बागलुङ, ३० मंसिर– गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले संघिय सरकारमा संघियता नआएको बताएका छन् । उनले संघिय सरकारबाट अझैपनि प्रदेश सरकारलाई प्रशासनिक इकाइझै हेर्ने दृष्टीकोण नफेरिएको बताए ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निर्माण गरेको आफ्नै भवनको मंगलवार उद्घाटन कार्यक्रममा बोल्दै गुरुङले प्रधानमन्त्रीले सातै प्रदेशका मुख्य मन्त्रीसँग गरेको २९ बुँधे सम्झौता कार्यान्वयन गर्न आग्रह पनि गरेका छन् । जनताले सूचना पाउने अधिकार समेत संघियता र लोकतन्त्रमा सहज भएको भन्दै घरदैलोमा सरकारको अनुभूति गर्ने अबसर संघियताले दिएको बताए ।
तर संघबाट प्रदेशमा अधिकार दिने काममा केन्द्रीय नेता र सरकार अनुदार भएको उनको आरोप छ । मुख्य मन्त्रीसँगका सम्झौतामा संघिय सरकार अझैपनि प्रदेश र स्थानीय पालिकामा अधिकार हस्तान्तरणमा तयार नभएको आरोप समेत लगाएका थिए । उनले उर्जा मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, गृह लगायतका धेरै मन्त्रालयबाट अधिकार हस्तान्तरण नभएको आक्रोस पोखेका थिए । कृषि, स्वास्थ्य लगायतका मन्त्रालयबाट मात्रै संघियता अनुसार प्रदेशमा अधिकार र कानून हस्तान्तरण भएको समेत बताए ।
मुख्य मन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले देशकै नेतृत्व दावी समेत गरेका छन् । उनले हरेक नीतिगत व्यवस्था र बिकास निर्माणमा पनि संघिय सरकारलाई पछि पछि हिडाउन सक्ने क्षमता गण्डकी प्रदेशले राखेको दावी पनि गरे । ‘हामीले नीतिगत निर्णय गर्छौ, केही क्रियाकलाप पनिग गरेपछि मात्रै संघिय सरकार पछिपछि हिडेको छ’ उनले भने, ‘संघियताको मर्म अनुसार हरेक जनता र पालिकामा अनुभूति हुनेगरी बिकासनिर्माणको काम र अधिकार लगेपछि मात्रै जनताको आक्रोस साम्य हुने बताए । उनले जनताको चाहना बुलेट रेलजस्तो भएपनि संघिय सरकार ढीलासुस्तीमा रोकिएको टिप्पणीपनि गरेका थिए ।
उनले नेकपा सहित सबै दलको बर्तमान नेतृत्वलाई ढीलासुस्ती र मक्किएको नेतत्वको रुपमा टिप्पणी गरेका थिए । कम्तिमा दोश्रो पुस्तामा अधिकार र नेतृत्व नगएसम्म देशले परिवर्तनको संकेत दिन नसक्ने समेत उनको धारणा थियो । मुख्यमन्त्री गुरुङले संघियताको अनुभूति दिन आँफू तयार भएपनि बजेट र कार्यक्रममा अझै समस्या परेको पनि बताए । संघिय सरकारले दिने अनुदान बढाउने हो भने समयमै घरघरमा पानी, बिजुली र आधारभूत आवस्यकता पुरा गर्न सक्ने पनि बताएका थिए ।
पत्रकारिता क्षेत्रले सकारात्मक समाचार लेखेर जनतालाई सूचना र समृद्धिमा अगाडि बढेको सन्देश दिन पनि आग्रह गरे । उनले प्रतिगमनको रुपमा चिनिएको राजतन्त्र फर्कन नसक्ने समेत बताए । उनले टिप्पणी गर्दै भने ‘बरु घाम खस्ला, राजतन्त्र फर्कंदैन ।’ उनले बिजुलीको बिकल्प अगुल्टो नभएको भन्दै राजतन्त्र फर्काउने सपना नदेख्न पनि चेतावनी दिए ।
कोरोना संक्रमणको समयलाई गण्डकी प्रदेश सरकारले अबसर बनाएको दावी गरे । कोभिडकै समयमा सबै अस्पतालमा आइसियु थप्यौं, अक्सीजन प्लान्ट स्थापना र ४० स्थानमा पिसीआर ल्याब स्थापना गरेको समेत बताए । मुख्यमन्त्री गुरुङले केही बर्षमै गण्डकी प्रदेशको गरिबी अन्त्य गर्ने उनको योजना समेत सुनाएका थिए ।
हामी सवैको रहर, नेपाल पत्रकार महासंघको घर भन्ने नारासहित २०७३ माघ ९ गते शिलान्यास गरेपछि १ करोड ५ लाख रुपैया“मा महासंघले घर बनाएको हो । महासंघलाई तत्कालिन बालकल्याण समितिले ५० बर्षकालागि दिएको भवनमा साधारण सदस्य, पदाधिकारी, पूर्व अध्यक्षहरु, जिल्लाका संघसंस्था र व्यक्तिगत चन्दाबाट घर बनेको अध्यक्ष दिल शिरिषले बताए ।
महासंघका साधारण सदस्य, पदाधिकारी, पूर्व अध्यक्षहरु, जिल्लाका संघसंस्था र व्यक्तिगत चन्दाबाट महासंघको भवन बनाउन सकिएको अध्यक्ष दिल शिरिषले बताए । ‘हामीले अभियान थालेको दुइ बर्षमा लाखौं रकम जम्मा भयो, त्यसले राम्रो घर बनाउन सकियो’ शिरिषले भने, ‘यो अभियानमा संघिय, प्रदेश र स्थानीय सरकारबाट पनि राम्रो सहयोग आयो ।’ बागलुङका १० वटै स्थानीय तह, गण्डकी प्रदेश सरकार र सूचना तथा संचार मन्त्रालयबाट समेत भवन निर्माणका लागि सहयोग प्राप्त भएको थियो । महासंघको भवन बनेपछि सभाहल, सूचना केन्द्र, पुस्तकालय समेत बनाइएको छ । महासंघले लोगो अंकीत स्तम्भ पनि बनाएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषको अध्यक्षता, सचिव राम थापा अविरलको संचालन र उपाध्यक्ष नरेश कंडेलको स्वागतमा सम्पन्न साधारणसभामा सचिव राम थापाको प्रगती प्रतिवेदन र कोषाध्यक्ष बिजय रानाको आर्थिक प्रतिवेदन पारित समेत भएको थियो । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रदेश अध्यक्ष त्रिभूवन पौडेल, नेकपा जिल्ला इन्चार्ज बलावती शर्मा, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, महासंघका निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ, महासंघको म्याग्दी शाखा अध्यक्ष ताराप्रसाद शर्माले पनि बोलेका थिए । उक्त अबसरमा महासंघले पूर्व अध्यक्षहरु र चन्दादातालाई सम्मान समेत गरेको थियो ।





