
बागलुङ, २ पुस– कोरोना महामारीका कारण सुनसान रहेका जिल्लाका पर्यटकीय स्थलहरुमा मंसिरको तेस्रो साताबाट मात्रै सामान्य चहलपहल देखिन थालेको छ । धार्मिक पर्यटकीय क्षेत्र हुन वा प्राकृतिक पर्यटनको सम्भावना बोकेका क्षेत्र झण्डै नौ महिनापछि सामान्य आन्तरिक पर्यटकहरुको आउजाउ हुन थालेको छ । कोरोना महामारीका कारण पर्यटकीय क्षेत्रहरु सुनसान मात्रै भएनन् ।
तीनै तहका सरकारले ती क्षेत्रहरुको विकासका लागि विनियोजन गरेका बजेटको कार्यान्वयन गर्ने कामसमेत प्रभावित भए । महामारीको मारबाट बिस्तारै तंग्रिदै गरेको बागलुङको पर्यटन क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको बजेटको कार्यान्वयन सुरु भएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा बागलुङमा मात्रै सात वटा पदमार्ग निर्माण गर्दै छ । पाँच लाखदेखि २० लाख रुपैयाँ बजेट विनियोजन भएका पदमार्गहरु निर्माणको काम सुरु भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए ।
जिल्लाभर यो आवमा पदमार्गका लागि मात्रै ७२ लाख ५० हजार रुपैयाँ खर्च हुने छ । बागलुङमा सबैभन्दा धेरै बजेट खर्चेर बागलुङ नगरपालिका–६ पञ्चकोटदेखि काठेखोला गाउँपालिका–३ को बेलढुंगासम्मको पदमार्ग निर्माण हुने छ । मन्त्रालयले उक्त पदमार्गको लागि २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । जिल्लाभर १९ वटा योजना बनाएर बजेट बाँडेको मन्त्रालयले पदमार्गका योजना धेरै समावेश गरेको छभने पर्यटकीय क्षेत्र पूर्वाधार बिकासका योजना पनि समावेश छन् ।
काठेखोला गाउँपालिका–८ लेखानीदेखि जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको संगमस्थल गाजाको धुरीसम्म मन्त्रालयले पदमार्ग विकास गर्ने भएको छ । १५ लाख रुपैयाँ खर्चेर यसै आर्थिक वर्षमा पदमार्ग निर्माणको काम सुरु हुने मन्त्रालयले जनाएको छ ।
गलकोट नगरपालिकाको मल्मबाट घुम्टेको धुरी सम्म पदमार्ग निर्माणका लागि दश लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । जैमिनीधाम, बिनामारे माईकास्थान पदमार्गका लागि १० लाख, पञ्चकोट पर्यटकीय पदमार्गका लागि ७ लाख ५० हजार, एयरपोर्ट, बहुपुर्छा पदमार्गका लागि ५ लाख र कौडेडाँडा पदमार्गका लागि ५ लाख रुपैयाँ बजेट छ ।
‘अब सबै योजनाहरुको काम थालनी हुन्छ, पर्यटनका पूर्वाधार तयार गर्न हामीले कुनै कसर बाँकी राख्ने छैनौं’ पर्यटकीय क्षेत्रमा गरेको लगानी अनुगमन तथा निरीक्षणबाट फर्केपछि मन्त्री लम्सालले भने ‘हाम्रो आर्थिक समृद्धीको आधार नै पर्यटन हो ।’
बागलुङमा दश वटा घरबासको पूर्वाधार विकासका लागि मात्रै मन्त्रालयले १ करोड २० लाख खर्चिने छ । गतवर्ष घरबास प्रबद्र्धनमा २ करोड ८० लाख रुपैयाँ खर्चभएको थियो । घरबास र पदमार्गका नाममा भएको खर्च दुरुपयोग भएको गुनासो आउन थालेपछि मन्त्री लम्सालले एक साता पहिले अनुगमन गरेका थिए ।
अनुगमनपछि लम्सालले हल्ला चलेको जस्तो दुरुपयोग नभएको र कमीकमजोरी गरेकाहरुलाई सच्चिन आग्रह गरेको बताए । मन्त्रालयले दह तथा ताल मर्मतदेखि उद्यान निर्माणका लागि समेत बजेट विनियोजन गरेको छ । सबै बजेटहरुको कार्यान्वयन सुरु भएको मन्त्रालयले जनाएको छ । पर्यटन क्षेत्रका सरोकारवालाले भने मन्त्रालयले दिने बजेट कार्यान्वयनमा समस्या हुने गुनासो गर्ने गरेका छन् ।
‘प्राविधिक स्टमेटसहित आउनु भनेर उपभोक्तालाई खवर आउँछ, स्टमेट मन्त्रालयले गर्ने हो की स्थानीय तहले थाहा नहुने’ कालिका भगवती गुठी बागलुङका अध्यक्ष राजु खड्काले भने ‘जिल्लामा पर्यटन कार्यालय आवश्यक छ तब मात्रै सबै योजनाको कार्यान्वयन समयमा हुन्छ ।’ मन्त्रालयले पर्यटन कार्यालय स्थापनाका लागि अध्ययन समिति बनाएर काम अघि बढेकाले यो आवका सबै योजना उपलव्धी देखिने गरी कार्यान्वयनमा आउने दाबी गर्ने गरेको छ ।





