बागलुङ, १९ कात्तिक– सोमबार रातीदेखि बागलुङ नगरपालिकाको वडा नं. १ देखि ४ सम्म लकडाउनको घोषणा गरिएको छ । समुदाय स्तरमा संक्रमणको दर उच्च भएपछि जिल्ला संकट व्यवस्थापन समितिले गरेको लकडाउनमा मंगलवार बागलुङ बजार सुनसान बनेको छ ।
लकडाउन कार्यान्वयन गराउने मूख्य जिम्मेबारी पाएको प्रहरीले नयाँ बिधिको प्रयोग गर्दै बजार निस्केको देखिएको छ । सामान्य समयमा भन्दा केही बढी जनशक्ति परिचालन गरेको प्रहरीले नमस्कार गरेर सन्देश दिने कुरालाई आफ्नो मुख्य हतियार बनाएको छ । ‘निर्णय भएपछि कार्यान्वयन गर्नुपर्यो, सबैकोलागि हो, हामीले नमस्कार गरेर अवारनेसका सन्देशहरु पस्किन्छौं’ प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठ भन्छन् ‘उलंघन गरेर पक्राउ गर्नुपर्ने परिस्थिति पनि छैन, सम्झाउँदा मात्रै सबैले मान्नुभएकै छ ।’ बिहान दुईघण्टाकालागि खुल्ला गर्ने भनिएका अत्यावस्यक बस्तु तथा सेवाका पसलहरु खुलेका भएपनि मापदण्ड पालना भएको उनले दावी गरे । ‘जबरजस्त प्रहरीले गर्दैन, बच्नु र बचाउनु सबैको दायीत्व हो नि’ श्रेष्ठ भन्छन् ‘हामी मात्रै धेरै सकृय भएका छौं, सावधानिलेनै कोरोना संक्रमणको चेन तोडिन्छ भनेर सरोकारवालले भन्नुभएकै छ ।’ बागलुङ बजारका केही व्यवसायी, राजनितिकर्मी, कर्मचारी, जनप्रतिनिधी र पत्रकारमा कोरोना संक्रमण देखिएपछि उद्योग बाणिज्य संघ बागलुङको अनुरोधमा बागलुङ नगरपालिकाले बन्दाबन्दीकालागि जिल्ला संकट व्यवस्थापन समितिलाई सिफारिस गरेपछि एक साताका लागि लकडाउन भएको हो । कोरोना महामारी थप फैलिनकालागि रोक्न भएको प्रयासमा पहिलो दिन सबैले साथ दिएको स्थानीयले बताए । यसअघि उद्योग बाणिज्य संघले १४ दिन बन्दाबन्दी (लकडाउन) कालागि स्थानीय प्रशासन र बागलुङ नगरपालिकालाई अनुरोध गर्दै पत्रचार गरेको थियो ।





