बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पाहुनाको स्वास्थ्य सुरक्षामा ध्यान देऊ

पाहुनाको स्वास्थ्य सुरक्षामा ध्यान देऊ


  • Dhorpatan News
  • कार्तिक २७ २०७७, बिहिबार

निश्चय पनि पर्यटकीय सहर हो, पोखरा । यो ठाउँमा आउनेहरु जापानी भिक्षु इकाई कावागुचीले जस्तै पोखरालाई भूधरातलको स्वर्ग नै मान्छन् । अमेरिकी गायक जोन लेननका चेलाचपेटा बनेर पोखरा छिरेका उहिलेका हिम्पी हुन् वा अहिलेका गोरा नै किन नहुन् ? पोखरालाई सबैले मन पराउँछन् । यही मन पराईसँग यहाँको पर्यटन अडिएको छ÷जोडिएको छ । पोखरा र तालतलैया, सुन्दर भूपरिदृष्य अनि अन्नपूर्ण र धौलागिरी हिमालले पोखरालाई विशिष्ठ पहिचान दिएको छ । अझ, यही प्रदेशमा पर्ने विश्वकै रुचाइएको अन्नपूर्ण पदयात्रा मार्ग तथा उपल्लो मुस्ताङ, मनास्लु अनि मुक्तिनाथको यात्राले पनि पोखरालाई घुम्नै पर्ने ठाउँ बनाएको छ ।
मान्छे आए, पोखरामा बास खोज्न थाले । बासको जोहो गर्नेहरुको आवश्यकतालाई पूरा गर्न यहाँ होटलहरु खुले । खाना खुवाउनैको लागि रेष्टुराँहरु जन्मे । पर्यटनमा ठूलै लगानी हुँदै गयो । लगानी अनुसारको प्रतिफलले व्यवसायीहरु उत्साहित बने । लगानी थपिँदै गयो । अहिले पोखरा र आसपासको क्षेत्रको पर्यटन व्यवसायमा अरबौंको लगानी भएको छ । विश्वमा नेपालको बढ्दो प्रचार, आन्तरिक पर्यटनको चाप एवं सरकारी तवरबाट घोषित भ्रमण वर्षजस्ता कार्यक्रमहरुले लगानी बढाउन सहायक भूमिका निर्वाह गरे । आशामुखी हुनु व्यवसायीको धर्म हो । लगानीकर्ताले त्यही धर्म निभाए अनि मन खुलेर पूर्वाधारमा लगानी गरे । भोलि पनि लगानी गर्नेछन् । किनकि, पर्यटन मर्नें छैन । तर, सोचेजस्तो नहुँदो रहेछ । गएको चैतदेखि नै यहाँको पर्यटन व्यवसाय ठप्प छ । यहाँको मात्रै हैन, विश्वकै पर्यटन उद्योगलाई कोभिड–१९ को महामारीले थिलोथिलो पारेको छ । कोरोनाका कारण मानिसहरु घरभित्रै बस्न बाध्य छन् । ज्यान रहे न सबथोक हुने हो । व्यवसायी र घुम्न चाहने दुबै वर्ग यतिबेला कसरी ज्यान जोगाउने भन्नेमा छन् । कोभिडले पर्यटनमा पारेको मारले पोखराको गुल्जार मानिने लेकसाइड मात्रै हैन,अन्नपूर्ण पदयात्रा मार्ग, मुक्तिनाथलगायतका सबै क्षेत्र खालि छन् । पर्यटनमा गरिएको लगानीको किस्ता र ब्याज कसरी तिर्ने भन्ने समस्या एकातिर छ भने पलायनको दर पनि बढेकै छ । रोजगारी गुमाउनुको पीडा मजदुरलाई मात्रै थाहा छ । यी दुःखका कथाहरु अनेकौं छन् । तर, समाधानको उपाय निस्केको छैन । कोभिडको भ्याक्सिन बनेको छैन । लकडाउन, निषेधाज्ञापछि खुलेको पर्यटनले अझै गति लिन सकेको छैन । खुल्नको लागि खुलेका होटल र रेष्टुराँहरुले खर्च धान्ने अवस्था छैन । अर्कोंतिर सुरक्षाको चिन्ता छँदैछ । यस्तोमा व्यवसायीहरु पर्ख र हेरको अवस्थामा बस्नु अन्यथा हैन । पर्यटनमा सुनौला दिन आउलान् । तर, अहिले व्यवसायीहरुलाई बाँच्ने आधार चाहिएको छ । सरकारबाट घोषित राहतका कार्यक्रमहरुको कार्यान्वनयले उनीहरुलाई संकटको बेला बचाउन सक्छ । अतः सरकारले घोषित कार्यक्रम तत्काल लागु गर्ने तत्परता देखाउनुपर्छ । अनन्तकालसम्म व्यवसाय बन्द गरिनु हुँदैन । व्यवसाय खुल्ला गरिनुपर्छ । तर, यसो भनिरहँदा सुरक्षामा लापरवाही गर्ने छुट भने कसैसँग छैन । व्यवसायीहरुले आफ्नो र आगन्तुक पाहुनाको स्वास्थ्य सुरक्षामा पनि ध्यान दिनैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->