बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरोना छल्दै दैनिकी

कोरोना छल्दै दैनिकी


  • Dhorpatan News
  • मंसिर ४ २०७७, बिहिबार

गत चैतेदशै देखि बिजया दशमी र तिहार सम्म नेपालीले पहिलाका बर्षझै रमझम गरेर मनाउन पाएनन् । दशैंमा आफन्तको घरमा टिका लगाउन समेत नगएका नेपालीले तिहारमा देउसी भैलोपनि खेलेनन् । लामो यात्रा ठप्प जस्तै छ । अत्यावस्यक काम परेर यात्रा गर्नेलेपनि फर्केर क्वारेन्टाइन बसेका छन् । सेल्फ क्वारेन्टाइन र आइसोलेसन अहिले नेपालीको नियमितता जस्तै भैसकेको छ ।
कोरोना संक्रमणको जोखिम र लामो समयको लकडाउनका बीच नेपालका सबै क्षेत्र ठप्प भए । यातायात क्षेत्रमा बस र जिपहरु चल्नै सकेनन् । बिद्यालयहरु अझै बन्द छन् । कलेजहरु खुलेका छैनन् । सामाजिक, धार्मिक तीर्थस्थहरु पनि खुलेका छैनन् । छिटफुट रुपमा खुल्न लागेका मठमन्दिर पनि प्रशासनले गृहमन्त्रालयको आदेश भन्दै बन्द गराएपछि असोज कात्तिक जस्ता पर्यटकीय महत्वका महिनाहरु आइसोलेसन जस्तै भए ।
यति लामो समयको लकडाउनले के फरक परेको छ भनेर समीक्षा खासै भएको देखिएको छैन । दुइ चार जना संक्रमित देखिंदा लामो लकडाउन गरेर के फाइदा पुग्यो भन्ने पनि अहिले सम्म स्पष्ट भएको छैन । त्यसैले पछिल्लो समय लकडाउन खुला भएको छ । तर अझैपनि अघोषित रुपमा लकडाउनको समस्या सल्टिएको छैन । ट्याक्सी र केही रातो प्लेटका सबारी साधनले दुइ देखि चार गुणा बढी भाडा असुल गरेर मानिस ओसार्ने काम गरिरहेका छन् । सार्वजनिक यातायातमा सामाजिक दुरी कायम गरेर चल्ने व्यवस्थापनमा अझै समस्या देखिएको छ ।
लामो समय सम्म ठप्प भएको लकडाउनमा देशको अर्थतन्त्र शुन्य भयो । सयौं मजदुर देखि कर्मचारी समेतले रोजगारी गुमाए । तर जव आंशिक भएपनि लकडाउन खुला भयो त्यसपछि अर्थतन्त्रमा सामान्य सुधार देखिएको छ । यद्यपी कोरोना संक्रमित ह्वात्तै बढेका छन् । संक्रमित बढ्नु स्वभाविक पनि हो । तर अर्थतन्त्र चलायमान नभएसम्म रोजगारी गुम्ने लहर निरन्तर जस्तै हुने रहेछ भन्ने अहिले बुझ्न थालिएको छ । त्यसैले अबका दिनमा आम नागरिकले कोरोनाबाट झल्दै जीवन यापन गर्नुपर्ने देखिएको छ । किनकी उत्पादन र ढुवानी तथा उद्योग धन्दा संचालनकालागि लकडाउन खुला हुनैपर्छ । त्यो अबसर नहुँदा लामो समय देशको अबस्था कमजोर बन्यो । अहिले राजधानी सहित मुख्य सहरमा धेरै संक्रमित देंिखंदै गर्दापनि आर्थिक क्रियाकलाप रोकिएका छैनन् । व्यपार, व्यवसाय, आवतजावत संचालन हुनु भनेको सयौं गुम्न लागेका रोजगारी स्थगित भएर अर्थतन्त्रमा सुधार आउनु हो भन्ने देखिन थालेको छ ।
संचार माध्यममा आउने बिज्ञापन देखि आम मजदुरले पाउने रोजगारी पनि लकडाउन खुला हुँदा सहज बन्ने गरेको देखिएको छ । त्यसैले अब सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्ने र सार्वजनिक यातायात, उद्योग, व्यवसाय संचालन गर्नुपर्छ । बिद्यालयहरु सामाजिक दुरी कायम गरेर खोल्ने देखि परीक्षाहरु संचालनमा सहज वातावरण गर्नुपर्छ । हरेक नागरिकले आफ्नो सुरक्षा गर्ने वातावरण बनाएर सामाजिक विभेद पनि हटाउनु पर्छ । लामो यात्रा गरेको वा राजधानी गएर आएकोलाइ गरिने सामाजिक बिभेदका कारण यात्रा गरेको लुकाउने प्रवृत्ती बढेको छ । बरु सहज रुपमा लिने र सुरक्षाका मापदण्ड पालना गर्न लगाउने हो भने संक्रमण पनि कम हुने र देशको अर्थव्यवस्था पनि चलायमान हुने निश्चित छ । अब सबैले मनन गर्ने कुरा भनेको कोरोना छलेर जीवन यापन गर्ने नै हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->