बागलुङ, २२ कात्तिक– जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका वडा नं. ४ ठुलाश्वाराबाट शनिबार नगदसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । ठुलाश्वारका खडानन्द आचार्यको खाली घरमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बागलुङ नगरपालिका वडा नं. ४ का २४ वर्षिय सुरेश केसी, ३२ वर्षिय राजन आचार्य, ३२ बर्षिय सन्तोष केसी, २६ वर्षिय यमबहादुर केसी, ४० वर्षिय ज्ञान बहादुर कार्की तथा वडा नं. ६ का ३७ वर्षिय कृष्ण बहादुर कार्की र वडा नं. ३ का २९ वर्षिय तेज बिक्रम क्षेत्री रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले ५४ हजार ७ सय १० रुपैयाँ बरामद गरेको प्रहरी नायव उपरीक्ष राजेन्द्र रेग्मीले बताए । उनीहरुलाई म्याद थपेर प्रहरीले अनुसन्धान थालेको छ । सुराकीको आधारमा प्रहरीले उनीहरु रंगेहात पक्राउ परेका हुन् ।





