मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बाढीपहिरो पीडित भन्छन् : ‘चिसो बढ्यो बास चाहियो’

बाढीपहिरो पीडित भन्छन् : ‘चिसो बढ्यो बास चाहियो’


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०७७, बुधबार

बागलुङ, १९ कात्तिक– भदौ १७ गते भुजी खोलामा बाढीपहिरो नआएको भए यतिवेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङबासी बेसी झरीरहेका हुन्थे । बर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र खेतीपाती गर्ने र हिउँदमा बोबाङ झरेर चिसो छल्थे उनीहरु ।
ढोरपाटन नगरपालिका–७, ८ र ९का अधिकांश स्थानीयको बसाई घुम्ती हुन्छ । हरेक बर्ष ६÷६ महिनामा हुने तलमाथीको बसाई यो बर्षहुने की नहुने भन्नेमा उनीहरु चिन्तित छन् । हिउँदमा बेसीझरेर बस्ने भुजीखोला छेउका घरहरु यो बर्ष बाढीपहिरोले बगेका छन् । तीनै घरमा भएका आफन्तसहित मासिएका घरहरु सम्झनामा मात्रै रहेका छन् । भदौ १७ गतेको बाढीपहिरोका कारण क्षति भएका घरका परिवारले चिसो बढेसँगै यो बर्षको हिउँद कसरी कटाउने भन्ने बिषयमा चिन्ता गर्न थालेका छन् । खोला छेउका १ सय २७ घर परिवार बिस्थापित छन् ।
बाढी पहिरो गएको दुई महिना समय बित्यो तर पीडितहरुको बास त्रिपाल मुनी छ । पीडितको राहतका लागि नगद, खाद्यान्न, लत्ताकपडा र अन्य बन्दोबस्तीका सामग्री बोकेर धेरै संघसंस्था, व्यक्ति तथा समुहहरु ढोरपाटन पुगे । नेपाल सरकारले बागलुङलाई बिपदग्रस्त क्षेत्र घोषणा गरेर पुन निर्माणको काम गर्ने भन्यो तर घोषणा भएको डेढ महिना पुग्दा समेत अहिलेसम्म जिल्लामा यसको अनुभूति बाढीपीडितहरूले पाउन सकेका छैनन् ।
केहीदिनदेखि जाडो बढेपछि बागलुङका बाढीपीडितहरू आफुलाई बस्ने घर बनाइदिन सरकार सँग माग गर्न थालेका छन् । ‘चिसो पाल मुनी कटाउन सकिन्न, सरकारले कहिले बनाईदेला खै घर’ पीडित चन्द्रा पुनले भनिन् ‘आँफै बनाउन सक्ने अबस्था छैन्, चिसो कसरी कटाउनु ।’ केहीदिनदेखि अत्याधिक चिसो बढेपछि छिटो घर बनाउने प्रकृया थाल्न उनले आग्रह गरिन् । ‘छिमेकमा बसेको पनि दुइ महिना भयो, चिसोमा सबैलाई सुविधा पुग्दैन’ पीडित भिम बहादुर सुनारले भने ‘दिन त घाम तापेर कट्ला रात कसरी कटाउनु ।’ ढोरपाटन नगरपालिकाले पीडितका घर बनाउने कामकालागि संघीय र प्रदेश सरकारका कार्यक्रम कुरेर बसेको छ । ‘केन्द्रीय बिपत व्यवस्थापन समितिको सिफारिसमा गृहले बिपत ग्रस्त क्षेत्र घोषणा गरेकाले हामीले उहाँहरुको कार्यबिधि पर्खिँदा ढिला भएको हो’ ढोरपाटन नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत डिल्लिराम भट्टराईले भने ‘संघ र प्रदेशको कार्यक्रम आएपछि हाम्रो रणनीति बनाउँला भनेर कुर्दा ढिला हुने भयो ।’
संघीय सरकारले प्राबिधिक कार्यालय र प्रदेश सरकारले पूर्वाधार कार्यालयका इकाईनै स्थापना गर्ने भनेकाले योजना दोहोरीने अवस्था आउन नदिन आँफुहरु कुरेर बसेको उनको दावी थियो । ‘सबै त्रिपाल मुनी हुनुहुन्न, घुम्ती बसाई भएकाहरुको खर्कमा घर छ’ भट्टराईले भने ‘चिसो जोगाउने अरु उपाया लगाउँछौं, थप पीडा बोध हुन दिन्नौं ।’ बागलुङ जिल्ला भर यस बर्ष ५ सय ९० घरमा बाढी पहिरोले क्षति पु¥याएको बिबरण जिल्ला प्रशासन कर्यालयसँग छ । कतिपय पालिकाको तथ्यांक अझै बढ्न सक्छ । ढोरपाटन नगरपालिकाले पीडितको पुनस्थापनाकालागि स्थापना गरेको कोषमा हालसम्म २ करोड रुपैयाँ भन्दा धेरै रकम जम्मा भएको छ । तर त्यो रकमको परिचालन गरेर राहत र पुनस्थापनकालागि भने नगरले बिधिनै बनाएको छैन् । चामल, दाल, नुन, तेल, लत्ताकपडा, भाँडावर्तन जस्ता सामग्री प्रसस्तै पाएपनि ओत लाग्ने घर नहुँदा समस्या भएको पीडितहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->