बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खोपतिर तानिएका आँखा !

खोपतिर तानिएका आँखा !


  • Dhorpatan News
  • मंसिर २१ २०७७, आइतबार

कोभिड–१९ को संक्रमण रोकिने छाँट छैन । तर, विश्वमा कोभिड–१९ विरुद्धको खोप विकास मात्र भएको छैन, मानिसमा प्रयोगमा आइसकेको छ । अमेरिका, बेलायत, रुस र चीनजस्ता मुलूकहरुले कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याइसकेका छन् । खोपले देखाएको प्रभावकारिताले विश्व उत्साहित बनेको छ । खोपको सफलताले आधुनिक इतिहासको विनाशकमध्येको एक मानिएको कोभिड–१९ मानिसको वशभन्दा बाहिर छैन भन्ने सन्देश प्रवाहित भएको छ । विश्वका विभिन्न देशमा कोभिड–१९ विरुद्ध खोप अभियान चलिरहँदा नेपालले पनि ती खोपप्रति चासो देखाएको छ । हाम्रा आँखा र कान पनि त्यसको सफलताप्रति तानिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले नेपालमा पनि छिट्टै २० प्रतिशत जनतालाई पुग्ने खोप भित्रने र पहिलो चरणमा कसलाई खोप दिने भन्ने निक्र्योल भएको जनाएको छ । पहिलो चरणमा वृद्ध, संक्रमित तथा कोभिडविरुद्ध पहिलो मोर्चामा रहेकाले खोप पाउने जनाइएको छ । यद्यपि, खोप कुन प्रक्रिया र कहाँबाट, कुन कम्पनीको आउँछ भन्नेबारे स्पष्ट भएको छैन ।
भारतीय विदेश सचिवको नेपाल भ्रमणमा उनले छिमेक पहिलो भन्ने भारतीय नीति अनुसार नेपालले पनि खोप पाउने जानकारी दिएका थिए । भारतले दिने भनेको खोप अनुदानको हो या नेपालले किन्नुपर्ने हो प्रष्ट भएको छैन । भारतमै पनि प्रयोगमा नआएको खोपभन्दा पहिला अन्य ठूला कम्पनीहरुबाट ल्याउने तयारीबारे सरकार प्रष्ट छैन । यद्यपि, आन्तरिक तयारी भइरहेको र कम्पनीहरुसँग सहकार्यको प्रयत्न भइरहेको उनीहरुको जिकिर छ । विश्व स्वास्थ्य संगठन तथा खोप निर्माताहरुको गठबन्धन संस्था गाभीसँगको सहकार्यमा नेपालजस्तो देशले खोप पाउने हो । गाभीको कोभ्याक्स कार्यक्रममार्फत् ६० लाख मात्राको खोप नेपालले पाउने भनिएको छ । प्रधानमन्त्री स्वयंले पनि नागरिकले खोप पाउने जानकारी दिनुमा पनि यही संयन्त्रप्रति बढी आशा गरिएको बुझ्न सकिन्छ । विभिन्न ठूला कम्पनीले बनाएका खोपहरुको अग्रिम बुकिङ भइसकेको सन्दर्भमा नेपालजस्तो देशले चाहेर पनि समयमा नै खोप किन्न गाह्रो हुन्छ । अर्कोतर्फ, फाइजरलगायतका कम्पनीहरुले बनाएका खोपहरु चिसोमा भण्डारण गर्नुपर्ने र त्यसको लागि नेपालमा पूर्वाधार नभएको स्वास्थ्य मन्त्रलायका अधिकारीहरुले स्वीकारिरहँदा यहाँ आउने खोपबारे अन्यौलता हुनु अस्वभाविक हैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अहिलेको सबैभन्दा ठूलो चुनौति भनेकै असामान्य परिस्थितिमा नागरिकलाई खोप उपलब्ध गराउनु हो ।
महामारीले विश्व त्रस्त छ । त्रासका बीचमा आएको खोप सबैभन्दा पहिला जोखिमपूर्ण अवस्थामा रहेकाले पाउनुपर्छ । मानवताले पनि यही भन्छ । तर, आफ्ना नागरिकलाई पहिलो सुविधा र सेवा भन्ने राष्ट्रहरुले मानवता मात्रै हेर्छन् भन्ने छैन । पर्याप्त मात्रामा खोप उत्पादन भए कम्पनीहरुले व्यापार हेर्थे होलान् र नेपालले पनि जसोतसो भ्याक्सिन पाउँथ्यो होला । तर, परिस्थिति अनुकूल छैन । प्रतिकुलतामै हो, आफूलाई प्रमाणित गर्ने । कोभिड व्यवस्थापनमा चुकेको सरकार र स्वास्थ्य मन्त्रालयले आफूलाई प्रमाणित गर्ने अवसर खेर फाल्नु हुँदैन । समयमै खोप उलब्ध गराउँदा सरकारले नागरिकहरुको भरोसा जित्ने मात्रै हैन, देश रहेछ भन्ने अनुभूति गराउन पाउनेछ । यसका लागि खोप नेपाल भित्र्याउने संयन्त्रको निर्माण, खोपको भण्डारण क्षमताको विकास एवं त्यसको वितरणप्रति अहिल्यैदेखि काम थाल्नुपर्छ । परीक्षणको लागि नै सही खोपलाई अनुमति दिन पनि पछि पर्नु हुँदैन । छिमेकीसँग समन्वय गर्नुपर्छ । स्वास्थ्य सामग्री खरिदमा यसअघि ओम्नीसँग जोडिएर लागेको दाग पनि समयमैमा खोप ल्याएमा मेटिने छ भन्ने सरकारले मनन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->