मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

प्रभावकारी बन्दै ‘सुत्केरीलाई रातो भाले’ कार्यक्रम

प्रभावकारी बन्दै ‘सुत्केरीलाई रातो भाले’ कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०७७, सोमबार

बागलुङ, २९ मंसिर– गर्भवती महिलालाई गर्भ रहेको तीन महिनादेखि सुत्केरी नहुने बेलासम्म कम्तिमा चार पटक स्वास्थ्य संस्थामा पु¥याउनु पर्छ । गर्भमा रहेको बच्चा तथा आमाको अवस्थाबारे नियमित जाँचबाट मात्रै जानकारी हुन्छ ।
नियमित स्वास्थ्य संस्था पुगेर गर्भको जाँच गरेका महिलालाई सुत्केरी समयमा हुनसक्ने खतरा र गर्भावस्थामा चाहिने पोषणको विषयमा स्वास्थ्यकर्मीले जानकारी गराउँछन् । सामाजिक मान्यता, लाज र पारिवारिक कारण अझैपनि गाउँका गर्भवती महिला स्वास्थ्य संस्था पुग्दैनन् । खुलेर आफ्ना समस्या स्वास्थ्यकर्मीलाई जानकारी गराउँदैनन् ।
परिवारमा चेतना, समाजमा सन्देश र महिला स्वयंलाई उत्साहित बनाउँदै स्वास्थ्य संस्थामा पु¥याउनका लागि यहाँको बरेङ गाउँपालिकाले पृथक कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । बरेङले कहिले घ्यूको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ ।
संस्थागत सुत्केरी र मातृशिशु मृत्युदर कम गर्न बरेङले कार्यक्रम बनाएको छ । गर्भजाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गर्भवतीलाई अण्डा र आयोडिन नुन वितरण र ‘उपाध्यक्षसँग संस्थागत सुत्केरी उपहार कार्यक्रम’ चालु बर्षमा सञ्चालन गरेको छ ।
गत वर्षमा सञ्चालन गरिएको सुत्केरीलाई रातोभाले र घ्यू कार्यक्रम प्रभावकारी देखिएपछि यो वर्ष पनि उपहारको कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिका उपाध्यक्ष डिलकुमारी पुनले बताईन् । गाउँपालिकाले यो कार्यक्रमअन्र्तगत सुत्केरीको घर घरमै पुगेर भाले उपहार दिने गरेको छ ।
भाले उपहार पाउनका लागि गर्भवती महिलाले चार पटक स्वास्थ्य संस्था पुगेर जाँच गरेको हुनुपर्छ भने स्वास्थ्य संस्थामै सुत्केरी भएको हुनुपर्ने व्यवस्था छ । गाउँपालिकामा सुत्केरी भएको विवरण स्वास्थ्य संस्थामार्फत गाउँपालिकाको स्वास्थ्य शाखाले संकलन गर्छ । शाखाको विवरणका आधारमा भाले बोकेर उपाध्यक्ष सुत्केरी भेट्न पुग्ने गरेकी छन् ।
‘कार्यक्रमले जाँगर पैदा गरेको छ, देख्दा सानो तर मातृशिशु मृत्युदर घटाउन प्रभावकारी मानेका छौं’ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने ‘सानो उमेरमा गर्भ बोक्न हुन्न, समयमा घटना दर्ता गर्नुपर्छ र गर्भावास्थाको जाँच गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको छ ।’
चालु वर्षको पछिल्लो पाँच महिनामा बरेङमा ६१ सुत्केरीलाई भाले वितरण गरिएको छ । छुटेका केही सुत्केरीलाई वितरणको तयारी भैरहेको अध्यक्ष शर्माले बताए । बरेङमा एउटा वयस्क कुखुराको भालेलाई एक हजार पाँच सयदेखि दुई हजार पाँच सय रुपैयाँसम्म पर्छ । ‘थोरै रकमको भएपनि सरकारले दिन्छ भनेर गर्भवतीहरु खुल्न र दर्ता हुन थालेका छन्’ अध्यक्ष शर्मा भन्छन् ‘जसका कारण हामीले तथ्यांक, योजना बनाउन सजिलो भएको छभने घरमै हुने सुत्केरीका कारण रहेको जोखिम कम भएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->