ठुलाखर्क । अर्थात् अष्ट्रेलियन क्याम्प । मर्दी पदमार्गको मुख्यद्धार ।
कुनै समय भेडी गोठ अर्थात् खर्क लाग्ने समथर ठाउँ हो यो । अहिले भने घुम्न आउनेहरुको लागि नामी डेस्टिनेसन । कोही यतैबाट पदयात्रामा रमाउँदै हिमालको काखमै पुग्छन्, पछ्याउँदै गोरेटोलाई । समय अनि स्वास्थ्यले साथ नदिनेहरु अघाउन्जेल यहीबाट हिमाल नियाल्छन् । धित मर्छ अनि फर्कन्छन् । कोही कफी पिउन उक्लन्छन्, कोही बर्थ डे वा त्यस्तै उत्सव सेलिब्रेसन गर्न । दसैं र तिहार ताका त ठेलमठेलम भीड थियो यहाँ । कोरोनाले घुम्न छेकेन । प्रकृतिको सुन्दरता विचरण गर्न रोकेन ।
यता फरक लक्ष्य अनि अभिलाषासहित पुगेका थिए उनी । अक्टोबर ७ बाट उनी ठुलाखर्कमै छन् । दसैं तिहारको चाडमय समय उनले उतै बिताए । अझ भनौं, यो वर्ष करिब २ महिनाको लागि अध्ययन क्षेत्र हो ठुलाखर्क उनको । सिकारी चरा अर्थात् ‘¥याप्टर’को गणना अनि अनुसन्धानका लागि । धेरै लामो समयदेखि विशेषतः सिकारी चराको अध्ययन अनि अनुसन्धानमा लागिपरेका उनै जुझारु युवा एवं अनुसन्धानकर्मी हुन्, सन्देश गुरुङ ।
छ्याङ्ङ खुलेको आकाश अनि लोभलाग्दो माछापुच्छ«े देखिन्छ आँखै अगाडि । बिहानै ७ बजेको कठ्यांग्रिदो जाडोसँगै उनको दैनिकी सुरु हुन्छ । त्यस रुटबाट उड्ने सिकारी चराहरु गणना गरिन्छ, साँझ ५ बजेसम्म । अनि त्यसलाई हरेक घण्टाको समयवाधिमा छुटाउने । गणना मात्र नभई उनीहरुको उमेर अनुसार तिन भागमा वर्गीकरण पनि गरिन्छ । अल्प–वयश्क, वयश्क अनि बच्चा । उनलाई यस वर्ष साथ दिदै छन्, वन क्याम्पसमा अध्ययनरत मिलन बरालले । यसबाट उपलब्ध जानकारी सिकारी चराको अध्ययन, अहिलेको चुनौती र संरक्षणका कदम चाल्न धेरै टेवा पुग्छ ।
बाइनोक्युलर, स्पोटिङ स्कोप र क्यामरा उनीहरु प्रयोग गर्छन् । ‘बाइनोक्युलरबाट कुन प्रजातिको सिकारी चरा भनेर पत्ता लगाउन सकिन्छ’, उनी भन्छन्, ‘प्रजाति मात्र नभएर उमेरको आधारमा पनि विभाजन गर्नुपर्ने भएकाले क्यामरामा फोटो कैद गरेर अध्ययनलाई सहज बनाइन्छ । यसका लागि विशेष गरी उनीहरुको शारीरिक बनोट र भुत्लाको ढाँचालाई ख्याल गर्नुपर्छ ।’
सिकारी चरा । चराकै एक महत्वपूर्ण प्रजाति । हुनतः हरेक चराको आफ्नै महत्व रहन्छन् नै । नेपालमा मात्र ६० प्रजातिका दिनमा सक्रिय हुने सिकारी चराहरु पाइन्छन् । जुन विश्वमा पाइने सिकारी चराको १९ प्रतिशत हो । चिल, गिद्ध, बाज, भुइँचिल आदि मुख्य प्रजातिहरु हुन् । तर कमैको रुचिमा रहेको विषय । अझ भनौं, नेपालको सन्र्दभमा यसको अध्ययन र अनुसन्धानमा लागेकाहरुको संख्या एकदमै थोरै छ ।
करिब एक दशक लामो यसै क्षेत्रमा समय व्यतित गरिसकेका गुरुङ युवाहरुका लागि प्रेरणाका स्रोत हुन् । चरामा पनि सिकारी चरामै किन यस्तो लगाबभन्दा उनले आफ्नो विगत यसरी सम्झिए, ‘मलाई सानैदेखि अरु चराले भन्दा पनि शिकारी चराले खै किन हो लोभ्याउथ्यो । मान्छेहरु भन्छन् नि ‘इन्नेट बिहेबियर’ । अर्थात् जन्मजात । हो त्यस्तै लाग्छ मलाई । अरुहरु चिल, गिद्ध आए लखेटिदिन्थे, ढुंगाले हानेर धपाइदिन्थे तर खै किनहो कुन्नि, मलाई तिनीहरु औधी मन पर्थे । प्रिय लाग्थे ।’
उनी जन्मिएका थिए, लमजुङको चरा गाउँमा । अहिले भने उनी पोखरातिरै बस्छन् । गुरुङ संस्कृति अनुसार वर्ग पनि उनको गिद्ध वर्ग । यो संयोग मात्र हुन सक्छ । तर उनको माहोल नै पहिलेदेखि चरामय थियो ।
प्लस टु साइन्स पढे उनले । साथीहरु कोही डाक्टर त कोही इन्जिनियरको ब्रिजकोर्स गर्न राजधानी हानिएका थिए । तर उनी यतै पोखरा बसे । आफ्नो रुचिलाई मर्न दिएनन् उनले । अनि सुरु गरे पि.एन क्याम्पसमा बि.एस.सी मा जुलोजी पढाइ । उनको सपनाले विस्तारै साकार रुप लिन थाल्यो । पढाइसँगै उनी विभिन्न अध्ययन अनि अनुसन्धानमा लाग्दै गए, आफ्नो ज्ञानको दायरालाई बढाउँदै गए । समयसँगै खारिदै गए । यसैमा रमाउँदै लाग्न थाले ।
डा. तुलसीराम सुवेदी । अर्थात् उनका गुरु । हिमाली प्रकृति नामक संस्थाका प्रोगाम डिरेक्टर । उनीसँगको भेट नै उनको जीवनको अर्को ‘माइलस्टोन’ साबित बन्यो । सन् २०१३ मा उनले पहिलो पटक ठुलाखर्कमा गुरुसँगै सिकारी चराको गणना र अध्ययनको ट्रेनिङ गर्दा ताकाको सम्झना यसरी पस्कन्छन्, ‘म भर्खरको आलो काँचो थिए त्यसबेला, उमेर अनि अनुभवको आधारले । विस्तारै समयसँगै परिस्कृत हुँदै गए । अनुभव बटुल्दै गएँ । सिक्दै अनि बुझ्दै गएँ । अहिले आएर यहाँको गणनाको लिडिङ गर्न पाउनु नै मेरो लागि सुखद पक्ष हो ।’
सिकारी चराहरु जाडो छल्न साइबेरिया, मंगोलियाबाट नेपालको बाटोहुँदै भारत, पाकिस्तानमा त कति साउथ अफ्रिकासम्म पुग्छन् । कति नेपालकै विभिन्न ठाउँहरुमा बस्छन् पनि । जाडो याम सकिएपछि फर्कछन् आफ्नै थलो । उच्च हिमालको पासहरु पार गर्दै हरेक वर्ष आउने उनीहरु निश्चित बाटो पछ्याउँछन् । हिमाल, नदी, खोला आदिलाई आधार गरेर तिनीहरु उड्छन् । हो, विभिन्न रुटहरुमध्ये ठुलाखर्कहुँदै उड्ने रुट एक उपयुक्त रुट मानिन्छ, उनी थप्छन्, ‘मनाङ, मुस्ताङलगायत विभिन्न ठाउँ हुँदै उड्छन् । कति त अझै डिस्कभर नै भएका छैनन् । यसमध्ये पनि ठुलाखर्क उपयुक्त मानिन्छ । पोखराबाट यति नजिकैको सिकारी चरा अध्ययन, गणना अनि अनुसन्धान गर्ने अर्को ठाउँ बिरलै होला ।’
सिकारी चरालाई जति महत्व दिइदैन, त्यति नै यसको बढी महत्व रहन्छ सबैमा । मानवमा अनि प्रकृतिमा । प्रकृतिको पर्यायवरण सन्तुलित बनाउन यसले खेल्ने भूमिका अतुलनीय रहन्छ । भनिन्छ, सिकारी चरा किसानको साथी हो । किसानका शत्रु मानिने मुसा, फट्याङ्ग्रा, सर्प आदि खाएर चिल, बाज आदिले मद्दत पु¥याउँछ भने गिद्ध प्रजातिले सिनो भोजन गरेर झाडापखाला, हैजा आदि महामारी फैलन नदिन भूमिका खेल्छ । यस्तै अनगिन्ती महत्व रहन्छ सिकारी चराको । अझ राती सक्रिय हुने सिकारी चराजस्तै लाटोकोसेरोको महत्व पनि उस्तै रहन्छ ।
लामो समयको उनको यस गणनाको अनुभवमा सिकारी चराको संख्या घट्दो देखिन्छ । यो आफैंमा चिन्ताको विषय पनि रहन्छ । गणनामा सबैभन्दा बढी देखिने गोमायु महाचिल र हिमाली गिद्ध क्रमशः पर्दछन् । हरेक वर्ष घट्दो संख्यामा रहनु पछि धेरै कारणहरु छन् । अझै पनि मानिसहरु चितुवाको आतंक कम गराउन विषादी सिनो प्रयोग गर्छन् । चितुवा त मर्छ मर्छ, सँगै त्यस सिनो खाएर गिद्धहरु पनि मर्छन् । डाइकोफ्लेनकजस्ता प्रतिबन्धित केमिकलको प्रयोग अझै अवैधानिक रुपमा प्रयोग गरिन्छ । यता बढ्दो सहरीकरणसँगै रफ्तारमा बढेको अव्यवस्थित विद्युतहाई भोल्टेज ट्रान्समिसन लाइनको सिकार बन्छन् यिनीहरु । वर्षेनी सयौंको संख्याका यिनीहरुले ज्यान गुमाउँछन् । यता तस्करीका घटनाहरु पनि छिटफुट भेटिरहन्छ । साथै मानवले प्रयोग गरेका किटनाशक, जंगल फँडानी, वन आगलागी, मानव–चिल द्धन्द्ध, आदि अन्य चुनौतीहरु हुन् ।
त्यसैले उनी विभिन्न ठाउँमा हाई भोल्टेज ट्रान्मिसन लाइनले शिकारी चरालाई परेको असरको अध्ययनमा जुटिनै रहेका छन् । पहाडी सदचिल र लघु महाचिलको प्रजनन व्यवहार, बास स्थानको अध्ययन, खोज र अनुसन्धानमा लागिपरेका छन् । हिमालदेखि तराई अनि मेचीदेखि महाकाली उनी पुग्छन् । अध्ययन गर्छन्, बुझ्छन्, सिक्छन् । त्यहीं अरुलाई सिकाउँछन् । खुल्ला प्रकृतिमाझ उनी महिनौ कुनै अनकन्टार ठाउँमा खोजका लागि तल्लीन रहन्छन् ।
उनी, डा. तुलसी राम सुबेदी र डा. हेमसागर बरालको संयुक्त टिममा पहाडी सदलचिल, हिमाली गिद्ध, र लघु महाचिलमा सेटलाइट ट्रान्समिटर जडान कार्यमा लागिपरेका छन् । यसले तिनीहरुले प्रयोग गर्ने क्षेत्र, बासस्थान, आदिका बारेमा जानकारी लिन सकिन्छ । यो नौलो प्रयोग पनि रहन्छ नेपालमा । साथै यी प्रजातिका प्रजनन् प्रक्रियाबारे पनि अध्ययनरत छन् उनी । जसले पक्कै आगामी दिनहरुमा यसको संरक्षणमा टेवा पु¥याउनेमा उनी विश्वस्त छन् । जति संरक्षणको रणनीतिहरु तर्जुमा गरिएको छ, ती अपर्याप्त छन् । पक्कै यस प्रविधिबाट उपलब्ध जानकारीबाट अझ सशक्त संरक्षणका कदमहरु चलाउन सकिन्छ । र कोशेढुंगा साबित बन्न सक्छ ।
सिकाइकै दायरालाई बढाउन विभिन्न देशहरुमा आयोजना हुने सेमिनार र तालिममा सहमागी हुन उनी पुग्छन् । अध्ययनकै लागि पनि पुगिरहन्छन् । जति सिक्छन्, बुझ्छन्, त्यनि नै अरुलाई बुझाउँछन् । विभिन्न विद्यालय, कलेजहरुमा यसको संरक्षणका लागि जनचेतनामुलक कार्यक्रम मात्र गर्दैनन्, विभिन्न सेमिनार एवमं तालिम पनि उनी दिन्छन् ।
निमार्णधीन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रि«य एयरपोर्टले सिकारी चरालाई धेरै असर पु¥याउन सक्ने बताउँदै उनले भने, ‘एयरपोर्ट नजिकै पोखराको डम्पिङ साइट छ । यो नै विश्वका लोपोन्मुख मानिने सेतो गिद्ध, सुन गिद्ध, डङ्गुर गिद्ध आदिका लागि उपयुक्त बासस्थान र तिनीहरुको चरन क्षेत्र मानिन्छ । हिमाली गिद्ध जाडो छल्न यही आइपुग्छन् । एक त एयरपोर्ट निमार्णपश्चात विमान दुर्घटना हुने सम्भवना बढी देखिन्छ, जुन भयावहक बन्न सक्छ । साथै यसले त्यहाँ रहेका गिद्धहरुको खानपान, बासस्थान अनि प्रजनन्मा पनि ठुलो खलबलल्याउने देखिन्छ । यसले अन्तत्तोगत्व वातावरणमा ठुलो असर पु¥याउँछ । खै, यसबारे कुन तहको अध्ययन गरेर एयरपोर्ट निमार्ण सुरु भयो, त्यो अनुसन्धानको विषय रहन्छ । यसलाई समयमै ध्यानाकर्षण नदिए ठुलै चुनौती थपिन सक्छ ।’
ठुल्ठुला प्रोजेक्टहरु प्रायः ठुला जनावरहरुको संरक्षण, अध्ययन अनि अनुसन्धानका लागि लगानी गर्ने परिपाटी देख्दा खिन्न छन् उनी । अझै नेपालमा सिकारी चराकै लागि अध्ययन, खोज र अनुसन्धान अपर्याप्त ठान्छन् । नेपाल आफैंमा सिकारी चराको अध्ययनका लागि विश्वकै एक उपयुक्त बन्न सक्छ । अझ यसैलाई ‘¥याप्टर टुरिजम’को उपमा दिएर नेपालको पर्यटनमा छलाङ मार्न सक्नेमा उनी विश्वस्त छन् । कोरोनाले थिलथिल पारेको नेपालको पर्यटनलाई केही हदसम्म यसले उकास्न सक्छ ।
समयसँगै उनको अनुभवको दायरा फराकिलो बन्दै छ । अझ यसैमा बाँकी जिवन व्यतित गर्ने उनको सपना । उच्च शिक्षा यसै विषयमा केन्द्रित रही पढ्ने उनको संकल्प छ । उनी काम बढी, हल्ला कम पिट्ने खालको मान्छे । थोरै योगदान दिएर धेरै प्रचारबाजी र आफ्नै गुणगान गर्न रुचाउनेको जमातभन्दा फरक छन् उनी । अझभनौं गुमनाम एक अथक संरक्षणमा लागेका संरक्षणकर्मी । प्रेरक अनुसन्धानकर्मी ।
त्यसैले त उनी विशेष छन् । छुट्टै इमेज बोकेका उनी युवा पुस्ताका लागि प्रेरणाका स्रोत तहुन् नै, एक आइकन पनि हुन् । समयले पक्कै एकदिन देखाउनेछ नै । भविष्यले उनको योगदानको मूल्यांकन गर्नेछ पक्कै । उनी जस्ता संरक्षणमा होमिने सैयौं उर्जाशील र कर्तव्यनिष्ठ युवाहरुको खाँचो छ यहाँ । अनि मात्र नेपालमा चरा संरक्षण, अध्ययन अनि अनुसन्धानमा ठुलो उपलब्धी मिल्न सक्छ । आगामी दिनको शुभकामना उनलाई ।





