पोखरा, ६ मंसिर– कोरोना भाइरसको कारणले गत चैतदेखि शिक्षा क्षेत्र ठप्प भएको छ । एसईई परीक्षाको मुखैमा भारइसको जोखिमले परीक्षा नै स्थगित भयो । वैशाखदेखि नयाँ शैक्षिक सत्र समेत सुरु हुँदै थियो । कोरोना महामारीको रोकथाम र नियन्त्रणको लागि भन्दै सरकारले देशव्यापी लकडाउनको घोषणा ग¥यो । एक हप्ताको लागि भन्दै गरेको लकडाउन लम्बिँदै गयो । बजार क्षेत्र खुकुलो हुँदै जादाँ अझै केही क्षेत्र खुल्न सकेका छैनन् । तीमध्येको हो, विद्यालय । शिक्षाको उज्याले छर्ने मन्दिर नै बन्द हुदाँ विद्यार्थीलाई ठूलो धक्का लागेको छ । सरकारले शिक्षा प्रणालीलाई परिवर्तन गर्दै अनलाई शिक्षा सुरु गरे पनि अनलाइन प्रभावकारी बन्न सकेको छैन ।
अनलाइन शिक्षा पनि हुनेखानेका छोराछोरीको लागि मात्र हो जस्तो देखियो । पहुँच नपुगेका र गरीब परिवारका विद्यार्थीले अनलाईन शिक्षा लिने अवसर नै पाएनन् ।
एसओएस हर्मन माइनर विद्यालयमा पढ्ने विधार्थीलाई भने एसओएसले अनलाइन शिक्षामा पहुँच पु¥याउनको लागि ट्याव वितरण गरेको छ । विद्यालयले असारदेखि अनलाइन शिक्षा सुरु गरेपनि लक्षित वर्गाका विद्यार्थीको पहुँच नपुगेकोले देशभर रहेका ७ वटा विद्यालयमा ट्याव वितरण गरेको हो । ‘कोभिडको प्रभावमा बालबालिका बढी प्रभावित भएका छन । शैक्षिक क्षेत्र बन्द छ, हाम्रो संस्था कुनै नाफामूलक संस्था होइन, पहुँच नपुगेका विद्यार्थीलाई प्रविधि प्रयोग गराउँदै अनलाइन शिक्षामा जोड्ने प्रयास गरेका हाँै’ एसओएस बालग्रामका राष्ट्रिय डाइरेक्टर डा. गंगाबहादुर गुरुङले भने । कोभिडले शिक्षा क्षेत्रमा प्रभाव पारेपनि प्रविधिसंग खेल्न सिकाएको उनले बताए । कोभिडको कारण नेपाललाई अनलाइन शिक्षासँग जोेडेको उनको तर्क थियो । ‘कोभिडकै कारण आज नेपालले अनलाइन शिक्षा नीति अपनाएको छ । यदि यसो हुँदैनथ्यो भने नेपाल अनलाइन शिक्षामा जान अझै १० वर्ष लाग्ने थियो’,डाइरेक्टर डा. गुरुङले भने,‘पश्चिमा मुलुकलाई यो सामान्य कुरा हो तर हाम्रो लागि पहिलो अनुभव भएको छ । हामीले विद्यार्थीको भविष्यलाई हेरेर नै सहयोग गरेका हौँ ।’ त्यस्तै योजना निर्देशक प्रदिपभक्त आचार्यले ट्यावको सही सदुपयोग गराउन अभिभावकलाई आग्रह गरे । त्यस्तै एसओएस बालग्राम पोखराका योजना निर्देशक भगतकुमार श्रेष्ठले विद्यार्थीले अनलाई शिक्षालाई वेवास्ता गर्नसक्ने हुँदा अभिभावकले नै निगरानी राख्दै समय मिलाएर चलाउन दिनुपर्ने बताए । एसओएस हर्मन माइनर विधालयका प्रधानध्यापक रविन्द्र कुमार श्रेष्ठले विधालयले असार १ गतेदेखि अनलाई शिक्षा संचालन गरेपनि गरीब विधार्थीको सहभागिता नभएको कारण नै एसओएसलाई सहयोगको लागि आग्रह गरेको बताए । एसओएसमा छात्रावृत्ति प्राप्त गर्दै अध्ययन गरेका अभिभावकविहीन तथा अन्य अभिभावकको संरक्षणमा रहेका ३० जना विद्यार्थीलाई ट्याब वितरण गरिएको हो । ९ सय विद्यार्थी अध्यनरत विद्यालयले अनलाइन शिक्षा संचालन गर्दै आइरहेको छ ।





