मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बुर्तिवाङ बजारमा बसपार्क अभाव

बुर्तिवाङ बजारमा बसपार्क अभाव

यहाँको उत्तरगंगा मावि भत्काएर अन्यत्र सारेपछि २० वर्षअघि यहाँ बसपार्कको रुपमा सम्याइएको थियो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०७७, आइतबार
बागलुङको ढोरपाटन नगरपालिका १ को बुर्तिवाङ बसपार्क । साँघुरो भएपछि नगरपालिकाले बसपार्क सार्दैछ । तस्बिर : ढोरपाटन न्युज

बागलुङ, २३ कात्तिक– राजधानी काठमाण्डौ, बुटवल, पोखरा, पाल्पा र सदरमुकाम बागलुङबाट समेत नियमित सवारी चल्ने बुर्तिवाङ अहिले भीड र ट्राफिक जाम हुने बजारमा पर्न थालेको छ । सदरमुकामभन्दा बुर्तिवाङ बजारमा बढी सवारी साधन र मानिसको भीड देखिन्छ ।
कोरोना संक्रमणका कारण भीड कम गर्ने विषय एकातर्फ छ तर साँघुरा गल्ली, बसपार्क र अन्य सवारी साधन पार्क गर्ने स्थान अभाव तथा धेरै मानिसको एउटै व्यापारिक गन्तव्य बन्दै गएपछि भीड बढेको हो । बुर्तिवाङमा हाल संचालनमा रहेको बसपार्कले दैनिक रुटमा गुड्ने बसका लागि पनि थेग्न नसकेको स्थानीयले बताए ।
त्यसका लागि नयाँ बसपार्क निर्माणधिन छ तर अलपत्र भएपछि भीड नियन्त्रण हुन नसकेको हो । दैनिक आउजाउ गर्ने र अर्को दिनको पालो पर्खनुपर्ने बसले ठाउँ पाउनै छाडेपछि नगरपालिकाले ५ रोपनी जमिन खरिद गरेर बसपार्क बनाउन लागेकोमा अझै अलपत्र छ । नगरपालिकाले वडा नं. १ को खप्तरीबाङमा बसपार्कको डिपिआर बनाएको दाबी गरेको छ । काम भने अझै सुरु भएको छैन । भीडले गर्दा कोरोना संक्रमणको जोखिमसमेत अत्याधिक भएको स्थानीय पत्रकार छविलाल पाण्डेले बताए ।
यहा“को उत्तरगंगा मावि भत्काएर अन्यत्र सारेपछि २० वर्षअघि यहाँ बसपार्कको रुपमा सम्याइएको थियो । पहिला जिप मात्रै चल्दा यो पार्कले थेगेको थियो । अहिले दैनिक दर्जनौं बस चल्न थालेका छन् । बुर्तिवाङलाई केन्द्र मानेर तमान, भुजीखोला र निसीखोलामा पनि छोटो दुरीका बस चल्छन् । यहाँबाट सदरमुकामसहित पोखरा, काठमाण्डौ, बुटवललगायतका सहरमा नियमित बस र जिप सेवा संचालनमा छ ।
बीस वर्षअघिदेखि प्रयोग भैरहेको बसपार्क छेउमा घर बन्ने क्रम बढेपछि साँघुरो भएर नयाँ बसपार्कको तयारी थालिएको वडा नं. १ का अध्यक्ष चित्रबहादुर भण्डारीले बताए । ‘पाँच रोपनी भनेपनि पार्क गरेको ठाउँ ३ रोपनी मात्रै छ’ भण्डारीले भने, ‘बस रोकेर राख्ने ठाउँ नपुगेपछि अर्को पार्कको तयारी गरेका हौं ।’ ‘व्यक्तिगत रुपमा कसैले जमिन मिचेको छैन, घरहरु बढ्न थालेपछि साँघुरो भएकोले बजारभन्दा केही पर लैजान खोजेका हौं’ भण्डारीले थपे ।
बजार आएका पर्यटकले एकैछिन भुल्ने फुलबारी र पार्क पनि नभएकोले बसपार्क सार्नु परेको नगर प्रमुख देबकुमार नेपालीको भनाई छ । ‘बसपार्क पूर्ण रुपमा सारियो भने बजारको बीचमा फुलबारी बनाउने योजना छ’ नेपालीले भने, ‘पर्यटकीय आर्कषणको लागि पनि बसपार्क सार्नु परेको हो ।’ चालु वर्ष बसपार्कको डिपिआर सकेर टेण्डरमा जाने उनले बताए ।
बजारको बीचमा भन्दा केही पर बसपार्क बनाएमा जिप, रिक्सा र भरियालाई रोजगारी मिलाउन बसपार्क छुट्टै चाहिने उनको भनाइ छ । अतिक्रमणमा परेको जमिन पनि खोजी गर्ने नेपालीले बताए ।
यहा“ संचालित नमूना सहरी आयोजनाले पनि जग्गाको खोजी गरिरहेको छ । आयोजाले गतवर्षनै सूचना प्रकाशित गरेर अतिक्रमण भएको क्षेत्रमा घरटहरा हटाउन भनेको थियो । उक्त सूचनापछि व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन । मध्यपहाडी लोकमार्गले पनि १० वटा नमूना शहर बनाउनेमध्ये बुर्तिवाङ परेको हो । नमूना शहरले पनि तोकिएका मापदण्ड पुरा गरेर स्मार्ट सिटी बनाउने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->