मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बरेङका हरेक वडामा पुस्तकालय

बरेङका हरेक वडामा पुस्तकालय


  • ढोरपाटन संवाददाता
  • मंसिर ३० २०७७, मंगलबार

बागलुङ, ३० मंसिर– पठन संस्कृतिको विकास र विद्यालय उमेरका बालबालिकाको सहयोगका लागि बरेङ गाउँपालिकाले एक वडा एक पुस्तकालय अभियान सुरु गरेको छ । गाउँपालिकाका पाँचवटै वडामा एक÷एक वटा पुस्तकालय स्थापना गर्न थालिएको हो ।
वडा तहमा छनौट भएका कुनै एक विद्यालयमा प्राथमिक पुस्तकालय स्थापना हुनेछ । पाठ्यक्रममा मात्रै आधारित सिकाईलाई व्यवहारिक बनाउनका लागि विद्यालयमा पुस्तकालय स्थापना गर्न थालिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । ‘शिक्षामा गरेको लगानी समाजको समग्र विकास हो’, शर्माले भने ‘पठन संस्कृति र व्यवहारिक ज्ञान पाठ्यक्रमले मात्रै पुग्दैन् ।’ शैक्षिक क्षेत्रमा सुधार र विस्तारको लागि समेत एक वडा एक प्राथमिक पुस्तकाय कार्यक्रम प्रभावकारी हुने उनले बताए ।
गाउँपालिकाले छनौट भएका विद्यालयहरुबाट प्रस्ताव माग्ने छ । विद्यालयले नै ल्याएको प्रस्तावको आधारमा पाँच वटा नयाँ पुस्तकालय बन्नेछन् । ‘विद्यालयमा भएको पुतकालयले विद्यार्थी र शिक्षक दुवैलाई सहयोग गर्छ’ प्रमुख प्रशासकीय अधिकृत रमेश थापा भन्छन् ‘शैक्षिक सुधारको महत्वपुर्ण कडी पुस्तकालय हो ।’ पुस्तकालय स्थापना गर्न कम्तीमा २० हजार रुपैयाँ गाउँपालिकाले विद्यालयलाई उपलव्ध गराउने विधि बनाएको छ ।
भवनको व्यवस्थापन भने विद्यालय आँफैले गर्नुपर्ने थापाले बताए । विद्यालयका शिक्षक तथा विद्यार्थी समुहले पनि पुस्तकालय सञ्चालन गर्न सक्छन् । पुस्तकालयका लागि आवश्यक पुस्तकहरुको विवरणसमेत तयार पारेर योजना बनाउन गाउँपालिकाले विद्यालयहरुलाई आग्रह गरेको छ । ‘पुस्तकाय विद्यालयमा भएपनि पाठ्यक्रम बाहिरका उपयुक्त पुस्तकहरु समेत त्यहाँ रहने छन्’ थापा भन्छन् ‘स–साना विद्यार्थीले पुस्तक हराउने तथा च्यातिने समस्या भएपनि चिन्ता मान्नु पर्दैन् ।’
तत्कालका लागि एक वडा एक पुस्तकालय अभियान चलेको भएपनि हरेक विद्यालयमा पुस्तकालय सञ्चालन गर्ने योजनामा गाउँपालिका रहेको अध्यक्ष शर्माले बताए । ‘अहिलेलाई प्राथमिक तहका विद्यालयलाई लक्षित गर्दै ज्ञानको दायरा थप फराकिलो बनाउने योजनाका साथ पुस्तकालय स्थापना हुँदैछन्’ शर्मा भन्छन् ‘स्वअध्यनमा केन्द्रित गर्न यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा छ ।’ पुस्तकालय सञ्चालनका लागि पालिकाले निर्धारण गरेको मापदण्ड पुरा गरेको विद्यालय तयार हुनुपर्ने छ । पाठ्यक्रम समयमा सक्ने र विद्यार्थीलाई पठन संस्कृतिप्रति प्रेरित गर्ने महत्वकांक्षी योजनासमेत गाउँपालिकाले बनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->