पोखरा, २२ मंसिर– पोखरा महागनरका मेयर मानबहादुर जिसीले गएको फागुन ११ गते साविक लेखनाथ नगरपालिका भवन भएको ठाउँमा बाल अस्पताल बनाउने घोषणा र सम्झौता गरे । सम्झौता काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (किओच) सँग भएको थियो । सम्झौता हुँदा गण्डकीका मुख्यमन्त्री साक्षी थिए । डाक्टर भगवान कोइरालासँग गरिएको सम्झौता कार्यान्वयनमा आएको चाहिँ छैन । तर, यही बीचमा संघीय सरकारले हरेक स्थानीय तहलाई अस्पताल बनाउन अनुदान दिने घोषणा ग¥यो । यही मंसिर १५ गते देशभरका स्थानीय तहमा अस्पताल उद्घाटन गर्ने घोषणा गरियो । पैसा पाउने भएपछि पोखरा महानगरले पनि अस्पताल बनाउन जग्गा खोजी गर्न डाक्टर नारायण ओझाको संयोजकत्वमा समिति गठन ग¥यो । समितिमा सरोज खनाल, किर्तिसागर बरालसहित महानगरको वडा नम्बर २६ का वडाध्यक्ष नारायण बराल, २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ,३० का वडा सदस्य श्रीराम पोखरेललाई सदस्य बनाइयो । त्यसैगरि समितिको सदस्य सचिवमा महानगरका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्मा चयन भए । ४३ औं नगर कार्यसमितिको बैठकले दिएको म्याण्डेट अनुसार समिति जग्गा खोज्न निस्कियो । जग्गा खोज्दै जाँदा समितिले साविक लेखनाथ नगरपालिकाको जग्गा नै भेट्यो । समितिलाई यसअघि सो जग्गामा बाल अस्पताल बनाउन मेयरले सम्झौता गरिसकेका छन् भन्ने थाहा नभएर हैन, मेयरको निर्णयको विरोधमा रहेका उनीहरुले जानाजान त्यही जग्गामा महानगरको अस्पताल बनाउन सिफारिस गरिदिए ।
‘हामीलाई यसअघि मेयरले के गर्नुभएको छ भन्ने थाहा भएन÷थिएन, दिइएको जिम्मा अनुसार सहमतिमै हामीले महानगरको अस्पताल बनाउन पुरानो नगरपालिकाको जग्गा सिफारिस गरेका छौं’,वडा नम्बर २७ का वडाध्यक्ष तथा जग्गा सिफारिस समितिका सदस्य पूर्णबहादुर गुरुङले भने,‘ बाँकी कुरा हामीलाई थाहा छैन ।’
स्रोतका अनुसार मेयर जिसीले यसअघि बाल अस्पताललाई जग्गा दिँदा नै लेखनाथका पूर्वमेयर तथा स्थानीयबासीले विरोध गरेका थिए । उनीहरुले आफूहरुसँग समन्वय नगरिएको दुखेसो गर्दै ज्ञापनपत्र नै बुझाएका थिए ।
त्यसैले जग्गा खोज्न समितिमा बसेको मौकामा पोखरा ३० मा रहेको शिशुवा अस्पताललाई स्तरोन्नति गर्दै ५० देखि १ सय बेडसम्मको अस्पताल बनाउनका लागि साविक लेखनाथ नगरपालिका कार्यालय परिसरको भण्डै २७ रोपनी जग्गा महानगरमा सिफारिस गर्ने निर्णय गरिदिए । तत्कालीन लेखनाथ नगरपालिकाले सो जग्गा एक वृद्धाको मृत्युपछि कसैको हकदावी नपरेपछि पाएको हो । अहिले त्यहाँ वडा कार्यालय रहेको छ ।
आफैले बनाएको सिफारिस समिति र आफै मातहतका वडाध्यक्षले आफ्नै निर्णय बिर्सेर गरेको निर्णयले मेयर जिसी भने अप्ठेरोमा परेका छन् । वडाध्यक्षहरुको सिफारिसमा साविक लेखनाथलाई पोखरा महानगरमा गाभिएको असन्तुष्टि पनि मिसिएको छ । महानगरमा मिसिएपछि लेखनाथले सोचेजस्तो सुविधा र बजेट नपाएको स्थानीयहरुको बुझाई रहेको छ । कतिपय अहिले र पहिलेका जनप्रतिनिधिहरु लेखनाथलाई छुट्टै नगर बनाउनुपर्ने भन्दै लविङमा छन् । लेखनाथ क्षेत्रकै भएकाले मेयरको लागि त्यहाँका बासिन्दाको भावना महंगो पर्ने देखिएको छ । यद्यपि, महानगरका मेयर जिसीले सो जग्गामा पहिले निर्णय भएजस्तै बाल अस्पताल नै बन्ने जिकिर चाहिँ गरेका छन् ।
‘बाल अस्पताल त्यहीँ बनाउने, समस्या नआउने गरि काम गर्छौँ,पोखरा महानगरका मेयर मानबहादुर जिसीले टेलिजफोनमा ढोरपाटनसँग भने,‘उहाँहरु ( समिति)लाई जग्गा खोज्न भनेको हो, सिफारिस आउला तर बाल अस्पताल त्यहीँ ( साविक लेखनाथको भवन भएको जग्गा) मा बन्छ ।’ समितिले सिफारिस गरेपछि त्यस विषयमा पनि छलफल गरिने उनले बताए ।





