पोखरा, ११ मंसिर– गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मात्रै तीन वटा पुलको शिलान्यास गरेका छन् । उनले कास्कीको मादी गाउँपालिका क्षेत्रमा रहेका वार्दी खोला, मकै खोला र इदी खोलामा गरि तीन वटा पुलको शिलान्यास गरेका हुन् । मादी गाउँपालिका वार्दी खोलारहेको पुल राखी मिजुरे सडक खण्डमा पर्दछ । यो पुल २०७८ असोज २८ गते भित्र निर्माण पूरा गर्ने गरी नयाँबाटो÷भदौरे जिएस इन्जिनियरिङले ठेक्का लिएको छ । पुलको लागत ४ करोड ५२ लाख ७२ हजार रुपैयाँ छ । पुलको लम्बाइ ३६ दशमलव २ मिटर हुनेछ ।
उता, मादी गाउँपालिकाको मकै खोलामा बन्ने अर्को पुल थुम्सीकोट—भाचोक—कमादी सडकमा पर्छ । आरसिसी टी बिम प्रविधिमा बन्ने पुलको लागत २ करोड ३२ लाख ६९ हजार रुपैयाँ छ । पुलको लम्बाइ २५ दशमलव ६५ मिटर हुनेछ । गजेन्द्र निर्माण सेवाले ठेक्का लिएको पुल २०७८ सालको साउन २१ गते निर्माण पूरा गर्ने सम्झौता छ ।
यसैगरि मादीकै इदी खोलामा ४ करोड ४२ लाखको लागतमा मोटरवल पुल बन्दैछ । सो पुल २०७८ साल साउन २१ गते भित्र बनिसक्ने छ । पुल ३१ दशमलव २ मिटर लम्बाइको हुनेछ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कास्कीले प्रिस्ट्रेस्ड बिम प्रविधिको यो पुल निर्माण हुनेछ । मादीका यी पुल मध्यपहाडी लोकमार्ग अन्तर्गतको सडक खण्डमा पर्छन् । प्रदेश सरकारले लोकमार्गकै स्तर र मापदण्ड पूरा हुने गरी निर्माण सुरु गरेको जनाएको छ ।
पुलको शिलान्यास गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भौतिक पूर्वाधार विकासमा यी काम कोसेढुंगा सावित हुने विश्वास लिएकाछन् ।
‘आजमात्रै हामीले कास्कीको मादी गाउँपालिकामा ३ वटा पुल शिलान्यास ग¥यौँ’ उनले भनेका छन्, ‘यो कुनै संयोग होइन । किनभने प्रदेश सरकारले यो वर्ष ६० वटा सडक पुल निर्माण पूरा गर्दैछ । प्रदेश सरकारको यो कार्यकाल भित्र डेढ सय वटापुल निर्माण पूरा गर्दैछ ।’





