बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चन्द्र ढकालको दायित्व र अपेक्षा

चन्द्र ढकालको दायित्व र अपेक्षा


  • Dhorpatan News
  • मंसिर १५ २०७७, सोमबार

बागलुङको अमलाचौरमा जन्मेका चन्द्र ढकाल नेपालको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चुनिएका छन् । वरिष्ठ उपाध्यक्ष भएसँगै उनी ३ वर्षपछि सो संस्थाको अध्यक्ष बन्नेछन् । अध्यक्षको रुपमा उनले निजी क्षेत्रको हक–हित रक्षाको लागि के काम गर्छन् त्यो फरक विषय हो । आफ्ना हरेक काममा सफलता हात पारेका चन्द्रले पाएको अवसरलाई पक्कै खेर फाल्ने छैनन् । गण्डकी प्रदेशबाट महासंघको नेतृत्व गर्ने दोस्रो व्यक्ति बनेका उनी सफल नै होउन्, हाम्रो शुभकामना !
महासंघ वास्तवमा निजी क्षेत्रको छाता संगठन हो । यसको नेतृत्वमा पुग्ने व्यक्तिसँग सर्वसाधारणको कुनै साइनो रहँदैन । सर्वसाधारणसँग न त चन्द्रको नै साइनो हुने हो । तर,चन्द्र ढकाल पछिल्लो समय उदाएको एक व्यवसायी मात्रै नभएर प्रेरणादायी व्यक्तित्वसमेत हुन् । सामान्य परिवारको एउटा व्यक्तिले कामप्रतिको लगाव र मेहनतले कतिसम्म सफलता हाँसिल गर्न सक्छ भन्ने उदाहरण पनि हुन्, उनी । सामान्य परिवारमा जन्मेर आम मान्छेभन्दा माथि उठ्नु सजिलो कुरा हैन । चन्द्रले पनि सामान्य जागिरे जीवनदेखि अहिले देशकै प्रम्ुख रेमिट्यान्स कम्पनी आइएमई ग्रुपको अध्यक्ष बन्ने बेलासम्म ठूलै मेहनत गरेका छन् । त्यो मेहनतबाटै उनको कद उँचो भएको छ । उँचो भएको कदलाई व्यवसायीकै हितमा लगाउन उनी महासंघका विभिन्न पद हुँदै वरिष्ठ उपाध्यक्षमा पुगेका हुन् । उनले आफ्नो जीवनको यो कालखण्डसम्म पनि सामाजिक हितका थुप्रै काम गरेका छन् । महासंघको अध्यक्षको रुपमा उनको त्यो छवि न खुम्चियोस् बरु अझ बृहत बनोस् भन्ने नै शुभेच्छुक हरुको चाहना हो । अर्को तर्फ, नेपालको निजी क्षेत्र आलोचना मुक्त छैन । आफै चिराचिरामा विभक्त निजी क्षेत्र राष्ट्र हितको एजेण्डा बोक्दैन, देशको अर्थतन्त्र र जनताका समस्याबारे केही बोल्दैन, मात्र आफ्नो दुनो सोझ्याउने काम मात्रै गर्छ भन्ने आरोप लाग्दै आएको छ । यो आरोपमा दम छ । नेपालको निजी क्षेत्र सामाजिक उत्तरदायित्व निभाउने मामिलामा अझै पछि छ । करबलले काम गर्नु एउटा कुरा,पारदर्शीता र जिम्मेवारी वोध अर्को कुरा हो । पछिल्ला दुबै मामिलामा नेपालको निजी क्षेत्र चुकेको छ । यही कारणले महासंघ कर लुकाउने हरुको जमातको रुपमा चिनिएको छ । चन्द्रले महासंघ र व्यवसायी प्रति आम नागरिकले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ । सरकारसँग साझेदारी गर्दै सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ । ढकाल पु्गेको महासंघलाई सरकारी आँखाबाट पनि राम्रो मानिँदैन । सरकारले दिएको अनुदानको दुरुपयोग गरेको र कतिपय मामिलामा सरकारको सहयोगी नबनेको आरोपलाई खण्डित गर्ने दायित्व पनि चन्द्रको काँधमा आएको छ । परिस्थिति विषम छ । कोभिड–१९ ले देशको अर्थतन्त्र नराम्ररी बिग्रिएको छ । रोजगारीका अवसरहरु गुमेका छन् । यस्तो विषमतामा नेपालको निजी क्षेत्रले सरकारसँग साझेदारी गर्दै अर्थतन्त्रलाई गतिशिल बनाउने, रोजगारी सृजनागर्ने र उत्पादकत्व बढाउने ३ वटै काम गर्नुपरेको छ । निजी क्षेत्र विकासको साझेदार हो । निजी क्षेत्रको लगानी बिना कुनै पनि देशको अर्थतन्त्र माथि आउँदैन । तर, यसो भनिरहँदा निजी क्षेत्रकापनि दायित्वहरु हुन्छन् । ती दायित्वहरु लाई पर धकेलेर नाफा मात्रै कमाउने ध्याउन्न राख्दा निजी क्षेत्रको साख रहँदैन । यसपटक चन्द्र दोस्रो मान्छे हुन् । उनीसँगै महासंघमा बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र अन्य ७ जना केन्द्रीय सदस्यको रुपमा गण्डकी प्रदेशका रहेका छन् । उनीहरुले समग्र अर्थतन्त्रको विकासको कुरा गर्दा कम्तिमा गण्डकीलाई पनि सम्झनु पर्छ । त्यसो भए कम्तिमा गण्डकीले चन्द्र लगायको टिमप्रति गर्व गर्न पाउनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->