मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

रायडाँडाका सबै बस्तीमा सडक

रायडाँडाका सबै बस्तीमा सडक

तीन वर्षमा झण्डै १ करोड ५० लाख रुपैयाँ यहाँका बस्ती जोड्ने सडकका लागि लगानी भएको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०७७, आइतबार
फाईल फोटो

बागलुङ, २८ मंसिर– भौगोलिक रुपमा कठिन भएकोले बिशेष क्षेत्रमा समेटिएको बागलुङ नगरपालिका–११ रायडाँडाका बसै बस्ती सडक संजालले जोडिएका छन् ।
जनप्रतिनिधि आएपछि वडा तहसम्म पुग्ने विकास बजेट बढेको, प्रत्यक्ष निगरानीमा काम गर्न सकिने र परदर्शीता कायम गर्दा तीन वर्षमा सबै बस्ती जोड्न सकिएको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । रायडाँडाको तल्लो र माथिल्लो रामतोला, आफ्रे सल्र्यान, इकिनधारा, सिकादिप, गिलार तथा ओखले सिम्लेसम्मका सबै बस्ती सडक संजालमा जोडिएका हुन् ।
‘यसअघि रामतोलाका मानिसले आफ्नै वडाको मुकाम पुग्न भकुण्डेको बाटो हिड्नु पथ्र्यो’ गौतमले भने, ‘बालबालिकाको लागि विद्यालयहरु पनि नजिक भएका छन् ।’ अन्य विकासका काम गर्न बाँकी भएपनि सडक संजालले जोडिंदा समेत धेरैले खुसीयाली मनाएको उनले दाबी गरे । अहिले रायडाँडाबाट दैनिक चारवटासम्म जिप सदरमुकामका लागि चल्न थालेका छन् । सडक सहज भएपछि बिरामी, बुढाबुढीले बढी सेवा पाएको बताए ।
तीन वर्षमा झण्डै १ करोड ५० लाख रुपैयाँ यहाँका बस्ती जोड्ने सडकका लागि लगानी भएको छ । ती सडक जोडिएपछि दैनिक आउजाउमा सहज भएको स्थानीय विद्यार्थी प्रगती थापाले बताइन् । ‘विद्यालय आउन दुइ घण्टा लाग्थ्यो, सडक बनेपछि पैदलै आएपनि १ घण्टामा छोटियो’ उनले भनिन्, ‘गोरेटो बाटोमा लडिएलाझै लाग्थ्यो, अहिले सहज भयो ।’ साना बालबालिका विद्यालय पठाउन डराउने अभिभावक पनि अहिले पठाउन तयार भएका छन् ।
रामतोलादेखि भकुण्डेको हिराताल पुग्ने सडक र रायडाँडाको मुकाम जोड्ने गरी अर्को सडक पनि बनेको छ । ५० लाख खर्चेर वडाले जोडेको सडकमा पहरा फोड्न नसकेपछि नेपाली सेनाले साथ दिएको थियो । सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलको टोलीले पहरामा विष्फोट गराएर सडक जोड्न सहयोग गरेको हो ।
डोठेआल रामतोला जैमिनी सडकमार्फत पूर्वाधार विकास कार्यालयले पनि यहाँ ४३ लाख लगानी गरेर सडक संजाललाई तल्लो रामतोलामा जोडेको छ । यो सडक बनेपछि सदरमुकाम पुग्न सहज भएको तल्लो रामतोलाका नारायण शर्माले बताए । ‘किसानले गाइभैसी वारपार गराउने सडकसमेत थिएन, अहिले धेरै सहज भयो’ शर्माले भने, ‘अबका दिनमा सडक स्तरोन्नतीको काम गर्नुपर्छ ।’
ग्रेड मिलेको सडक भएकोले अब छिटै स्तरोन्नतीका लागि पहल गर्ने गौतमले बताए । ‘बस्तीका लागि सडकै नभएको भन्ने अब खास छैन, अबको लगानी सडकहरुको स्तरोन्नतीमा लगाउने भनेका छौं’ गौतमले भने, ‘विशेष क्षेत्रको रुपमा घोषणा भएरपनि मन्त्रीपरिषदबाट पारित नभएकोले विशेष लगानी पाउन सकिएको छैन ।’ विशेष क्षेत्र बिकास कार्यक्रमको बजेट ल्याउन सकेमा मुख्य सडक कालोपत्रेसमेत गर्न सकिने उनले बताए ।
भकुण्डेदेखि रायडाँडाहुँदै दमेक जोडेर गुल्मीको शान्तिपुरसम्म पुग्ने सडकको रुपमा विकास गर्ने भएकोले मुख्य सडकखण्ड भने नगरपालिका र गण्डकी प्रदेशकै गौरवको आयोजनामा पर्ने भएको छ । यो सडकले रायडाँडादेखि आफ्रे सल्र्यानहुँदै दमेक जोड्ने छ ।
दमेकको सिमानासम्मको २५ किमी खण्ड चालु वर्षदेखिनै स्तरोन्नतीको काम थालिने बताइएको छ । रायडाँडामा साग, अदुवा र अन्य तरकारी प्रसस्त उत्पादन हुन्छ । सडक संजालको अभाव र भएको सडक अप्ठ्यारो हुँदा किसानले बजारमा बिक्रीका लागि पठाउन सकेका थिएनन् । सडक सहज भयो भने सोझै बजारमा लगेर बेच्न सकेमा सागबाटै धेरै फाइदा कमाउन सकिने स्थानीय चिरन्जिवी शर्माले बताए । ‘अर्काको भरमा पठाउने र ढीला पुग्ने समस्या भए तरकारी बिक्दैन’ उनले भने, ‘सजिलो बाटो भएमा छिटो बिक्री गर्न सकिने हुँदा गाउँको उत्पादनले मनग्ये कमाइ गर्न सकिन्छ ।’ अहिले पनि रायडाँडाका किसानले बाख्राबाट भने राम्रो कमाइ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->