मध्यपहाडी लोकमार्गको खाका कोरिएको १० बर्ष पुगेको छ । आयोजनाले कतिपय स्थानमा पुराना ट्रयाकलाई आफ्नो सडक बनाएको छ । कतिपय स्थानमा नयाँ ट्रयाक खोलिएको छ । नयाँ ट्रयाक खोलिएका स्थानमा सडक कालोपत्रे समेत भैसकेको छ । तर जहाँ पुरानै सडकलाई ट्रयाकको रुपमा लिइएको छ ती स्थानमा ठेकेदारहरुले बिभिन्न बाहनामा काम अलपत्र पार्ने क्रम बढेको छ ।
बिशेषगरी ठेकेदारले पुरानै ट्रयाकमा यातायात संचालन भएको बाहनामा काम नगर्ने प्रवृत्ती बढेको हो । बाटो ठप्पै नभएको भन्न पाएपछि धेरै स्थानमा ठेक्का लिने, काम नगरेको स्थानमा कहिले कोरोना, लकडाउन र स्थानीय जनतालाइ दोष दिएर उम्कने प्रयास गरिरहेका छन् । त्यसको सबैभन्दा गतिलो उदाहरण बागलुङ बजारदेखि घोडाबाँधेको २५ किमी खण्ड बनेको छ । दशक अघि काम थालेर पनि ठेकेदारहरुले यो खण्डमा ठूलो लापरबाही गरेका छन् । कहिले म्याद थप्ने, कहिले मूल्य बढेको भन्दै भेरिएसन खोज्ने, कहिले डिजाइन परिवर्तन गराउन भन्ने र कामलाई आलेटाले गरिरहेका छन् ।
ठेकेदारले स्थानीय प्रशासनलाईपनि गुमराहमा राखेका छन् । म्याद थप्ने बेला आयो भने उनीहरुले एउटा बाहना बनाउने गर्छन् । त्यसपछि एक बर्ष सम्म आउँदैनन् । मुख्य ठेकेदार कहिले पनि फिल्डमा नआउने, पेटी ठेकेदारको रुपमा तीन तहसम्म तल्लो पाटीलाई काम दिने र माथिल्लो तहमा उच्च राजनीतिक, प्रशासनिक र सुरक्षा अधिकारीको नजिक बन्ने प्रवृत्ती बढी छ । उच्च तहबाट संरक्षणमा बस्ने प्रवृत्तिले तल्लो तहका कर्मचारी,राजनीतिककर्मी र नागरिक समाजालई पुरै वेवास्ता गर्ने प्रवृत्तिले हजारौं जनताले दुःख पाइरहेका छन् ।
२५ किमी खण्डको सडक बर्षेनी सास्ती खेप्ने स्थल बनेको छ । यस्तो कारणले हरेक बर्षातमा सुत्केरी, बिरामी र बुढाबुढीले बढी दुःख पाउँछन् । यो क्रम अहिले सम्म चलिरहेको छ । आइतवार पनि बडिगाड गाउँपालिकाकी एक महिलाको हेलिकोप्टरबाट उद्दार गरिएको छ । सदरमुकाम सम्म आउने सडकको हालत खराव भएको, समयमा आउन नसकिने, आइहालेपनि कुन स्थानमा रोकिनुपर्ने हो भन्ने यकिन नहुने जस्ता समस्याबाट आक्रान्त भएपछि गाउँपालिकाले डेढलाख रुपैयाँ खर्चेर हेलिकोप्टरबाट उद्दार गरेर पोखरा पठाउन बाध्य भएका छन् ।
गत बर्षको तिज देखि दशै सम्म ठेकेदारले प्रशासनलाई यस्तै गुमराहमा पारेका थिए । म्याद थपकालागि सहयोग पुग्ने र प्रशासनले साथ दिने बिकल्पको रुपमा ठेकेदारले एक महिना राजमार्ग रोकेर काम सक्ने बताए । तर एक महिना जनतालाई सास्ती दिएर रोकिएको सडकमा १० प्रतिशत पनि काम गरेनन् । पाँच बर्ष अघि दुइवटा ठेकेदारले काम नगरेर छाडेपछि जिम्मा लिएका अर्का दुइ ठेकेदारले पनि यो सडकमा फेरी काम अलपत्र पारेका हुन् । उनीहरुले पनि पटक पटक स्थानीयलाई आश्वासन मात्रै बाँडेका छन् । कहिले गिटी थुपारेर काम थालेको भन्दै छाडेर जान्छन् । गत चैत देखि भने कोरोनाको बाहना गतिलो हतियार भएको छ । सरकारले पनि कोरोनाको प्रभाव परेका आयोजनामा एक बर्ष म्याद थप्ने निर्णयले उनीहरुको स्वार्थ पुरा भएको देखिन्छ । एक बर्ष अझै म्याद थपिने संभावना भएपनि ठेकेदारहरुको नियत सफा नभएसम्म यस्ता धेरै बर्ष म्याद थपिएपनि बिकास निर्माणका योजना पुरा हुने अबस्था छैन ।

