मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

 बैदेशीक रोजगारीमा ठगी : न टेक्ने डाली छ नत समाउने हाँगा

 बैदेशीक रोजगारीमा ठगी : न टेक्ने डाली छ नत समाउने हाँगा


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०७७, सोमबार

बागलुङ, ६ पौष– खाडी मुलुक कतार ! चिसोको समयमा मुटु छुने चिसो र गर्मीको समयमा खपिनसक्नुको घाम । देशको कानून, मानवअधिकार, मजदुरको अधिकार र रहनसहनसमेत पचाउनै कठिन । कतारको घाम र चिसोभन्दा युरोपका शहरहरुको सुविधाभोग गरेरै काम पाए त्यहाँ पुग्ने सपना खाडी पुगेका हरेक नेपालीले देखेका हुन्छन् । यस्तै सपना थिए बागलुङ नगरपालिका–६ सिमका बिष्णु शर्माको पनि ।
कतार पुगेको केही समयपछि विष्णुको मोबाईलमा घण्टी बज्यो । सामाजिक सञ्जालमा आएको सन्देशले विष्णुको मोबाईलमा आँखा मात्रै परेन् मनै फुरुङ्ख भयो । पोल्याण्ड शहरमा रहेका एक जना आफन्त पर्नेले उनलाई मामा नाता लगाएर सन्देश पठाए । गाउँमै मावला भएकाले सन्देश पाठाउनेले उनलाई मामा भन्थे र कुराकानी हुँदै गयो ।
केही समयमा युरोप जाने सपनाको विषयमा बिष्णुले जानकारी गराए । मामा नाता लगाएर बोलेका ती एजेन्टले बिष्णुलाई युरोप पु¥याउने बचन मात्रै दिएनन् प्रक्रियाका लागि आवश्यक रकम भनेर पैसासमेत मागे । युरोप जाने सपना बोकेका बिष्णुले कतारमा दुःखले कमाएको दुई महिनाको पारिश्रमिक जम्मा गरेर श्रीमतीलाई पठाए र एजेन्टको खातामा ५० हजार जम्मा गराए । एजेन्टले आफ्नो नभएर साथी बताउने एक जनाको नाममा रहेको खातामा पैसा जम्मा गर्न लगाए अनि सुरु भयो ठगीको श्रृंखला ।
बिष्णुले पैसा बुझाएको दुई वर्ष समय बित्यो । युरोपमा एप्लाई गर्न लाग्ने खर्च भनेर पैसा माग्ने बेला एजेन्टले बढिमा तीन महिनामा पोर्चुगलको वर्क प्रमिट बनाउने र छ महिनामा उडाउने भनेका थिए । काम नभए तत्कालै पैसा फिर्ता गर्ने सहमती थियो । दुई वर्ष बित्यो अहिले पोल्याण्डमा रहेका ती एजेन्टको सामाजिक सञ्जाल बन्द छन् । फोन लाग्दैन् । ‘सामाजिक संजालमा फोटोसहित बैजेती गरेपछि अर्कैको फोनबाट सम्पर्क गरेर पैसा दिन्छु भनेको नाम अहिले नभनम’ बिष्णुले कतारबाट भर्चुल संवादमा भने ‘पैसा जम्मा गरेको भौचरमात्रै छ, त्यहि पनि अरुका नाममा, पैसा लिने एउटा दिएको अर्को हुँदा समस्या भयो ।’
बिष्णु मात्रै होईन कतारमै रहेका पोखराका रामचन्द्र पौडेल, दुवैमा रहेका बागलुङ नगरपालिका वडा नं. ६ कै नारायण आचार्य र म्याग्दीको पुलाचौरका नविन पौडेलले पनि ५० हजारका दरले पैसा बुझाएका थिए । ‘चिनेजानेको मान्छे, काम होला भनेर दुःख गरेको पैसा फसाईयो, अहिले न काम भयो नत पैसा फिर्ता हुन्छ’ शर्माले भने ‘सामाजिक सञ्जालमा लेखेपछि उसका आफन्त सम्पर्कमा आउँछन र दिन्छौं भन्छन्, धेरैपटक भयो, पछि हराउँछन् ।’
यस्तै, समस्या काठेखोला गाउँपालिका–२ का शंकर सुनारले पनि भोगेका छन् । सामाजिक संजालमा पोष्ट गरिएको सुचनाको आधारमा उनले त्यहाँ उपलब्ध ह्वाट्सअफ नम्बरमा सम्पर्क गरे । एजेन्टले पनि साउदीको क्लिनर कम्पनीमा काम र मासिक ५० हजार बढी कमाई हुने बताएपछि सुनारले विदेश जाने निर्णय गरे । करिव एक महिनाजस्तो सामाजिक संजालमार्फत कुराकानी भयो । एजेन्टले भने अनुसार सुनारले वैदेशिक रोजगारको लागि आवश्यक पर्ने कागजात तयार गरे । प्रक्रियाको लागि भन्दै पहिलो पटक २० हजार रुपैयाँ आइएमईमार्फत पठाए ।
काम छिटो हुने भन्दै फेरि पुरै एक लाख ४० हजार रुपैयाँ पठाउन भनेपछि सुनारले ऋण खोजेरै उक्त रकम पठाए । सबै रकम पठाएपछि प्रक्रिया सकिएको भनेर ह्वाट्सएपमार्फत काठमाण्डौ बोलाएका एजेन्ट बेपत्ता भए । उनीसँग अरु सम्पर्कका लागि कुनै नम्बर वा ठेगाना थिएन् । आफु ठगीमा परेको थाहा पाएपछि रकम पैसा फिर्ताको लागि कोशिश गर्दा पठाएको बैंक एकाउन्ट पनि सम्बन्धित एजेन्टको नभएर हार्डवेयर पसलको र स्वयम व्यक्तिसमेत नेपाल नभएको पुष्टिभयो ।
ऋण खोजेर एजेन्टलाई रकम बुझाएको रकम फिर्ताको लागि उनलाई कानुनी जटिलता त्यति बेला भयो जति बेला आवश्यक कागजात साथमा भएन । बागलुङ नगरपालिका–५ का दिलबहादुर किसानको पीडा पनि उस्तै छ । फेसबुकमा चिनजान गरेको व्यक्तिले कतार लैजाने र त्यसको लागि ८० हजार रुपैयाँ आवश्यक पर्ने बताएपछि उनले रकम उपलब्ध गराए । रकम बुझाएपछि एजेन्ट सम्पर्कविहिन । न साथमा पैसा, न विदेश । ठगीमा परेपछि न्यायको लागि खोज्दै जिल्ला प्रशासन बागलुङ पुगेका सुनार त्यतिबेला अचम्ममा परे जब प्रशासनले आवश्यक प्रमाणसहित निवेदन पेस गर्न आग्रह ग¥यो ।
प्रमाणबिना प्रशासन वा प्रहरी र सरोकारवाला निकायले समेत पीडितलाई न्याय दिन नसक्ने अधिबक्ता राम शर्मा बताउँछन् । ‘एजेन्टका समेट सहायक एजेन्ट हुन्छन्, कारोवार र कागज फरक हुन्छन्, त्यसैले युवा ठगिन्छन्’ शर्मा भन्छन् ‘चेतनाको अभावले प्रमाणबिनानै युवाहरुले पैसा फसाईरहेका छन् ।’
सामाजिक सञ्जाल र प्रत्यक्ष भेट वा अन्य माध्यामबाट बैदेशिक रोजगारीका नाममा ठगिने युवाहरुको जमात ठुलो छ । ठगिएका युवाहरुसँग नत पैसा असुल्ने प्रमाण हुन्छ न चिनजान र भेटघाट । सुरक्षित आप्रवासन परियोजना बागलुङका संयोजक मिनप्रसाद उपाध्यायका अनुसार विश्वासका आधारमा रकम बुझाउने, एजेन्टको व्यक्तिगत विवरण जानकारी नलिने र कानुनी उपचारको लागि आवश्यक प्रमाण जुटन काजगपत्र नहुँदा कठिन हुने गरेको छ ।
‘बागलुङका चार स्थानीय तहसँगको सहकार्यमा सञ्चालित आप्रवासी स्रोत केन्द्रमा दैनिक जसो ठगीका गुनासा आउने गरेका छन्’ उनले भने– ‘कानुनी प्रक्रियाको लागि कुनैपनि प्रमाण नहुँदा मुद्दा अगाडी बढाउन कठिन हुने गरेको छ ।’ वैदेशिक रोजगारीमा युवाहरु छिमेकी तथा आफन्तबाटै ठगीने गरेका धेरै उदाहरणहरु छन् ।
ठगीमा परेको उजुरी गर्न कम्तिमा पनि वैदेशिक रोजगार प्रयोजनको रकम उपलब्ध गराएको प्रमाण खुल्ने बंैक भौचर, एसएमएस वा तमसुकजस्ता प्रमाण आवश्य हुने अधिवक्ता राम भनाई छ । बैंकमार्फत रकम उपलब्ध गराएका हरुको पनि त्यसको प्रयोग नखुल्दा समस्या हुने गरेको अधिकारवादीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->