मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

लोकमार्गको बागलुङ खण्डको दुर्दशा : दश वर्षमा ५० प्रतिशत काम !

लोकमार्गको बागलुङ खण्डको दुर्दशा : दश वर्षमा ५० प्रतिशत काम !


  • ढोरपाटन संवाददाता
  • मंसिर ३० २०७७, मंगलबार

बागलुङ, ३० मंसिर– मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको २५ किमी सडक वर्षौदेखि अलपत्र छ । २०६८ सालदेखि थालिएको लोकमार्ग आयोजनाको काम पटक पटक अलपत्र पर्दै ५० प्रतिशत मात्रै पुरा भएको हो ।
यहाँको २५ किमी खण्डको कतिपय स्थानमा अझै चौडा पार्ने काम भएको छैन । खाल्डा पुर्ने, ग्राभेल गर्ने र कालोपत्रेको काम कहिले हुने ठेकेदारले पनि बताउन सकेनन् । वर्षौदेखि काम अलपत्र पार्ने ठेकेदार भने लकडाउनलाई बहाना बनाएर तर्केका छन् । ठेकेदारले काम नगरेपछि वर्षात्मा यातायात ठप्पै हुन्छ । हिउँदमा पनि यात्रीले जोखिम मोलेर यात्रा गरिरहेका छन् ।
सडक ठप्प हुँदा पश्चिम बागलुङका ५ पालिकाका जनप्रतिनिधिले जिल्ला समन्वय, विकास निर्माणको समीक्षा र अन्य अत्यावस्यक बैठक भ्याउन पनि नसकेको गुनासो गर्छन् । धेरैपटकका बैठकमा आइपुग्न पनि नसकेर फर्कनु परेको पश्चिम क्षेत्रका जनप्रतिनिधिले गुनासो गरे ।
‘सडक समस्याले सदरमुकाम ल्याउन नसकेपछि दुई महिनामा ५ जना महिलालाई हेलिकोप्टरबाट उद्दार गर्नुप¥यो’ बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले भने, ‘सडकको सास्तीले पटक पटक जिल्ला टुक्राउने एजेण्डा बनाउनु परेको थियो ।’ अझै सडक सहज बन्नेमा उनले आशंका गरे । बागलुङदेखि घोडाबाँधेसम्मको २५ किमी खण्डको सास्तीले पश्चिम बागलुङको यात्रा कष्कर भएको थियो ।
तीन वर्षका लागि ठेक्का लिएका कम्पनीले पटक पटक अलपत्र पारेर ५ वर्ष पार गरिसकेका छन् । काम भने ५० प्रतिशत पनि गरेका छैनन् । ठेकेदार नआउने, चाडपर्व र असार मसान्तमा गिटी थुपारेर काम गरेझै मात्रै देखाउने गरेकोले सिंगो जिल्लाबासीले सास्ती खेपेको बागलुङ नगरपालिका वडा नं. ३ की अध्यक्ष लक्ष्मी बाँस्कोटाले बताइन् ।
‘राती एम्बुलेन्स फसियो भनेर फोन आउँछ, ठेकेदारहरु बेखबर छन्, तर जनप्रतिनिधिले कामै गरेनन् भनेर अरोप लाग्छ’ उनले भनिन्, ‘कामको जिम्मा लिएर अलपत्र पार्ने, मानिसको ज्यानै खतरामा परेका छन्, त्यसको जिम्मा कसले लिन्छ ?’ उनले ठेकेदारलाई प्रशासनले नियन्त्रणमा लिएर काम गर्न समेत आग्रह गरिन् ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले अब काममा यताउता हुन नदिने बताए । सबैको ताकेतापछि ठेकेदारले पनि आगामी जेठ मसान्तसम्म काम सक्ने प्रतिवद्धता जनाएका छन् । सदरमुकामदेखि अक्षेतेहुँदै सुल्डाँडासम्मको १३ किमी खण्ड भारत, सिद्धिसाइ संयुक्त निर्माण कंपनीले ठेक्का लिएको छ । यो खण्डको १३ करोड लागतमा ४९ प्रतिशत मात्रै काम भएको मुख्य ठेकेदार दिपेन्द्रबहादुर शाहीले बताए । ‘लकडाउन, खानेपानीको पाइपलाइन तथा केही घरटहरा हटाउने समस्याले काम रोकिएको हो’ शाहीले भने, ‘आगामी जेठ मसान्तसम्मको म्याद थपिदिने हो भने काम सक्छु ।’ उनले दुई पटक म्याद थप गरेर ५ बर्ष बिताएका छन् ।
बिहुँ घोडाबाँधे खण्डमा एमपीएसिएफ सूर्य संयुक्त निर्माण कम्पनीले ठेकका लिएको हो । २०७२ माघ १० को ठेक्काको कामबाट अहिलेसम्म ५५ प्रतिशत प्रगती भएको ठेकेदार सूर्यबहादुर खड्काले बताए । ‘आयोजना कार्यालयले डिजाइन फेर्न भनेपछि ७ किमी नाली निर्माण गरेको रकम भुक्तानीमा साथ दिएन’ खड्काले भने, ‘कामदारलाई ज्याला दिन नपाएपछि काम गर्न नसकेको हुँ ।’
मध्यपहाडी लोकमार्गको पर्वत, बागलुङ खण्ड हेर्ने आयोजना प्रमुख मेघराज मरासिनीले ठेकेदारहरु सम्पर्कमा नआउने मुख्य समस्या भएको टिप्पणी गरे । ‘सम्पर्कमा नआएपछि माथिल्लो तहमा समन्वय गर्न नसकिएको हो’ मरासिनीले भने, ‘अन्तिम पटकको लागि म्याद थप्नका लागि काम सक्ने ग्यारेन्टी माग गरेका छौं ।’ पटकपटक म्याद थपेर अलपत्र पार्नेगरी भुक्तानी दिन पनि नसकिने उनले बताए ।
काम नगरेमा आयोजनाले कालोसूचीको प्रयास थाल्ने तयारी गरेको थियो । ठेकेदारले भने ग्राभेलको सामग्री खन्ने र माटो फाल्ने काममा स्थानीयले अबरोध गरेको आरोप लगाए । बागलुङस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयले ३३ लाख ७० हजार भुक्तानी लिएर पाइपलाइन नहटाएको समेत शाहीले आरोप लगाए ।
घोडाबाँधेदेखि पश्चिमको १ सय १२ किमी सडक भने कालोपत्रे भैसकेको छ । सडकको सास्ती देखाएर संविधान निर्माणको बेला पश्चिमका ५ पालिकाले बुर्तिवाङ मुकाम रहनेगरी छुट्टै जिल्लाको माग गरेका थिए । २०५४ सालमा ग्रामीण सडकको रुपमा ट्रयाक खुलेको यो सडक २०६८ सालमा मध्यपहाडी लोकमार्ग आयोजनाले ठेक्का लगाएको थियो । यस अघिको ठेकेदारले पनि यहाँ काम छाडेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->