बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरोना खोपमा चासो दिऔं

कोरोना खोपमा चासो दिऔं


  • Dhorpatan News
  • मंसिर ३० २०७७, मंगलबार

कोरोनाको संकटले नेपाल भ्रमण बर्ष २०२० प्रभावित भयो । भ्रमणबर्ष सकिनै लाग्दा बिस्तारै संक्रमणको दर घट्दो दरमा देखिएपछि घुमफिरको समय सुरु भएको छ । बिशेषगरी गत चैत, बैसाख, जेठ र असोज तथा कात्तिक घुमफिरकालागि बढी उपयुक्त समय थियो । ती महिना संक्रमण र लकडाउनले ठप्प भए । घोषित बर्ष सकिनैलागेपनि हिउँदभर घुम्ने नेपालीको परंपरा अनुसार बिस्तारै व्यक्ति र समाज खुकुलो बन्दै गएको छ ।
अहिले नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु खुल्न थालेका छन् । सरकारले प्रतिबन्ध लगाएका स्थानमा पनि घुम्न पाउने व्यवथा गरेको छ । धार्मिक स्थलमा पूजापाठ गर्न पाउने गरी खुला भएका छन् । सार्वजनिक यातायात खुलेपछि व्यवपार व्यवसायले पनि गति लिएको छ । सरकारले घोषणा गरेका एकसय एक गन्तव्यहरु अहिले भरिभराउ बन्न थालिसकेको देखिन्छ । बिशेषगरी अन्नपूर्ण संरक्षण क्षेत्र, चितवन, पोखरा, इलाम जस्ता स्थानहरुको चहलपहलले पर्यटन व्यवसायपनि अब तंग्रने स्थितिमा छ ।
त्यसोत ८ महिना लामो संक्रमणले पर्यटन व्यवसायीहरु थिलोथिलो भएका छन् । उनीहरु मध्ये आधाजसोले पेशाबाटै पलायन बनेका छन् भने अन्यले पनि व्यवसाय खुम्च्याएका छन् । अझैपनि राजधानी काठमाण्डौमा दैनिक सयौं संक्रमित भेटिने गरेकोले बिदेशी हवाई कंपनी तथा बिदेशकालागि नेपाली उडान भएका छैनन् । आन्तरिक पर्यटक बाहेक तेस्रो मुलुकका पर्यटक आउने क्रमले कहिले सार्थकता पाउँछ भन्ने यकिन नभएको अबस्थामा पर्यटन व्यवसाय सहज भैहालेको भन्न मिल्दैन । साना व्यवसायी र आन्तरिक पर्यटकको गतिविधिले भने केही राहत मिलेको मात्रै हो ।
बिदेशी पर्यटक नआउन्जेल नेपालका तारे होटलहरुको दुर्दशा सोझो हुने स्थिति छैन । बरु लगानी छाडेर पलायन बन्ने अबस्था अझै उत्तिकै छ । तरपनि संसारका धेरै मुलुकमा कोरोनाको खोप आएको, परीक्षण र सर्वसाधारणमा लगाउने क्रम समेत सुरु भैसकेकोले केही उत्साहको लहर भने ल्याएको छ । यो उत्साहलाई नेपाल सरकारले पनि समयमै सम्बोधन गर्नुपर्छ । बिशेषगरी अझै एक बर्षकोलागि नेपालमा भौतिक बिकासको नाउँमा सडक खन्ने गतिविधि भन्दा खोप ल्याएर सबै नागरिकलाई लगाउने काम थाल्नु पहिलो प्राथमिकता हो । अमेरिकी नवनिर्वाचित राष्ट्रपतिले पदभार ग्रहण गरेको १ सय दिनभित्रै १० करोड जनतालाई खोप लगाउने प्रतिबद्धता जनाइसकेका छन् । यो अबस्थाले अमेरिकी नागरिकमा जुन खुसी छ, नेपाल सरकारलेपनि कोरोना खोप भित्राउने काममा पहल गरोस् भन्ने आम नागरिकको चाहना छ । तर पहिलो चरणमा आउने केही खोप स्वास्थ्यकर्मीलाई लगाउने भन्ने हल्ला बाहेक सरकारले ठोस कदम थालेको देखिंदैन । नत खोप बनाएका राष्ट्रको सहकार्य र पहलकदमीनै भएको छ ।
खोप बारेमा आएका धेरै तर्क बितर्क भन्दा छिमेकी भारत र चिनमा उपलब्ध हुने तथा लगाइने खोपप्रति नेपाल सरकारले चासो राख्नु जरुरी छ । भूगोल, हावापानी र छिटो भित्राउन सकिने खोपप्रति नेपाल सरकारको चासो र चिन्तन हुन जरुरी छ । पहिलो आम नागरिकको स्वास्थ्य हो । त्यसपछि मात्र बिकास निर्माण र आर्थिक समृद्धि हो भन्ने बिषय समयमै हेक्का राखेर सरकारले छिटो भन्दा छिटो अब खोपको खोजी गर्नुपर्छ । खोपबाट नागरिकलाई सुरक्षित बनाउन सकियो भने आगामी समृद्धिको बाटोमा आम नागरिकले ढुक्कका साथ काम गर्ने वातावरण पनि तयार हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->