आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पोखरा चियाउने आँखीझ्याल – साइक्लिङ

पोखरा चियाउने आँखीझ्याल – साइक्लिङ


  • दिवस गुरुङ
  • मंसिर १५ २०७७, सोमबार

हरेक ठाउँका आफ्नै विशेषता हुन्छन् । फरक स्वाद भेटिन्छन् फरक ठाउँमा । फरकपनले न हो, आकर्षित पार्ने मानवलाई । यसैले डो¥याउँछन् कहाँ कहाँबाट मानवलाई त्यस ठाउँमा । अनि आइपुग्छन् घुम्न । सुन्दरतामा विचरण गर्न । आफैंलाई हराउन । ‘मोनोटोनस स्याडुल’ को ह्याङओभर हटाउनसमेत मान्छे घुम्न निस्कन्छन् । कोही भने भेट्न निस्कन्छन्, जीवनको अर्थ । आजकल सामाजिक सञ्जालमा फोटो पोष्ट्याउन मात्र भएपनि मान्छे पुगिछाड्छन् । नपुगेर भो त ? ट्रेन्ड अनुसार चल्न नसके अब समाजभित्रै परिन्न भन्ने डर । कम्ता गाह्रो छ मान्छेलाई !
पोखरा शहर । ‘अ फुल अफ डाइभर्स ट्रेजरर्स’, विदेशीहरु यस्तै भन्न रुचाउँछन् । फेवातालको आँगनमा माछापुच्छे«को छायाँ । सबैको हृदयमा त्यही तस्बिर नउकिने गरी टाँसिन्छ । त्यसैले त आफ्नै नयनले यही दृश्यपान गर्न सबै लालयित हुन्छन् । यति मात्र हैन, प्राकृतिक नगन्य उपहारहरु पाताले छाँगा होस् वा महेन्द्र र चमेरा गुफा, लेखनाथका सात तालहरु अनि ताल तालका लोभलाग्दा प्यानारोमिक हिम श्रंखलाहरु । सँगै धार्मिक र ऐतिहासिक महत्वका छुटाउनै नहुने यहाँका डेस्टिनेसनहरुको विशेषता छुट्टै छन् ।
हावामा कावा खाँदै चराझैं प्यारासुटमा उड्दाको मज्जा भनुँ वा फेवातालमा डुंगा सयर गर्दा, मन प्रफुलित बन्छ नै । जमिनमा हिँडेर, आकाशमा उडेर वा पानीमा तैरेर मात्रै पोखराको सुन्दरता नियाल्न अपुरै रहन्छ । अझ यादगार बन्न सक्छ, साइकलमा गुडेर । यो बिना पोखराको सुन्दरता बिचरण गर्न अधुरै बन्छ ।
शरद ऋतु । छ्यांङ खुलेको आकाश । अनि मनै हर्ने सेताम्य हिमालको लहर । बिहानै डाँडा उक्लेर सुर्योदयसँगै पोखरा नियाल्नुको मज्जा कहाँ शब्दमा वर्णन गर्न सकिन्छ र ? जति शब्द खर्चे पनि कमी नै रहन्छ । नजिकबाट नियाल्दा मात्र हैन टाढाबाटै चियाउँदा पनि छुट्टै आभाष हुन्छ । भिन्न स्वाद मिल्छ मनमा । सन्तुष्टिले आँत भरिन्छ । आज कुरा गरौं, पोखरा वरपर छुटाउनै नहुने साइकलिङ गन्तव्य अनि यसका रुटहरु ।
रोयल रुट, एराउण्ड लेखनाथ
नामै रोयल रुट । नामजस्तै यसको इतिहास पनि विशेष नै छ । सन् १९८० ताका वाल्सका राजकुमार चाल्र्स नेपाल आएका थिए । त्यसै समय उनले पोखरा विजयपुरहुँदै कालिकास्थान अनि त्यस छेउछाउका भेगहरु पैदलयात्रा गरेका थिए । अनि नामकरण भयो रोयल रुट । पछि यसै पदमार्गमा साइकल गुडाउन थालियो र अर्को नयाँ आयाम थपियो पर्यटन क्षेत्रमा, रोयल साइकल ट्रेल ।
पोखरा लेकसाइडबाट सुरु भएर विजयपुर, कालिका स्थान, ताल बेसी, रुपाताल, बेगनास ताल, निर्मलपोखरी, छोरेपाटनहुँदै लेकसाइडमै आएर टुङ्गिन्छ यस यात्रा । जम्मा दुरी ९० किमी । तीन दिनमा पोखरालाई एक फेरो लगाउन सकिन्छ । योभन्दा काइदाको अर्को रुट कहाँ होला र ? त्यहीँ भएर त विदेशीहरुको फस्ट प्राइरिटीमा पर्छ यो । कालिका स्थानको ऐतिहासिक महत्व, बेगनास र रुपाको मोहनीलाग्दो रुप अनि थकान बिर्साउने लमतन्न हिमश्रृंखला नियाल्दाको सुखानूभति । यी नै यात्राका मिठा किस्साहरु रहन्छन् । स्याङखुदीको लोभलाग्दो झरना, बेगनासको मन्द बेग अनि त्यहीको स्थानीय माछाको परिकारले मन अनि तन दुवैलाई फरक स्वाद दिन्छ । पोखराको सुन्दरता नियाल्न यस रुट छुटाउनै हुँदैन÷मिल्दैन । छुटे पोखरा चियाउने एक आँखीझ्याल छुटेको आभाष हुन्छ । अझ भनौ मनमा थकथकी रहन सक्छ ।
राइड टु धम्पुस, ठुलाखर्क, भदौरे टु पञ्चासे
अर्को छुटाउनै नहुने साइकलिङ रुट हो यो । दुई रात अनि तीन दिनको जर्नी हो । पहिलो रात अष्ट्रेलियन क्याम्प (ठुला खर्क) अनि दोस्रो दिन पञ्चासे भञ्ज्याङ । स्ट्राटिङ र इन्डिङ पोइन्ट लेकसाइड, पोखरा ।
यात्राको पहिलो दिन । बिहानै १ घण्टाको उकालो छिचोल्दै आइपुगिन्छ सराङकोट । सनराइज अनि मनोरम हिमश्रृंखलाको दृश्यावलोकनले यात्राको दैलो उघार्छ । सँगै उघारिन्छ हृदय पनि उमंगले । हर्षले । नजिकै कास्कीकोट आएर त्यहाँको ऐतिहासिक कथाहरु सुन्न र हेर्न छुटाउनु हुँदैन । नौडाँडा आएर ओरालो बाटो पछ्याउँदै घट्टेखोलाबाट उक्लिन्छ धम्पुसको उकालो । लोभलाग्दा पहेलै सुनौला धानका खेतले यात्राको थकान बिर्साउँछ । धम्पुसको ढुंगे गाउँ अनि कोमल हृदयका स्थानीयहरुको आतिथ्यता अनि स्वागतले आँखा रसाउँछ । पहिलो दिनको बसाइँ अष्ट्रेलियन क्याम्प । अर्थात् ठुलाखर्क ।
ठुलाखर्क, काँडेहुँदै पुगिने अर्को गन्तव्य भदौरे, देउराली । चिटिक्क परेको गाउँ हो यो । अझ भनौं पञ्चासेको द्धार । यहीँबाट कसिएर हिँडे ३ घण्टामा पञ्चासे पुगिन्छ । साइकलमा भने जम्मा ५ घण्टा । उक्लदै गर्दा देखिने लमतन्न लोभलाग्दा हिमाल अनि फेवातालको चिसो सिरेटो, उकालो उक्लेका बिर्साइदिन्छ क्षणभरमै ।
कतै साइकल काँधमा बोकेर त कतै डो¥याउँदै । यात्राको मिठास न हो यो । पञ्चासेको गुणगाण जनि गुनगुनाए पनि अधुरै रहन्छ । ऐतिहासिक, धार्मिक, जैविक एवं सांस्कृतिक महत्वको धरोहर हो पञ्चासे । पञ्चासे ताल, बाइसे चौबिसे राज्यका भग्नावशेष, देवीथान, गुफा आदि हेर्नलायक ठाउँहरु हुन् । अझ भनिन्छ, पञ्चासेबाट नेपालकै सबैभन्दा धेरै हिमालहरुको प्यानारोमिक दृश्य नियाल्न सकिन्छ । छेवैमा रहेको भञ्ज्याङ दोस्रो दिनको बसाइँ ।
तेस्रो दिन । सिदाने होमस्टेको आतिथ्यता अनि लोकल परिकारको स्वाद चाख्न पाइन्छ । बाटामा देखिने लोभलाग्दा झरनाहरु, धानखेत अनि फेवातालको मुहार जति हेरे पनि अघाइँदैन । ओरालो बाटो, डाउनहिलको राइडको मज्जा गज्जबकै । अबेर साँझ ब्याक टु पोखरा । यसरी तीन दिनको यात्रा बिट मारिन्छ ।
पोखरा टु ल्वाङ घलेल, भाचोक अनि भुर्जुङखोला
पोखरा वरपर अर्को छुटाउनै नहुने साइकल ट्रेल हो यो । वान नाइट, टु डे राइड । ल्वाङ होमस्टेका अर्गानिक खान्की, घलेलको झर्नामा क्यानोनिङ, लोभलाग्दो मर्दी नदी, रेन्बो ट्राउटको स्वादिलो माछा अनि ‘आई क्याचिङ’ हिमालको भ्यु । छोटकारीमा यात्राको सारांश हो यो । अझ भनौं भिन्न स्वाद चाख्न यो यात्रा छुटाउनै हुँदैन ।
पोखराबाट बागलुङ राजमार्गमा कुदिन्छ साइकल । हेम्जाको सुनौला धानका खेतहरु हेरिरहँु खालका छन् । त्यसपछि हेम्जा, मिलनचोकबाट दाहिने हानिन्छ साइकलमा । लाग्छ, माछापुच्छ«ेलाई भेट्ने हुटहुटी छ साइकलेमा । करिब चार घण्टामा पुगिन्छ ल्वाङ गाउँ ।
ल्वाङ गाउँ । गाउँ पर्यटन अर्थात् होमस्टेको क्षेत्रमा छुट्टै पहिचान बनाउन सकेको नेपालकै एक नमुना गाउँ । गाउँको स्वागत द्धारबाट प्रवेश गर्नेबित्तिकै अर्गानिक गाउँले स्वाद मगमगाउँछ । ढुंगैको सिढी, ढुंगैको गारा, छाना अनि आगन भएको झुरुम्म परेको गाउँ । उस्तै सफासुग्घरमा चुस्त ठाउँ । न्यानो स्वागत अनि आतिथ्यताले साइकल चलाउँदाको थकान बिर्सिएको भान हुन्छ मनमा । झन् मनै हर्ने चियाबगान, बौद्ध गुम्बा अनि चिया प्रशोधन केन्द्र अवलोकन गर्दा फरकपनको आभाष हुन्छ । साँझ स्थानीय नृत्य अनि नाचगानमा छमछम नाच्दा ल्वाङ गाउँको स्मृति झन् तिख्खर बनेर आउँछ हृदयमा ।
दोस्रो दिन । बिहान छुटाउनै नहुने गन्तव्य हो घलेलमा अवस्थित पोखरा क्यानोनिङ । अजंगको झरनामा केवल डोरीकै सहारामा झरनाबाट ओर्लदाको अनुभूति वर्णन गर्न सकिदैन । आङै सिरिंङ हुन्छ । पानीको फोहोरासँग जुध्दै ओर्लदा स्र्वगीय आनन्द सँगै मिल्छ । ग्रामीण पर्यटनमा विशेष योगदान पु¥याउँदै आएका यसका प्रोपाइटर राम गुरुङका प्रेरणादायी कथा सुन्न छुटाउनै हुँदैन । छुट्टै प्रेरणा मिल्छ जिन्दगीमा ।
साइकलमा ते¥पाइ ते¥पाइ बाटो लागेपछि करिब दुई घण्टामा पुगिन्छ भाचोक गाउँ । एक फन्को गाउँ नियाल्नु पर्छ । गाउँले परिवेश, रहनसहनले पक्कै सिकाइको दायरालाई चौडा पार्दछ । सेती नदी तरेर पुगिन्छ खारापानी, तातोपानी । करिब ६÷७ वर्ष अघि आएको विनाशकारी पहिरोले बाँकी रहेको भग्नावशेष छ । तातोपानी कुण्डसँगै बगाएर लगेको थियो । त्यस हिमपहिरोको त्रास अझै देखिन्छ त्यहाँका स्थानीयमा ।
ओरालो बाटो पछ्याउँदै पुगिन्छ, भुर्जुङखोला गाउँ । नजिकै रहेको छ रेन्बो ट्राउट फार्म । जापानबाट झिकाएर ल्याएको ट्राउट माछाले जुन व्यवसायिक छलाङ मारेको छ, त्यसको बारेमा बुझ्न सकिन्छ । स्वादिलो ट्राउट माछा अनि फार्म नियाल्न छुटाउनै हुँदैन । छुटे यात्रा अधुरै रहन्छ पनि ।
बाटामा पर्ने विभिन्न गाउँहरु अनि त्यहाँको गाउँले परिवेश नियाल्दै यात्रा अघि बढ्छ । करिब तीन घण्टाको यात्रामा लामाचौरहुँदै पोखरा फर्कन सकिन्छ । अनि यात्राको बिट मारिन्छ ।
अन्त्यमा,
समग्रमा पोखरा चियाउने आँखीझ्याल बन्न सक्छ, साइकलिङ । वर्षेनी आयोजना हुने विभिन्न साइकलिङ प्रतियोगिताहरुले अझ यसलाई ब्रान्डिङ गराउनेछ नै । आजकल त बिहानपख साइकलमा डाँडाकाडा उक्लनेको लर्को नै लाग्छ । एक त स्वास्थ्यका लागि फाइदा, अर्को यसले पर्यटनको नयाँ आयम थप्दैछ । विदेशीहरु कति यहीँ साहसिक अनुभव बटुल्न नेपाल आउँछन् ।
सुरक्षित र व्यवस्थित ताल टु ताल साइकल लेन, राउन्ड फेवालेक ट्रेल अनि पोखरा वरपरका डाँडालाई फन्को मार्ने साइकल ट्रेल बनाउन सबै सरोकारवालाहरुको सक्रियता जरुरत देखिन्छ । कोरोना कहरले थिलथिल बनेको नेपालकै पर्यटन केही हदसम्म साइकल पर्यटनले उकास्न मद्दत गर्छ । समयमै सबैको ध्यान जाओस् । अनि मात्र बन्छ, पोखरा संसारकै साहसिक पर्यटनको एक उपयुक्त गन्तव्य ।
जय पर्यटन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->