बागलुङ, २ पुस– पत्रकार महासंघ बागलुङ शाखाले ‘हेम चन्द्र स्मृति पुरस्कार कोष’ स्थापना गरेको छ । गण्डकी प्रदेशमा सुशासन, जवाफदेहिता र पारदर्शिताका विषयमा कलम चलाउने पत्रकार र मानवअधिकारकर्मीलाई पुरस्कृत गर्ने गरी कोष स्थापना भएको हो ।
महासंघ बागलुङ शाखाका साधारण सदस्य तथा कानुन व्यवसायी राम शर्मा र उहाँको परिवारले आफ्ना दिवङ्गत बाबुआमाको स्मृतिमा कोष स्थापना गरेको शाखा अध्यक्ष दिल शिरिषले बताए । दुई लाख ५० हजार रुपैयाँको अक्षयकोषबाट आउने व्याज रकमले हरेक वर्ष साधारणसभाका अवसरमा उक्त पुरस्कार वितरण गरिने छ ।
‘पारदर्शिता र जवाफदेहिताको बिकासमा यो कोषले थप टेवा पु¥याउने छ’ अध्यक्ष शिरीषले भने ‘पत्रकार र मानवअधिकारकर्मीलाई पुरस्कारले उर्जा भर्ने छ ।’ यसअघि पत्रकार महासंघ बागलुङ शाखाले नन्द-हरि सिर्जनशिल पत्रकारिता पुरस्कार र हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । नयाँ कोष स्थापना भएसँगै महासंघ बागलुङ शाखामा तीन वटा पत्रकारिता पुरस्कार पुगेका छन् ।





