बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राजनीतिमा बढ्दो अराजकता र नेता

राजनीतिमा बढ्दो अराजकता र नेता


  • Dhorpatan News
  • मंसिर ९ २०७७, मंगलबार

पछिल्लो समय नेपाली राजनीतिमा अराजकता बढ्दै गएको छ । विधि र पद्धतिलाई तिलाञ्जली दिँदै आफ्नो सीमित चौघेरामा रमाउने अनि जनताका चाहना निमोठ्ने प्रवृत्ति पनि ह्वात्तै बढेको छ । आफूभन्दा फरक विचार राख्ने व्यक्तिको जरोकिलो नै उखाल्ने प्रयत्न गर्ने, नसके अनेकौं लाञ्छना लगाउने प्रवृत्ति पनि मौलाउँदो छ । अर्काको मानमर्दन गर्नु र आफूलाई उँचो स्थानमा राखिराख्न नेताहरु उद्यत छन् । यसले उनीहरुको कद मात्रै घटाएको छैन, जनताको आँखाबाट तल गिराएको पनि छ । राजनीतिमा अनैतिकता र अराजकता बढ्दो छ । यो रोगले नेपालका हरेक पार्टीहरु ग्रसित रहेका छन् । अर्काको अस्तित्वलाई सकेसम्म मान्दै नमान्ने, मान्नै परे पनि आफूभन्दा तल्लो आसनमा मात्रै सीमित गर्न खोज्दा यस्तो अवस्था आएको हो । अझ आफू इतरका व्यक्तिमाथि वचन मात्रै हैन भौतिक आक्रमण गर्न पनि पछि नपर्ने आपराधिक मानशिकता पनि नेताहरुमा देखिएको छ । यसले गर्दा राजनीतिलाई फोहरी खेल त बनाएको छ नै,जनताबाट नेताहरुलाई टाढा पार्दै लगेको छ ।
नेता हुन भीडलाई पछि लगाएर मात्रै हुँदैन, भीड पछि लगाउने क्षमता राख्नुपर्छ । विचार र व्यक्तित्वले मात्रै भीड पछि लाग्छ । भीडलाई नेतृत्व दिनु चानचुने कुरा हुँदै हैन । भीड अराजक हुनसक्छ,नेता अराजक बन्न मिल्दैन÷हुँदैन । असल नेताले युगको आवश्यकता संवोधन गर्नुपर्छ, मान्छेको ढुकढुकी छाम्नुपर्छ अनि भविष्यको कल्पना गर्दै त्यस्तै काम सम्पादन गर्नुपर्छ। स्वनद्रष्टा, तत्क्षण निर्णय क्षमता, दूरदर्शीता,सहनशीलतालगायतका गुणहरु नेताका अनिवार्य सर्त हुन् । त्याग अझ सबैभन्दा महत्वपूर्ण हुन्छ । जो त्यागी हुन्छ, उही नेता बन्छ । स्तूत्य बन्छ अनि सम्मानित हुन्छ । कस्ता व्यक्ति नेता हुन् भन्नेबारे संसारका थुप्रै विद्धानहरुले मथिङ्गल खियाएका छन् । ती सबैको सार भनेको नेता सर्वप्रिय मात्रै भएर पुग्दैन, सर्वहिताय सोच्ने हुनुपर्छ । आफ्ना इच्छाले हैन अर्काका आवश्यकताले निर्देशित हुनुपर्छ । सामान्यतया ः नेताको विषयमा यति भनिरहँदा राजनेता कस्ता व्यक्ति हुने स्वभाविक प्रश्न उब्जछ । राजनेता कसलाई भन्ने त्योभन्दा जटिल प्रश्न उठ्यो भने चाहिँ नेपालको सन्दर्भमा दुईपटक दिमाग घुुमाउनु पर्ने हुन्छ । किनकि, यहाँ नेता भन्न लायकका सीमित व्यक्तिमात्रै अस्तित्वमा रहेका छन् र तीमध्ये कतिपयले अहिले आएर आफैले आफ्नो कद घटाउने काम गरिरहेका छन् । जनताको आँखामा उनीहरु त्यक्त हुँदै गएको आफैले भेउ पाएका छैनन् । त्यसैले उनीहरु सत्ता वा शक्तिमा बसे पनि स्तूत्य छैनन् बरु आलोचित हुँदै गएका छन् । यो आलोचना कहाँबाट उब्जिएको छ भन्ने नबुझ्ने हो भने नेताहरु नेता रहने छैनन् । उनीहरुको नाम इतिहासमा स्वर्ण अक्षरले लेखिने छैन । जनताले उनीहरुको विकल्प खोज्ने नै छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->