पोखरा, २६ मंसिर– पोखरामा जनस्तरबाट स्थापना गरिएको जनप्रिय बहुमुखी क्याम्पस २९ औं वर्षमा प्रवेश गरेको छ । सामुदायिक क्याम्पसमा अहिले ५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । क्याम्पसले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पसमध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको क्याम्पसले दुई पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पनि पाएको छ ।
विश्वविद्यालय अनुदान आयोगबाट गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र प्राप्त क्याम्पसले स्वायत्त कार्यक्रमअन्तर्गत स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट चलाइरहेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर विसिए, विएस्सी फिजिक्स, विएस्सी सिएसआइटीका कार्यक्रम चलाउन दरखास्त बुझाएको छ ।
२९ औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित व्यक्तित्व गण्डकी प्रदेशमा सभासद विन्दुकुमार थापाले क्याम्पसको शैक्षिक गतिविधि अब्बल र उत्कृष्ट रहेकाले विद्यार्थीको बढ्दो आकषर्णलाई ध्यान दिई दक्ष जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरे ।
क्याम्पसका सल्लाहकार परशुराम बरालले कोरोनाका कारण क्याम्पस सञ्चालनमा चुनौती देखिएको हुँदा समास्या समाधानका लागि लाग्न जोड दिए । क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जेएमीले शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिवद्धता सहित ५ वर्षे रणनीतिक योजना अनुरुप मानित विश्वविद्यालय बनाउन लागेको बताए ।
लकडाउनका बेला पनि युजिसीबाट १२ लाख ५० हजार सहयोग लिएर पठनपाठन अनलाइनमार्फत् सञ्चालन गरेको क्याम्पसले भौतिक दूरी कायम गर्दै परीक्षा पनि चलाइरहेको उनले बताए । पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै ४७ हजारभन्दा बढी विषयगत पुस्तक राखिएको क्याम्पसबाट उत्पादित ८ सय ८८ दक्ष जनशक्तिको ट्यासर स्टडी गरिएको छ । क्याम्पस प्रमुख गौतमले गरिब तथा जेहन्दार, पिछडिएका क्षेत्रबाट आउने विद्यार्थीलाई १० प्रतिशत छात्रावृत्ति सुविधा छुट्याएको क्याम्पसले चालु आर्थिक वर्षका लागि २० करोड ४७ लाख ८ हजार ५ सय ४ रुपैयाँ ३ पैसाको अनुमानित बजेट तर्जुमा गरेको जानकारी दिए ।
वार्षिकोत्सव कार्यक्रममा पूर्व अध्यक्ष दामोदर चालिसे, सल्लाहकार हरिनारायण गिरी, सिर्जना विकास केन्द्रका अध्यक्ष मीनप्रसाद भट्टराई, स्ववियु सभापति आशिक गुरुङ लगायतका वक्ताले शुभकामना मन्तव्य राख्दै क्याम्पसलाई केन्द्रमा राखेर यसमको मर्म अनुसार अगडि बढ्न जोड दिएका थिए ।
अध्यक्ष तारा गिरीले आफू र धर्मपत्नी ज्ञानु गिरीको नामबाट ‘ज्ञानतारा अक्षय कोष’ स्थापना गरेका छन् । प्रमुख आमन्त्रित थापाले २ लाख १ हजार एक सय एघार रुपैयाँको चेक क्याम्पस प्रमुख वीरञ्जी गौतम र कोषाध्यक्ष राजेन्द्र पहारीलाई हस्तान्तरण गरे । अक्षय कोषको व्याजबाट हरेक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्ने उद्धेश्य रहेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष तारा गिरीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष बीरबहादुर अधिकारीले स्वागत मन्तव्य, सञ्चालक समितिका सदस्य सोमनाथ बरालले धन्यवाद ज्ञापन गरेका थिए भने सहायक क्याम्पस प्रमुख भेषराज बराल उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए ।





