बागलुङ, २१ कात्तिक– काठमाण्डांैबाट फर्किएपछि स्वास्थ्य असामान्य भयो । नजिकैको स्वास्थ्य केन्द्रमा गरिएको उपचार र घरमै ९ दिनसम्म एकान्तबास बस्दा केही नलागेपछि धौलागिरी अस्पताल आएको २३ दिन बित्यो । असोज २९ गते आईसोलेसनमा शंकास्पद बिरामीको रुपमा भर्ना भएकी काठेखोला गाउँपालिका–८ लेखानीकी अध्यक्ष चित्रकला श्रीषलाई कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसयता उनी अस्पतालको आईसोलेसनमा स्वास्थ्यलाभ गरिरहेकी छन् । आईसोलेसनमा रहेकी श्रीष आफ्नो मात्रै ख्याल गर्दिनन् अन्य बिरामीको हेरचाहमा उत्तिकै सक्रिय छिन् । उनी मात्रै होईन बागलुङ नगरपालिकाले रात्माटामा बनाएको आईसोलेसनमा नगरका संक्रमित स्वास्थ्यकर्मी डिल्ली आचार्य पनि अरु बिरामीको रेखदेखमा खट्छन् । नखुलेका बागलुङ बजारका एक व्यवसायी र अधिकारकर्मी महिलाले समेत आईसोलेसनमा भएका अरु बिरामीको रेखदेख, सोधखोज र हौसला बाँड्ने काम गरिरहेका छन् ।
‘मैले घरमै अप्ठ्यारा दिनहरु कटाएँ, अस्पताल आएपछि कुनै समस्या छैन, पोजेटिभ रिपोर्ट आईरहेकाले बाहिर निस्किन पाएको छैन्’ वडाध्यक्ष श्रीष भन्छिन् ‘हिजो हाम्रै गाउँका एक जना बुबा संक्रमित भएर आउनु भो, उहाँलाई केयरको खाँचो छ, हेरेर बस्न मन मानेन् ।’ अस्पतालले बिरामीको अक्सिजन हेर्ने अटोमेटिक मेसिन दिएको छ ।
सोही मेसिनको माध्यामबाट अक्सिजन हेर्ने र अन्य समस्या भए नभएको विषयमा पटक पटक सोधीखोजी गर्ने काम उनीहरु गर्छन् । ‘उच्च सावधानीका साथ ख्याल गरिरहेका छौं’ श्रीष भन्छिन् ‘राम्रोसँग मास्क लगाउने, पञ्जा लगाउने र भेटेपछि साबुन पानीले हात धुने गर्छौं ।’ आँफुहरु संगै रहेका गम्भिर खालका बिरामीको ख्याल गर्नु मानवीय दायित्व भएको उनीहरु बताउँछन् । केही महिनाअघि आईसोलेसनमा पूर्ण सुरक्षित भएका स्वास्थ्यकर्मीबाहेक क्लोज सर्किट टेलिभिजन र मोबाईल फोनको माध्यमबाट मात्रै बिरामीको रेखदेख हुन्थ्यो ।
कोभिड–१९ का बिरामीको नजिक पर्न सबै डराउँथे । तर पछिल्लो समय आईसोलेसनमै रहेका बिरामीले एकअर्कालाई सघाउन थालेका छन् । ‘हौसला मात्रै दिन सकियो भने पनि साथ पाएको महशुस हुन्छ, यस्तो बेला चाहिने साथ हो’ श्रीष भन्छिन् ‘पहिले त बन्द कोठाबाट बाहिर निस्किनै दिएनन्, अहिले यस्तो छैन, आसपासका बिरामीमा हौसला दिन सकिन्छ ।’ उनले पछिल्लो पटक रेखदेख गरिरहेका संक्रमित ६५ वर्षिय पुरुष हुन् ।
उपचारको लागि भरतपुर पुगेका बेला उनलाई कोरोना संक्रमण भएको हो । पहिला तीन दिन बागलुङ नगरको आईसोलेसनमा बसेका उनको स्वास्थ्यमा जटिलता देखिएपछि धौलागिरी अस्पतालमा सारिएको छ । अक्सिजनको कमीका कारण बुधबार अक्सिजन लगाएपछि उनको स्वास्थ्यमा सुधार आएको छ । पछिल्लो विवरण अनुसार, धौलागिरी अस्पतालको आईसोलेसनमा १२ जना संक्रमित छन् । बागलुङ नगरपालिकाको रात्माटा आईसोलेसन केन्द्रमा भने ७ जना बिरामी स्वास्थ्यलाभ गरिरहेका छन् ।





