
पोखरा, २२ मंसिर– भवन निर्माणलाई विशेष प्राथमिकता दिँदै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत कास्की क्षेत्र नम्बर १ का योजना सार्वजनिक गरिएको छ । छानिएका योजनामध्ये धेरैजसो बाटो र विभिन्न नाममा बनाइने भवनहरु रहेका छन् । खेल मैदानको लागि पनि बजेट विनियोजन गरिएको छ । कास्की क्षेत्र नम्बर १ का संघीय सांसद खगराज अधिकारीले आइतबार योजनाहरु सार्वजनिक गर्दै स्थानीयको मागको आधारमा ती परियोजनामा लगानी गरिएको जानकारी गराए ।
सांसदले त्यो दावी गरे पनि रुपा गाउँपालिका–६, किराखोलाबासीहरुले भने पानी खान नपाएको आफ्नो माग संवोधन नभएको गुनासो गरे । दलित बस्तीका स्थानीय पानी लिन अझै पनि आधा घण्टाको हिँड्छन् । रुपा गाउँपालिकामा बजेट परिरहँदा कतै पनि पानीको लागि भने बजेट छुट्टिएको छैन । स्थानीय पूर्वाधार विकास आयोजनाको लागि रुपा गाउँपालिकामा संघीय सांसद मार्फत् १ करोड २० लाख रुपैँया बजेट परेको छ । उक्त बजेट सडक र भवनको लागिमात्र छुट्याइएको छ । यस्तै प्रदेश सांसद दीपक कोइरालाले निर्वाचन क्षेत्र विकास योजनाअन्तर्गत रुपा गाउँपालिकामा एक करोड २० लाखको बजेट छुट्याएका छन् तर खानेपानीको लागि त्यहाँ पनि योजना छैन । स्थानीय जनताको लागि पानी टंकीको व्यवस्था गरिदिने हो भने आधा घण्टाको बाटो जानपर्ने बाध्यता हुने थिएन् । तर बजेट भने पार्क, सडक, बिक्री केन्द्र र भवनको लागि छुट्याइएको छ ।
योजना छनौट हामिले गर्दैनौ : सांसद अधिकारी
पूर्वस्वास्थ्य मन्त्री तथा कास्की क्षेत्र नं १ सांसद खगराज अधिकारीले विकासका आयोजनाको छनौट आफूले नगरेको जिकिर गरे । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्गर्तत कास्की क्षेत्र नं १ को योजना सार्वजनिक कार्यक्रममा बोल्दै सांसद अधिकारीले आफुले समन्वय मात्र गरेको बताए । ढोरपाटन दैनिकको प्रश्नमा उनले सो कुरा बताएका हुन् । दलित बस्तीमा किन खानेपानी योजना परेनन् भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘विकासका आयोजना छनौट स्थानीयले गर्ने हुन् । मैले त झन छुट्याउँदिन । समन्वय त गर्छौ । हामीले त्यहाँ –(दलित बस्तीमा )रोजगार, सशक्तिकरणको तालिमहरु त दिएकै छौँ नि ।’
२ महिनामै पानी आउँछ : रुपा गाउँपालिका अध्यक्ष
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले चाहिँ अब २ महिनाभित्रै खानेपानीको समस्या समाधान हुने बताए । निर्वाचन क्षेत्र विकास आयोजना सार्वजानिक गर्ने क्रममा बोल्दै अध्यक्ष ओझाले धारा निमार्णको काम भएको बताउँदै भने, ‘हामिले ५४ वटा योजना बनाएका थियाँ,ै पानीको योजनाप नि छ । २ महिनामा नै पानी पुग्छ ।’





