नेपालको संघीय राजधानी काठमाडौं र अमेरिकाको राजधानी वासिब्टन डिसीबीच १२ हजार २८८ किलोमिटर रहेको छ । तर, सानो हिमाली देश नेपालमा अमेरिका सधैं चर्चामै रहने गर्छ ।अमेरिकीले नेपालबारे कम जानकारी राखे पनि नेपालीहरु अमेरिकाप्रति बढी नै चासो राख्छन् । असल छिमेकी, शक्तिराष्ट्र, सपनाको देश, दातामध्येको एक भएर मात्रै हैन साम्राज्यवादीशक्तिको रुपमा पनि अमेरिका नेपालमा चर्चामा आउँछ । पछिल्लो एउटा सहयोग परियोजनाका कारण अमेरिका नेपालमा चर्चामा थियो । त्यहीबीचमा अमेरिकामा राष्ट्रपतिको चुनाव आयो । जहाँको भए पनि चुनाव लाग्नु नेपालीको विशेषता हो । पछिल्लो अमेरिकी राष्ट्रपतिको चुनाव यहाँका चियापसलको चुस्की बन्यो भने भव्य डिनरहरुमा सितनको रुपमा प्रवेश पायो । धेरै युवाहरुको । सपनाको देश’ अमेरिकामा भएका नेपाली आप्रवासीहरुले यो चर्चालाई अझ गाढा बनाइदिए ।
अमेरिकामा रहेका नेपालीहरु स्वभावतः विभाजन नचाहने र आप्रवासीप्रति उदार मानिएका पूर्वउपराष्ट्रपति जो वाइडनप्रति झुकाव राख्थे । धेरै नेपालीले त्यही बाटो रोजे र आफूलाई वाइडनको पक्षमा उभ्याए । जो वाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने पक्का भएको छ । वहालवाला राष्ट्रपति डोनाल्ड ट्रपलाई हराउँदै वाइडेनको इटहाउस यात्रालाई संसारभर विभिन्न कोणबाट व्याख्या भइरहेको छ ।
अमेरिकी चुनावको यो नतिजा वाइडनको पक्षमा गएको भन्दा पनि किन ट्रपले हारे ? भन्ने प्रश्नबारे अहिलेको चर्चा घुमिरहेको छ । हो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपको ४ वर्षे कार्यकाल विवादै–विवादले जेलिएको थियो । अमेरिकी गोराहरुको प्रतिनिधित्व गर्ने विभाजनको राजनीति गर्थे, उनी गोरा समूहका नेता थिए अनि अमेरिकालाई बलियो बनाउने नीतिको वकालत गर्थे । अमेरिकाभन्दा बाहिर संसार नै छैन भन्ने उनी अन्धराष्ट्रवाद,अतिवाद तथा संकीर्णता रुचाउँथे । विभाजनको रेखा कोर्ने तथा आप्रवासीप्रति अनुदार ट्रम्प आफ्ना अभिव्यक्तिले विश्व तरंगित पार्थे । विश्व स्वास्थ्य संगठनको अस्तित्व अस्वीकार गर्नेदेखि जलवायू परिवर्तनसम्बन्धी सम्झौताबाट पर हटने उनको निर्णय आलोच्य थियो नै, आन्तरिक व्यवस्थापनमा पनि उनी कमजोर देखिए । खासगरि कोरोना महामारी रोक्ने सवालमा उनी चुक्न पुगे । विज्ञानले प्रमाणित गरेका तथ्यहरुलाई आफू अनुकूल व्याख्या गर्न र त्यसलाई चुनौति दिन पनि उनी चुकेनन् । जसले गर्दा उनी जनतामाझ अलोकप्रिय ठहरिए । आप्रवासी कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका वाइडेनले ट्रपको यही कमजोरीमाथि प्रहार गरे ।
उनले विभाजित अमेरिकी समाजबाट घृणालाई पर हटाउने उद्घोष गरे अनि चुनावमा स्पष्ट बहुमत प्राप्त गरे । अमेरिकामा जो राष्ट्रपति आए पनि विदेश नीतिमा खासै परिवर्तन हुँदैन । अमेरिका आफूलाई सधैं शक्तिराष्ट्र मान्छ र उसका नीतिहरु त्यही अनुरुप निर्देशित हुन्छन् । तर, आप्रवासीप्रति हेर्ने दृष्टिकोण, जलवायु परिवर्तनसम्बन्धी मुद्दालगायतका निर्णयहरुले नेपाललाई पनि प्रभावित पार्छ । सन् १९४६ अप्रिल २५ तारिखमा वाणिज्य तथा मैत्री सम्झौता भएपछि नै अमेरिका नेपालको असल मित्र रहँदै आएको छ । उसले गर्ने र गर्दै आएका सहयोगले नेपालको विकासमा ठूलो मद्दत पु¥याएको छ । सहयोगको निरन्तरता एकातिर छ भने अमेरिकी चुनावले विश्व राजनीतिमा दिएको सन्देश अर्को महत्वपूर्ण छ । अतिवाद,दक्षिणपन्थी राष्ट्रवाद तथा निषेधको राजनीतिमाथि अमेरिकी चुनावले ठूलो झापट दिएको छ । सिंगो विश्व लोकप्रियतावाद, जातिवाद र अन्ध राष्ट्रवादले गाँजिएको बेला ट्रम्पको हारले दक्षिण एसिया तथा नेपाललाई पनि ढिलोचाँडो प्रभावित भने गर्ने नै छ ।

