बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुन्तलामा देखिएको रोग त खुट्याऊ !

सुन्तलामा देखिएको रोग त खुट्याऊ !


  • Dhorpatan News
  • मंसिर ४ २०७७, बिहिबार

केहीवर्ष अघिसम्म लमजुङ रसिलो सुन्तलाको लागि प्रख्यात थियो । लमजुङको स्याउत,धिमिरेलगायतका गाउँका किसानहरु लाखौंको सुन्तला बेच्थे । सुन्तलाको कमाईबाट उत्साहित बनेका उनीहरुले धानखेत मासेर सुन्तला लगाए । किसान खुसी थिए, सुन्तला खेतिप्रति जिल्लाका सबैजसो भेगका किसानहरु आकर्षित भएका थिए । तर, उनीहरुको खुसी लामो समयसम्म टिक्न सकेन । सुन्तलामा एकाएक रोग देखियो । बोटहरु सुक्न थाले । फल लागे पनि झर्न थाल्यो । उनीहरुको सुन्तला बगैँचा हेर्दाहेर्दै सखाफ भयो । पुस–माघसम्म पहेँलपुर देखिने बारीहरु नाङ्गै भए । सुन्तलामा के रोग लाग्यो भन्नेबारे विभिन्न अनुसन्धान भए÷हुँदैछन् तर देशभर अमिलो फलफूलमाथि रोगले आक्रमण थालेको छ । यही समस्या पछिल्लो समय सुन्तलाको लागि प्रख्यात बनेको म्याग्दीको भकिम्ली हल्लेगौंडामा पनि देखिएको छ । हाँगाले नधानेर टेको लगाउनुपर्ने सुन्तलाका बोटहरु सुक्न थालेका छन् । सुन्तलामा औंसा लागेको छ । सुन्तलाबाट हुने आम्दानीमा निर्भर किसानहरु अहिले निराश बनेका छन् । कृषि प्राविधिकहरुका अनुसार म्याग्दीमा ‘व्याक्ट्रोसेरा मिनाक्स’ नामको कीराको संक्रमणले सुन्तला बालीमाथि आक्रमण गरिरहेको छ । यो किराको संक्रमण रोक्ने प्रयास भइरहेको पनि उनीहरुको भनाई छ । देशका अन्य क्षेत्रमा पनि समस्या यस्तै छ । ग्रिनिङ भाइरस,सिट्रस ग्रिनिङ जे भनिए पनि सुन्तलाको रुख टुप्पोबाट सुक्दै जाने यो रोगका कारण सुन्तला उत्पादन घटेको छ ।
सुन्तलामा देखिएको रोगले उत्पादन मात्रै घटेको छैन, कृषिप्रतिको मोहभंग गराउन सहायक भूमिका खेलेको छ । देशमा सुन्तला उत्पादन घट्दा भारतीय र अन्य देशबाट सुन्तला आयात गर्नुपर्ने भएको छ । कृषिमा आत्मनिर्भर हुने अभियानलाई धक्का लगाउने योभन्दा ठूलो समस्या के होला ? एकपटक दुःख पाएपछि, क्षति व्यहोरेपछि अक्सर मान्छेले त्यही काम दोहो¥याउँदैन । आम्दानी नहुने क्षेत्रमा लगानी गर्नु अर्थशास्त्रीय दृष्टिले उचित पनि हैन । यस्तोमा अमिलो फलफूल उत्पादन बढाउन, सुन्तला खेतीप्रति किसानको आकर्षण बढाउनको लागि गुणस्तरीय बिरुवा वितरण,कीरा नियन्त्रण तथा उत्पादनको सुनिश्चितता चाहिन्छ । यो काम व्यक्तिबाट सम्भव हुँदैन । राज्य अगाडि सर्नुपर्छ । सुन्तलामा प्रकोप देखिएको लामो समय भइसकेको छ । तर, रोगको निदानप्रति राज्य जति सक्रिय हुनुपर्ने हो त्यति नभएको किसानहरुको अनुभव छ । यो रोग लाग्यो वा यसो भयो भन्नु र त्यसको निदान गर्दै किसानलाई उत्पादनमा लगाउनु फरक कुरा हो । सरकारले आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिलाई विशेष जोड दिएको छ । प्रधानमन्त्री,मन्त्रीदेखि नेताहरुले कृषि कर्ममा लाग्नुपर्ने र कृषिबाटै देशको कायापलट हुने बताउँदै आएका छन् । तर, उनीहरु किसानका समस्याप्रति अनविज्ञ छनु् । नाराले समृद्धि आउँदैन । सुन्तलामा रोग देखिको वर्षौं भयो । किसानहरुको प्रश्न छ,‘खै त रोगको उपचार खोजेको,खै त हामीलाई पुनः यही खेतीमा लाग्न प्रोत्साहित गरेको ?’ यो प्रश्नको उत्तर कसैसँग छैन । प्रश्नको उत्तर खोज्नुपर्ने सरकारले नै हो । प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मका फुर्को जोडेर कृषि परियोजना संचालन गरेर मात्रै कृषिमा कायापलट हुँदैन । ठूला कुरा गरेर हुँदैन । कृषि मुखको नारा हैन भन्ने प्रमाणित गर्नको लागि कम्तिमा सुन्तलामा लागेको रोग के हो र निदान के हो भन्ने खुट्याउनुपर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->