बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विप्लवको गलत बाटो

विप्लवको गलत बाटो


  • Dhorpatan News
  • मंसिर २९ २०७७, सोमबार

मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको निर्मम हत्या भयो । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी माओवादीको विप्लव समूह) ले मोरङ मिक्लाजुङ–७ का शिक्षक राजेन्द्रको निर्मम हत्या गरेको स्वीकारेको छ । आफूविरुद्ध सुराकी गरेको आरोपलगाउँदै विप्लव समूहले श्रेष्ठलाई घरबाट अपहरण गरी यातनापछि निर्मम हत्या गरेको हो । राष्ट्रिय मानव अधिकारी आयोगका अनुसार विप्लव समूहले खसी नदिएको रिसमा श्रेष्ठको हत्या गरिएको पाइएको छ । निहत्था शिक्षकको हत्या गरेर विप्लव समूहले व्यक्ति हत्याजस्तो जघन्य अपराधलाई राजनीतिक रुप दिने प्रयत्न गरेको छ । यो अस्वीकार्य र निन्दनीय मात्रै छैन दण्डनीय पनि रहेको छ ।
क्रान्तिको नाममा व्यक्ति हत्या कुनै पनि कोणबाट स्वीकारिँदैन । हिंसालाई राजनीतिक आवरण दिन खोज्नु नै बेइमानी हो । यो वा त्यो जुनसुकै बहानामा गरिने हत्या आतंककारी गतिविधि नै हो । आतंककारी गतिविधि नै हो । आतंककारी क्रियाकलापलाई राजनीतिक रंग दिन मिल्दैन । यो अपराध नै हो । विप्लव समूहबाट भएको अपराधले सशस्त्र युद्धकालीन समयको झल्को दिएको छ । १७ हजार मान्छेको ज्यान जानेगरि भएको सशस्त्र युद्धका बेला माओवादीले व्यक्ति हत्याको डरलाग्दो श्रृंखला चलाएको थियो । आफ्नो विचारसँग असहमत हुनेहरुलाई दुष्मन ठान्दै सफाया गराउने त्यही अतितको विप्लव समूहले पुनरावृत्ति गरेको छ । यसले समाजलाई आतंकित मात्रै बनाएको छैन, फेरि देश अशान्त हुने हो कि भन्ने आशंका जन्माएको छ । हिजो सशस्त्र युद्ध गरेको माओवादी अहिले सरकारमा छ । द्धन्द्धकालीन मुद्दाहरु अझै किनारा लाग्न सकेका छैनन् । द्धन्द्धले बनाएका घाउहरुमा अझै खाटा बस्न सकेको छैन । यस्तो बेला फेरि त्यही प्रवृत्ति दोहोरिनु भनेको हिंसालाई आफ्नो अभिष्ट पूरा गर्ने साधन बनाउन मिल्छ भन्ने मान्यता नै हो । यो कतैबाट पनि वैध छैन । हिंसा भनेकाने हिंसा नै हो । व्यक्ति हत्यालाई राजनीतिक हतियार बनाउन खोज्नु आतंकवाद नै हो । सरकारले आतंकवादलाई सरकारले हल्का रुपमा लिन मिल्दैन । अमूक वादको पछि लागेर हिंसा मच्चाउने र सत्तामा पुग्छु भन्ने सोच बोकेकाहरुप्रति राज्य कठोर बन्नुपर्छ । अपराधीले उन्मुक्ति पाउने अवस्था आउनु हुँदैन । विप्लव माओवादी प्रतिबन्धित छ । उसले अहिलेको प्रतिष्पर्धात्मक राजनीतिलाई स्वीकारेको छैन । यो फरक कुरा हो तर आतंकको माध्यमबाट आफूलाई स्थापित गर्न खोज्नु कायरपना सिवाय केही हैन । नेपालका शान्तिपूर्ण तरिकाले राजनीतिक गर्न, आफ्ना विचारहरु जनतामाझ पु¥याउन र त्यहाँबाट अनुमोदित हुन कसैले छेकेको छैन । अतः विप्लव समूहले आफूलाई राजनीतिक शक्ति बनाउने हो भने शान्तिपूर्ण बाटोबाटै जन अनुमोदित हुन खोज्नुपर्छ । आतंक छाड््नुपर्छ । सोझासाझा नागरिकमाथिको ज्यादति बन्द गर्नुपर्छ । क्रान्तिको नाममा गरिने कायरतापूर्ण व्यवहारहरु रोकिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->