै गइसकेको छ तर हरेक नागरिक र समाजको प्रतिष्ठीत व्यक्ति समेत सचेत बनेका छैनन् ।
राष्ट्रिय रुपमा हेर्दा दैनिक पाँचसात सय संक्रमित देखिएकोमा ५ हजार सम्म पुग्न थालेको छ । सरकारले कोरोना परीक्षण रोक्ने र बिरामी भएकालाई मात्र उपचार गराउने नीति लिने वा फेरी लकडाउन गराएर स्थिति नियन्त्रणमा लिने ? दुइ बिकल्प छन् । उपचार पद्दती मार्फत नियन्त्रण गर्न सक्ने हैसियत राख्न सक्ने हो भने पिसिआर रोकेपनि फरक पर्दैन । पिसिआर गरेकाहरु होम आइसोलेसन भन्दै लखरखलर डुल्ने हो भने रोकेपनि फरक पर्दैैन । तर आम नागरिकलाई सुरक्षाका उपायाहरु प्रयोग गर्न अनिवार्य गर्नुपर्छ । दुइजनामा नडराउने नेपाली दुइलाख संक्रमित पुग्दा सचेत हुन नसक्ने अबस्थाले स्थिति भयाबह बन्दै जाने खतरा छ ।

