बागलुङ, ३० मंसिर– नेपाल पत्रकार महासंघले यसबर्षको हरी–लक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारीता पुरस्कारबाट (समाचार लेखन तर्फ) ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्यलाई पुरस्कृत गरेको छ ।
स्तम्भ लेखन तर्फ रेडियो परिवर्तनका स्टेशन प्रमुख रामनारायण सुवेदीले पुरस्कार पाएका छन् । नेपाल पत्रकार महासंघ बागलुङ शाखाद्वारा सञ्चालित पुरस्कार मंगलवार बागलुङ शाखाको १२ औं साधारण सभाको अवसरमा प्रदान गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ र स्मृति कोषका संस्थापक तीर्थप्रसाद श्रेष्ठले जनही नगद १५ हजार रुपैयाँ, प्रसंसापत्र र दोसल्ला ओडाएर पुरस्कार वितरण गरे । श्रेष्ठको परिवारले यो पुरस्कार कोष चारबर्ष अघि स्थापना गरेको थियो । बागलुङ नगरपालिका–२ का तीर्थप्रसाद श्रेष्ठ र उनको परिवारले बाबु आमाको स्मृतिमा २०७३ सालमा स्थापना गरेको हरी–लक्ष्मी नारायणप्रसाद स्मृति कोषबाट पुरस्कार वितरण गर्दै आएको छ । उक्त पुरस्कारबाट यस अघी समाचार लेखन तर्फ प्रकाश बराल र संगम घर्तिमगर तथा स्तम्भ लेखन तर्फ दिल निशानी मगर र राजेशचन्द्र राजभण्डारीलाई पुरस्कृत गरीएको थियो । पुरस्कार कोषमा ४ लाख ५० हजार रुपैयाँ रहेको छ ।






