बागलुङ, १९ कात्तिक– बडिगाड गाउँपालिका वडा नं. १० को पात्लेकी मीना बिकलाइ हरेक दिन खानेपानी खेप्नको सास्ती थियो । बिहानै उठेर खोल्सामा पानी खेप्न जाँदा दुइ घण्टा लाग्थ्यो । गाइबस्तुलाई पानी खुवाउने काम सबैभन्दा सास्ती थियो । घरको सरसफाइ र खानकालागि दैनिक १० गाग्री खेप्नुपर्ने भएपछि एकजनाले अरु काम गर्नै पाउने थिएनन् ।
यो समस्या २०५५ देखिकै हो । पात्लेकै साबित्रा रासकोटीले पानी खेपेर बालबालिका पढाउन समेत नसकेको गुनासो गरिन् । यहाँबाट नजिकको बिद्यालय पुग्न डेढ घण्टा लाग्थ्यो । पानी खेप्नकै पिरले कतिपय बालबालिका पढ्न समेत जान्थेनन् । २०७० सालमा खुला दिशा मुक्त घोषणा गर्दा यहाँका अधिकांस शौचालय प्रयोग विहिन थिए । ‘पानीको अभावले शौचालय पनि प्रयोग गर्न सकेका थिएनौं’ बिकले भनिन्, ‘अहिले घरमै धारा आएको छ, धेरै सुख पाइने भयो ।’ घा“स दाउरा र घरको कामले भन्दा पानीको पिरले धेरै दुःख भोगेको उनले बताइन् ।
नजिकमा पानीको श्रोत समेत नभएपछि स्थानीयले कुवाको पानी खान्थे । पात्ले झाँक्रीस्थान खानेपानी उपभोक्ता समितिका अध्यक्ष सन्तबहादुर रासकोटीले हिलो भएकोले पानी छानेर खान बाध्य भएको सुनाए । ‘हामीले अहिले सम्म कुवाको फोहोर पानी छानेर खान्थ्यौं’ रासकोटीले भने, ‘अहिले घरघरमा सफा पानी खान पाएका छौं ।’ यो पानी ल्याउनकालागि पात्लेका मानिसले दर्जनौ संस्थामा धाएका थिए । कतैबाट साथ नपाएर हार खाएको बेला सहयोग गर्ने संस्था पाएपछि गाउ“मा पानी ल्याउन सकिएको उनले बताए ।
२०५७ सालमा उनीहरुले ब्रिटिस वेयलफेयर गुहारेका थिए । खानेपानी आयोजनाको काम थाल्नै लाग्दा सशष्त्र द्वन्द्व गरेको तत्कालिन माओवादीले ५० प्रतिशत चन्दा मागेपछि आयोजनानै बन्द भएको वडा अध्यक्ष बिरेन्द्र बुढाले बताए । उक्त आयोजना बनाउन त्यसपछि स्थानीयले २० बर्ष संघर्ष गर्नु प¥यो । ‘ठूलो खर्च लाग्ने आयोजना भएकोले कतैबाट संभव भएन, आएको योजना फिर्ता भयो’ बुढाले भने, ‘अहिले योजनालाई तीन भागमा बाँडेर निर्माण सम्पन्न भयो ।’ तत्कालिन जिविस, खानेपानी तथा सरसफाई डिभिजन र अन्य धेरै गैरसरकारी संस्थालेपनि प्रारम्भिक सर्भे गरेपछि काम छाडेर जान्थे । कुनै संस्था लागत बढी भयो भन्दै तर्केका थिए भने कोही बिबाद छ भनेर तर्केको रासकोटीले बताए ।
ठूलो लगानी गर्नुपर्ने भएपछि कसैलेपनि हात हाल्न नसकेको यो योजनामा नेपाल स्वास्थ्यकालागि पानी (नेवा)ले काम गरेको हो । पात्लेका लागि नेवाले दुइ बर्ष लगाएर यहाँका ४१ घरमा खानेपानी पु¥याएको बुढाले बताए । ४१ घर मध्ये २१ घरमा अहिले घरघरमै धारा जडान भएको छ । बाँकी २० घरमा निर्माणाधिन छ । ती मध्ये ६ घरलाई भने १ सय ५१ मीटर उचाइमा लिफ्ट गरेको पानी खुवाइएको नेवाका क्षेत्रीय प्रवन्धक कुमार सिलवालले बताए । यो आयोजनाबाट ३ सय १ जनाले पानी खान पाएका छन् ।
यो आयोजनाकालागि निगालपानी भन्ने स्थानबाट ११ हजार ८ सयमीटर लामो पाइपलाइन बिच्छ्याएर पानी ल्याइएको हो । ३९ लाख ७८ हजार रुपैयाँको लागतमा निर्मित आयोजना बनेपछि स्थानीयले खुसीयाली मनाएका छन् । ‘अझै यहाँको केही बस्तीमा खानेपानी पु¥याउन बाँकी छ’ बुढाले भने, ‘अर्को बर्ष सम्म सबै गाउँमा खुसीयाली ल्याउने गरी काम गर्दैछौं ।’ आयोजनाकालागि उपभोक्ताले पाइपलाइन खन्ने काममा श्रमदान गरेका थिए । यो आयोजनामा ४ हजार लीटरको रिर्जर्भ ट्यांकी र २ हजार र १ हजारका अन्य ५ वटा बितरण ट्यांकी बनाइएको छ । ५ वटा सोलार प्यानल र १ दशमलब ५ हर्सपावरको मोटर समेत जडान गरिएको हो । शुद्द पानी अभावमा बर्षेनी धेरै बालबालिका बिरामी पर्ने समस्या समेत उनीहरुले भोगेको बिकले बताइन् । अहिले ल्याएको पानी भने शुद्द र पिउन योग्य भएको परीषण समेत गरिसकिएको नेवाका कार्यक्रम अधिकृत महेन्द्र कोइरालाले बताए ।





