बागलुङ, २२ कात्तिक– अध्ययनले कानुन पढेकी गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचा हरेक औपचारिक कार्यक्रममा महिलाको आर्थिक अवस्थालाई जोडेर भाषण गर्छिन् । ‘महिला उद्यमी भएनन्, नेतृत्व विकास र आर्थिक हिसाबले सक्षम नभए उनीहरु सधैं कमजोर हुन्छन्, अब हामी उद्यमी बनौं, आयआर्जनसँग जोडियौं र बलियो बनौं ।’
उनको भाषणमा प्रायः नछुट्ने यो शव्दावलीलाई व्यवहारिक बनाउन चालु आर्थिक वर्षमा गलकोट नगरपालिकाको नीति तथा कार्यक्रम बजेमा सम्बोधन गरियो । नगरपालिकाले ‘महिलासँग उपप्रमुख’ नाम दिएको कार्याक्रम कार्यान्वयनमा ल्याएको छ । महिलालाई उद्यमी बनाउने, बोल्न सिकाउनेदेखि उनीहरुका हरेक आर्थिक क्रियाकलापमा अनुदान सहयोग गर्नेसम्मका कार्यक्रम नगरपालिकाले बनाएको छ ।
चालु वर्षमा ४० लाख रुपैयाँ बजेट यो कार्यक्रमको लागि छुट्टाईएको उपप्रमुख काउचा बताउँछिन् । ‘परिवर्तनका निमित्त स–साना प्रयास पनि साधन हुनसक्छन्’ काउचा भन्छिन् ‘हामीले यहाँका महिलालाई आर्थिक रुपमा बलियो बनाउँदा, उद्यमसँग जोडिँदा सबैलाई फाईदा हुन्छ ।’
आर्थिक रुपमा कमजोर परिवारका महिलायलाई नगरले प्राथमिकतामा राख्ने भनेको छ । नगरले बनाएको कार्यविधिका आधारमा बजेट र लाभग्राहीको भेट हुनेछ । गलकोटले महिलाको संवेदनालाई पनि सम्बोधन गरेर दुई वर्षअघिदेखि गर्भ जाँच्नेलाई भत्ता र सुत्केरी हुन नगर बाहिर जानुपरे गाडी भाडाको प्रबन्धसमेत गर्छ ।
‘न्युन आय भएका परिवारका लागि हामीले उपलव्ध गराउने पोषण भत्ता र यातायात खर्च निकै लाभदायक हुन्छ’ नगरप्रमुख भरत शर्मा गैरे भन्छन् ‘नगरले दायित्व पुरा गरेको हो, हाम्रा मातृशिशु संरक्षणमा दिर्घकालिन प्रभाव देखिन्छ ।’ चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भजाँच गराउने गर्भवतीलाई नगरले ४ हजार ५ सय रुपैयाँ प्रोत्साहन दिन्छ । जसलाई पोषण भत्ता भनिएको छ ।
लामो समय राजनीतिमा बिताएकी जिल्लाको बरेङ गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुन पनि महिलामैत्री नेतृ हुन् । उनले यो वा त्यो ढंगबाट महिलाहरुको आर्थिक उन्नतीसँग जोडिएका योजना सुनाउँछिन् । गाउँपालिकामा ‘एक घर, एक महिला रोजगार’ कार्यक्रम सुरु भएको छ ।
महिलाहरुलाई आर्थिक अधिकार प्रदान गर्ने र आत्मनिर्भर बनाउने उद्देश्यले एक घर एक महिला रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा बताउँछन् । गाउँ कार्यपालिकाको बैठकले महिलालाई आर्थिक गतिविधि र क्रियाकलापमा सहभागी गराई आर्थिक रुपमा आत्मनिर्भर गराउन कार्यक्रम संचालनमा ल्याएको हो ।
गाउँपालिकाका कुनै पनि वित्तीय संस्थाबाट पाँच लाखसम्म ऋण लिँदा त्यसको ६ प्रतिशत ब्याज गाउँपालिकाले तिर्नेगरी कार्यक्रम गाउँपालिकाले ल्याएको छ । बैंक तथा वित्तीय संस्थाले ऋण पत्याउने गरी कार्ययोजना महिला आफैँले बनाउनु पर्छ । ‘योजना अनुसारको काम हुँदा आयआर्जन हुन्छ, त्यसले महिलालाई आर्थिक रुपमा बलियो बनाउँछ’ थापा भन्छन् ‘उहाँहरुले यो गर्छु भनेर आउँदा कार्यान्वयन हुने पक्ष बलियो हुन्छ ।’
पहिलो चरणको कार्यक्रमका लागि गाउँपालिकाले ३ लाख रकम विनियोजन गरेको छ । आवश्यकता र प्रभावकारिताको आधारमा आगामी आर्थिक वर्षमा समेत यस कार्यक्रमको लागि रकम थप गर्दै जाने पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । सुत्केरीलाई रातो भाले र ध्यु उपहारजस्ता कार्यक्रम पनि गाउँपालिकासँग छन् ।
जिल्लाको काठेखोला गाउँपालिकाले महिलाको नेतृत्व विकास र मातृशिशु मृत्युदर घटाउने कार्यक्रम प्राथमिकतामा राखेको छ । गर्भवतीलाई स्वास्थ्य संस्थामा जाँच गराउन प्रोत्साहन गर्ने कार्यक्रम प्राथमिकतामै रहेको गाउँपालिका अध्यक्ष अमर थापा बताउँछन् । महिलाहरुको आर्थिक विकाससँग जोडिएर कृषि र पशुपालनका क्षेत्रमा महिला सहभागि उद्यमलाई गाउँपालिकाले सुविधामा विशेष व्यवस्था मिलाएको उनी बताउँछन् ।
प्रोत्साहन र पोषणका लागि मात्रै गाउँपालिकाले ३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । स्थानीय सरकारले सञ्चालन गर्ने कार्यक्रममा महिला लक्षित कार्यक्रमहरु प्राथमिकतामा पर्दा महिलाहरु खुसी छन् ।





