पोखरा, ८ मंसिर– पछिल्लो समय गाउँघरमा समेत मादल मोह घट्दै गइरहेको छ । संगीतमा रुची भएका केहीलाई बाहेक अरुलाई मादल बजाउन आउँदैन । सहरमा त मादलको घिन्ताङ सुन्नै मुस्किल हुन्छ । पुरानो र लोकप्रिय बाजा हो, मादल । योपटक त तिहार देउसी पनि भएन, मादल पनि बजेन । रत्यौली होस् कि शुभकार्य, जहाँ पनि घन्काइने मादल अहिले बज्न छाडेका छन् । मादलु रन्को सुन्न गाउँमा पनि मुस्किल परेको छ । आयातित बाजा र संगीतले मादललाई विरानो बनाएको छ ।
तर, पोखरा–८ नागढुंगाका महिलाहरुमा भने मादल सिक्ने भूत सवार भएको छ । उनीहरुले मादल बजाउने प्रशिक्षण नै लिन थालेका छन् । उनीहरुले मादल सिक्ने क्रममा मानसिक रुपमा स्वस्थ रहँदै आफ्नो मौलिक बाजाको प्रवद्र्धनमासमेत टेवा पु¥याएका छन् । आफ्नो टोलछिमेकीमा विवाह, व्रतबन्ध तथा शुभकार्य हुँदा मादल घन्काउने व्यक्ति बाहिरबाट ल्याउनुपर्ने बाध्यताको कारण आफैहरुले बजाउन सिकेको हातेमालो नागढुंगा आमा समूहकी अध्यक्ष गीता पंगेनीले बताइन् ।
‘हाम्रो छरछिमेकमा शुभकार्य हुँदासमेत बाहिरबाटै मादल बजाउने व्यक्ति ल्याउन पर्ने बाध्यता थियो । कोरोना महामारीले समेत हामीलाई ज्ञान दिएको छ, त्यसैले मादल बजाउन सिक्याँै’, पंगेनीले भनिन् । टोलका १५ जना महिलाले मादल बजाउन सिकेको उनले बताइन् । मादल प्रशिक्षणमा सहभागी भएकी संस्थाकी उपाध्यक्ष सावित्रा घिमिरेले आफूहरुले नयाँ अनुभव बटुलेको बताइन । ‘कोरोना भाइरसको समयमा यतिकै बस्नुभन्दा केही गराँै भन्ने नै थियो । टोलमा केही हुँदासमेत बाहिरबाटै बजाउने मान्छे ल्याउनुपर्ने स्थिति अब छैन’, उनले भनिन् । आफूहरुले दुई हप्तामा ४ प्रकारका ताल सिकेको उनले बताइन् । प्रशिक्षणमा सहभागिहरुलाई स्वास्थ्य सामग्री बितरण गर्दै
नेपाली कांगे्रस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकी सदस्य सरस्वती गुरुङले लोप हुने अवस्थामा पुगेको मादलको प्रबद्र्धनमा महिला जुट्न् सह्रानीय भएको बताइन् । एकमहिने प्रशिक्षण कार्यक्रमका प्रशिक्षक सन्तोष पराजुली रहेका छन् ।





