बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पत्रकार महासंघ बागलुङको भवन र पत्रकारिता

पत्रकार महासंघ बागलुङको भवन र पत्रकारिता


  • Dhorpatan News
  • पुष २ २०७७, बिहिबार

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नै बलबुतामा भवन निर्माण गरेको छ । नारदीय कर्ममा लाग्नेहरुका लागि आफ्नै ‘घर र कार्यालय’ सपना हो । त्यो सपना पूरा गराएकोमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाको वर्तमान नेतृत्व स्यावासीको हकदार रहेको छ । देशव्यापी र अन्तर्राष्ट्रिय सञ्जाल भएको महासंघको बागलुङ शाखा अनुकरणीय पनि बनेको छ । जे आवश्यकताले भवन बनेको छ, त्यसको समुचित प्रयोग होस् । खबर कर्ममा रमाउने पत्रकारहरुको अभियानमा सघाउने सबै संघ÷संस्था एवं व्यक्तिको सहयोगले ठडिएको भवनको उपयोग पत्रकारले गरे पनि यो बागलुङकै शीर ठाडो बनाउने काम हो भन्नेमा कुनै द्धिविधा चाहिँ छैन ।
भवनको आयू हुन्छ तर आफ्नै जीवन हुँदैन । भवनको सान्दर्भिकता संस्थामा आवद्धहरुको क्रियाशिलताले निर्धारण गर्छ । कतै आलिसान भवनलाई कार्यालय बनाएका संस्थाहरु रसातलमा पुगेका छन् भने कतै झोलामै कार्यालय भएका तर कर्मले आफूलाई प्रमाणित गरेका संस्थाहरु पनि रहेकै छन् । समाजको समाचार लेख्ने पत्रकारलाई यो विषयमा धेरै व्याख्याको जरुरत पनि पर्दैन । नेपाल पत्रकार महासंघ बागलुङको भवन स्वतन्त्र प्रेसको अस्तित्व स्वीकारोक्ति र निरन्तरताको प्रतिक पनि हो ।स्वतन्त्र प्रेसले जनताको भाषा बोलेको र संघीयताकै कारण स्वतन्त्र प्रेसको भूमिका बढेको यहाँका मुख्यमन्त्री पृथ्वीसुब्बाको अभिव्यक्तिलाई प्रमाणित गर्नुपर्ने दायित्य मूलत ः संचारकर्मीकै हातमा छ । मुख्यमन्त्रीले बागलुङका पत्रकारमाझ दिएको अभिव्यक्तिलाई देशैभरका मनन गर्नुपर्ने र संघीयता बलियो बनाउन आफ्नोतर्फबाट सहयोग गर्नुपर्ने दायित्व पत्रकारकै काँधमा छ । तर, यसो भनिरँहदा स्वतन्त्र प्रेसको अस्तित्व र गरीमा बचाउने दायित्व नजरअन्दाज गर्ने ठाउँ पनि छैन । नेपालको संविधानले स्वतन्त्र प्रेसको अस्तित्व स्वीकारेको छ । त्यही स्वीकारोक्तिसँगै जन्मेका संचारमाध्यमले जनताका भावना मुखरित गरेका छन् ।
जनभावना मुखरित गर्ने मामिलामा कहिँकतै सम्झौता गरियो भने हामीले माथि भनेझैं भवनले मात्रै पत्रकार महासंघ बाँचिरहन सक्दैन । अतः हामीले आफ्नो कर्मबाटै आफूलाई प्रमाणित गर्नुपर्ने चुनौति छ । भनिन्छ, प्रेस सधैं प्रतिपक्षको भूमिकामा हुन्छ । सत्ता र शक्तिमा हुनेहरुले सरकारी स्रोत÷साधनकै प्रयोगबाट आफ्ना कुरा भन्न सक्छन् । भुइँमान्छेहरुसँग त्यो अवसर हुँदैन । अतः पत्रकारिताले भुँइमान्छे र शक्तिमा नभएकाहरुको कुरा गर्नुपर्छ ।शक्तिको उन्मादले ग्रस्त भएकाहरुले गरेका ज्यादतिबारे बोल्नुपर्छ । संयोग कस्तो भने, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा भएको प्रावधानलाई आफू अनुकूल प्रयोग गर्न अध्यादेश ल्याइएकै दिन भवनको उद्घाटन भएको छ । सत्ता सदैव शक्तिको भोको हुन्छ । ऊ आफूलाई जे अनुकूल हुन्छ,त्यही काम गर्न पछि पर्दैन । त्यस्तोमा खबरदारी गर्ने प्रेसले नै हो र बागलुङ शाखाको भवन उद्घाटनको खुसी बाँडिरहँदा पत्रकारिता त्यो जिम्मेवारीबाट च्यूत हुनुहुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->