संघीय सरकारले बजेट विनियोजन गरेसँगै सोमबार देशभर ३९६ अस्पतालहरुको शिलान्यास गरियो । केही स्थानीय तहहरु अस्पताल शिलान्यास गर्न चुके पनि धेरैजसो ठाउँमा अस्पतालको जग हालियो । यही मेसोमा गण्डकी प्रदेशमा पनि ५३ वटा अस्पतालको जग हालिएको छ । स्वास्थ्य तथा जब्नसंख्या मन्त्रालयले १५ शैया भएको अस्पतालको लागि१८ करोड ६ लाख ८२ हजार,पाँच शैयाको अस्पतालको लागि ७ करोड ११ लाख ९८ हजार तथा १० शैयाको लागि १० करोड ८३ लाख ३६ हजार रुपैयाँ छुट्याइएको छ । आम नागरिकलाई सहज स्वास्थ्यसेवा उपलब्ध गराउन अस्पताल नभएका स्थानीय तहहरुमा अस्पतालको जग हालिएको हो । सरकारले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाहरुको संवैधानिक सुनिश्चिततालाई यो अभियानमार्फत् कार्यान्वनयमा ल्याउने जमर्को गरेको छ । सरकारको यो निर्णय सह्रानीय मात्रै छैन्, ऐतिहासिक नै रहेको छ । कुनै अवरोध नआएमा २ वर्षमा अब सबैजसो स्थानीय तहमा अस्पताल बन्नेछन् । स्थानीय तहमा अस्पताल बनेपछि उपचारको लागि सहर झर्नुपर्ने बाध्यताबाट नागरिकले मुक्ति पाउने छन् । तर, यसो भनिरहँदा ती अस्पतालमा आवश्यक पर्ने उपकरण, जनशक्तिको व्यवस्थापन भने हुनैपर्छ । अहिले नै जनशक्ति व्यवस्थापनमा गर्न असमर्थ देखिएको सरकारले ती अस्पताल बनेपछि आवश्यक पर्ने ३७६ जना डाक्टरहरु र ३ हजार ४२२ जना स्वास्थ्यकर्मीहरु कसरी व्यवस्थापन गर्छ भन्नेमा चिकित्सकहरुले नै प्रश्न उठाएका छन् । उनीहरुको प्रश्न नाजायज छैन र हैन । पूर्वाधारसँगै जनशक्ति व्यवस्थापन हुन सकेन भने स्थानीय तहमा बन्ने भवनहरु प्रयोगविहीन नहोलान् भन्न सकिँदैन । संघीय, प्रदेश र स्थानीय तहले यी अस्पतालको दीर्घकालीन उपयोगतर्फ बेलैमा तयारी थाल्नुपर्छ ।
कोभिड–१९ को महामारीले देशको स्वास्थ्य क्षेत्रको पूर्वाधार कति कमजोर रहेछ भन्ने प्रष्ट तस्वीर देखाइदिएको छ । अहिले पनि अस्पतालमा बेड नपाएर, आइसोलेसन र भेण्टिलेटरको अभावमा बिरामीले ज्यान गुमाइरहेका छन् । सहरी क्षेत्रमा त यस्तो समस्या छ भने ग्रामीण क्षेत्रको अवस्था झन डरलाग्दो छ । सामान्य उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपर्ने, सुत्केरी हुने बेला उपचार नपाएर आमा र बच्चा दुबैको मृत्युवरण गर्नुपर्ने समस्याहरु अहिले पनि उस्तै छन् । यी यावत् समस्याको समाधानको लागि नजिक र पायक पर्ने ठाउँमा सर्वसुलभ रुपले स्वास्थ्यसेवा उपलब्ध हुनैपर्छ । अहिले जग हालिएका अस्पतालहरुले अब त्यो आशा जगाएको छ । कम्तिमा भवन निर्माण थालनीले पनि जनतामा खुसी छाएको छ । सरकार धन्यवादको पात्र भएको छ । अस्पताल दीगो रुपले संचालन भएमा मात्रै यो अभियानबाट जनताले अपेक्षित फाइदा पाउँछन् । भवनको जग हाल्दै गर्दा सरकारले त्यतातर्फ पनि तयारी थालिहाल्नुपर्ने देखिएको छ ।

