
बागलुङ, २२ कात्तिक– वर्षा रोकिएर हिउँदको आभाष हुने कात्तिक महिनामा बागलुङका अधिकांश टापुहरुको दृश्य मनमोहक नै हुन्छ । कतै सूर्योदयको अनुपम दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छभने कतै अग्ला पहाडबाट देखिने हिमश्रृंखला र खोँचका बस्तीको सुन्दर दृश्यले आन्तरिक पर्यटकहरुको मन लोभ्याउने गरेको छ ।
साविकको जिल्ला विकास समितिको पहुँच कम पुग्ने, नजिकमा भएका गाउँविकास समितिको स्रोत कम भएका कारण पर्यटनमा प्रतिफल लिन सकिने जिल्लाका कयौं टापुहरुको नत प्रचार हुन्थ्यो नत प्रर्वद्वन । राज्यको पुर्नसंरचना भएर गठन भएका स्थानीय तहहरुले आफ्ना क्षेत्रका यस्ता टापुहरुको पहिचान, प्रचार र प्रर्वद्वन थालेका छन् ।
बागलुङमा यस्ता टापुहरुको प्रर्वद्वनमा युवा पुस्ताको सक्रियता पनि लोभलाग्दो छ । केही दिनअघि पत्रकार र पर्यटन प्रर्वद्वनमा सक्रिय ‘घुमन्ते समुह’मा आवद्ध युवाहरुको समुह जिल्लाको जैमिनी नगरपालिका–७ जैदी, ८ छिस्ती र १० राङखानीको सीमामा पर्ने हाँडीकोट पुग्यो । त्यहाँबाट देखिने हिमश्रृंखला र सूर्योदयको चर्चा सेलाएको छैन् । घामको सुनौलो किरण हिमालमा पोखिँदाको दृश्यले युवाहरुलाई लालाहित बनायो । उनीहरु फर्किएपछि पस्किएका सामग्रीले हाँडीकोट पुग्ने इच्छा देखाएको बताउँछन् पत्रकार सज्जनकुमार सिंह ।
पर्यटनको प्रबल सम्भावना भएर पनि हाँडीकोट ओझेलमा परेको उनको भनाई छ । पर्यटकीय हाँडीकोटबाट सूर्योदय र सूर्यास्तसँगै मनोरम हिमश्रंखलाको अवलोकन गर्न सकिन्छ । त्यहाँबाट पाल्पा, बुटवलसम्मका भू–भाग देखिन्छन् । जडिबुटी, वन पैदावर, दुर्लभ चरा र वन्यजन्तुको बासस्थान हाँडिकोटको अर्को विशेषता हो ।
२१९५ मिटरको उचाइमा अवस्थित हाँडीकोट पर्यटकीय पूर्वाधार र प्रचारप्रसारको कमीले पछाडि परेको स्थानीय बताउँछन् । जैमिनीले पदमार्ग र सडक मार्गमार्फत हाँडीकोट जोड्ने प्रयास गरेको छ । हरेक वर्ष पदमार्गको लागि लगानी भैरहेको र बृहत योजना बनाएर हाँडीकोट विकासमा लागेको नगर उपप्रमुख लिला राना बताउँछन् । ‘यो जैमिनीको आर्थिक समृद्धिको आधार पनि हो’ उनी थप्छन् ।
बागलुङको बरेङ, गुल्मीको कालीगण्डकी र चन्द्रकोट गाँउपालिकाको सिमानामा पर्छ कौडेको धुरी । हाँडीकोटजस्तै कौडेको धुरी पनि सूर्योदय र हिमश्रृंखला देखिने दक्षिण बागलुङको अर्को टापु हो । केहि दिनअघि त्यहीं टापुबाट पहिलोपटक बरेङ गाउँपालिका स्वास्थ्य संयोजक पदम बहादुर पुनले सूर्योदय देखे । २१०० मिटरको उचाईमा रहेको सिग्दी होम स्टेदेखि करिब दुई घण्टाको पदयात्रापछि कौडेकोे धुरी पुगिन्छ । बिहान ६ बजेर १९ मिनेटमा कौडे पुगेका पुनलगायतका युवाहरुले पूर्वि छितिजमा उदाएको सूर्य र पश्चिम छितिजमा अस्ताउँदै गरेको चन्द्र एकैपटक देखे, जुन दृष्य निकै मनमोहक थियो ।
पछिल्लो समय कौडेमा पुग्न चाहनेहरुको निकै ठुलो जमात छ । त्यहाँबाट पर्वत, स्याङजा, पोखरा, पाल्पा, बुटवल, अर्घाखाँचीसम्मका भू–भाग देखिन्छन् । कुनै बेला बाईसे÷चौबिसे राजाले त्यस क्षेत्रबाट शासन चलाएको इतिहासमा उल्लेख छ भने लडाई गर्दा आफुहरु सरक्षित रहने बंकरहरु र आफ्ना सेनाहरु परेड खेल्ने ठाँउको अवशेष पनि रहेको छ ।
जडीबुटी र वन पैदावरका दृष्टिले पनि कौडेकोे धुरी धनी छ । दुर्लभ चराचुरुङ्गी र मृग, बँदेलजस्ता वन्यजन्तुको बासस्थान रहेको तथा २ हजार ६ सय ५० मिटरको उचाइमा अवस्थित कौडेको लेक पर्यटकीय पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको स्थानीय बताउँछन् । बरेङ गाउँपालिकाले कौडेको विकासका लागि हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको छ ।
‘विनियोजित रकमले पदमार्ग निर्माण गरिएको छ तर पर्याप्त भएन’ सिग्दी सामुदायीक घरबासका अध्यक्ष हिराबहादुर पुन भन्छन् ‘यहाँ तत्कालै गर्नुपर्ने धेरै काम छन्, खानेपानी, शौचालय र खाजा खानेसम्म ठाउँ छैन, होमस्टेदेखि नै व्यवस्था मिलाउने गरेको छ ।’
स्थानीय सरकारको लगानी र युवाहरुको सक्रियताले पर्यटकीय टापुहरुको विस्तारै प्रचार प्रसार र पहिचान हुन थालेको कौडेको धुरी पुगेका पत्रकार प्रकाश छन्त्याल बताउँछन् । ‘अथाह सम्भावना छन्, तर बेवास्ता भैरहेको छ’ छन्त्याल भन्छन् ‘कौडे र हाँडीकोटजस्ता धुरी बिदा मनाउनेका लागि उपयुक्त गन्तव्य हुन् ।’ सरकारका तीनै तहले यस्ता पर्यटकीय क्षेत्रमा लगानी बढाउनुपर्ने घरबासका अध्यक्ष पुन बताउँछन् ।





