तिहारकै छेकोमा नेपाल संवत ११४१ सुरु भएको छ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको पालामा राष्ट्रिय संवतको मान्यता पाएको यो दिनलाई नेवार समुदायले नया वर्षको रुपमा मनाउँदै आएका छन् । कात्तिक शुक्ल प्रतिपदाबाट सुरु हुने यो संवत चन्द्रमासमा आधारित छ । चन्द्रमासमा हुने घटबढले ठ्याक्कै तोकिएको कुनै निश्चित दिनबाट यो संवत सुरु हुँदैन, बरु चन्द्रमासको कात्तिक शुक्ल प्रतिपदासँग जोडिन्छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ मा सुरु गरिएको यो संवत नेपालको मौलिक संवत हो । नेपाल संवतको मौलिकतासँग नायकत्वको खोजीको प्रसंग जोडिनु अर्को विशेषता हो ।
शंखधर साख्वाले गरीब जनताको ऋण मोचन गरेको दिनबाट नेपाल संवत सुरु हुन्छ । शंखधर साख्वा को थिए, उनले कसरी गरीब जनताको ऋण मोचन गरिदिए भन्नेमा फरक धारणा भए पनि सार एउटै छ । गरीब जनताको ऋण मोचनको जुन पवित्र कार्य सम्पादन भयो, त्यहाँबाट शंखधरको जयजयकार भयो । उनी एकाएक एक व्यापारीबाट नायक बने । उनी सबैका प्रिय र सम्मानित बने । उनको यही योगदानको कदर गर्दै २०४६ को जनआन्दोलनपछिका पहिलो प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा राष्ट्रिय विभूतिको दर्जा दिइयो । उनलाई राष्ट्रिय विभूतिको रुपमा बुझिए÷पढिए पनि उनी तत्काली समयका महानायक थिए भन्नेमा कुनै आशंका छैन ।
शंखधर साख्वाको समय नायकत्व खोजीको समय थियो । जनता गरिबीमा थिए । उनीहरु ऋणबाट मुक्ति तथा स्वाभिमानपूर्ण स्वतन्त्र जीवन चाहन्थे । तर, त्यो जनताको वशमा थिएन । जनताको त्यो चाहना शंखधरबाट पूरा भयो । उनी नायक बने । जनताको मन–मनमा विराजमान भए ।
हरेक विषमतामा जनतोले नायकत्वको खोजी गरेको हुन्छ । उनीहरु आफूले भोगेको त्रासदीबाट मुक्ति त चाहन्छन् । उनीहरु नायक जन्मियोस् भन्ने कामना गर्छन् । निरीहताले खोज्ने यस्तै हो । समय अहिले पनि उस्तै छ । नेपाली समाजले पटक–पटक नायकको खोजी गरिरहेको छ । उनीहरुले आफ्नो अभिमत दिएर कसैलाई नायक बनाउने प्रयत्न नगरेका हैनन् तर त्यो प्रयत्न विफल भएको छ । अहिलकै अवस्था हेर्ने हो भने पनि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट जनताले नायकत्वको अपेक्षा गरेका थिए । उनलाई नायक बनाएका थिए । तर, ओलीले जनताको अभिमत अनुसारको नायकत्व प्रदर्शन गरेनन्÷गरेका छैनन् । पार्टीभित्रको शक्तिसंघर्षमै अल्झिएर जनताका आकांक्षाप्रति अन्याय गर्दा उनले इतिहास र जनताले सुम्पेको नायक बन्ने अभिभाराबाट चुकेका छन् । निराश जनताले विद्रोह गर्न सक्दैनन् । उनीहरु मन अमिलिएको छ र त्यही मनले अर्को नायकको खोजी गरेको छ । कोभिड–१९को संक्रमणले त्राहीमाम् बनाएको बेला, संकटबाट उम्किने आशाका त्यान्द्राहरु चुँडिदै गएको बेला र भरोशा गरिएको नायक स्वखलित भएको बेला अर्को नायकको कल्पना गर्नु अन्यथा होइन । शंखधर साख्वाहरु खोज्नु अहिलेको अपरिहार्यता हो ।

